कोरोनाभाइरस: भारतको जनता कर्फ्युका कारण सीमावर्ती नेपाली भूभाग पनि प्रभावित

- Author, बृजकुमार यादव
- Role, बीबीसी न्यूज नेपाली
प्रदेश २ को आठवटै जिल्लाको भारतसित जोडिएका अधिकांश सीमानाकाहरू बन्द भएका छन्।
केही जिल्लाहरूमा नाका खुला रहेपनि भारतमा आइतवार 'जन कर्फ्यु' लगाइएकाले सबै नाकाहरू बन्द भएका छन्।
त्यसको प्रभावले सीमा क्षेत्रका नेपाली बजारहरू समेत बन्द भएका छन् ।
पर्सा जिल्लाको नाकाहरूबाट आउजाउ गर्न शनिवारसम्म दिइएपनि आइतवार पूर्ण रुपमा आवागमन बन्द गरिएकोछ।
भारतले नेपालसित खुला गरेको चारवटा प्रमुख नाकाहरू मध्ये बीरगञ्ज-रक्सौल नाकापनि हो।
तर भारतीय क्षेत्रमा नाका बन्द गरिएपछि नेपालबाट मानिसलाई जान दिइएको छैन।
बारा जिल्लाको पनि सबै नाकाहरू बन्द भएका छन्।
बारा जिल्लाको पनि सबै नाकाहरू बन्द रहेको रुद्रप्रसाद पण्डितले जनाए।
अन्य दिनमा समान्य जाँचपछि आवतजावत गर्न दिएपनि आइतवार पूर्ण रुपमा बन्द भएको छ।
जिल्ला प्रशासन कार्यालय बाराले भारतीय पक्षबाट नै आउजाउमा रोक लगाइएपनि नेपालीहरूपनि त्यस तर्फ जान पाएका छैनन्।
रौतहट जिल्लाका पनि सबै नाकाहरू बन्द गरिएका छन्।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले ८ वटै नाका बन्द गरिएको बताए।
मुख्य नाका बैरगनिया बन्द भएपछि गौर नगरको बजारपनि नराम्ररी प्रभावित भएका छन्। गौरका अधिकांश पसलहरू बन्द भएका छन्।
जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार सीमा क्षेत्रमा नेपाली पक्षबाटपनि उच्च सतर्कता अपनाइएकोछ।

सर्लाही जिल्लाको २३ वटा नाका मध्ये मलङ्गवा र बलरा नाका खुला राखिएकोछ।
तर आइतवार त्यसबाटपनि आउजाउ भएको छैन।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीका अनुसार सीमा क्षेत्रमा हेल्थ डेस्क लगायत सुरक्षा व्यवस्थालाई सुदृढ बनाइएको छ।
आउजाउ गर्ने मानिसहरुलाई तापक्रम जाँच गर्ने र शङ्कास्पद देखिएका मानिसहरूलाई तत्काल जिल्ला अस्पतालमा पठाइने गरिएको जीसीले जनाए।
सप्तरी जिल्लाको ९ नाका मध्ये ८ वटा बन्द रहेका छन्।
एकमात्र कुनौली भन्सार खुला रहेको सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जनाए।
अनिवार्य स्वास्थ्य परीक्षण
भारतमा 'जनता कर्फ्यु' लगाइएपनि अत्यावश्यक काम भएका व्यक्तिहरूलाई आउजाउ गर्न दिइएको उनले बताए।
आउजाउ गर्ने मानिसहरुको स्वास्थ्य परीक्षण अनिवार्य रूपमा भइरहेको खनालले बताए।
सिराहा जिल्लाको ६ वटा नाका मध्ये ४ वटा नाका बन्द रहेको प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईँले बताए।
माडर खटोका र ठाडी नाका भने खुला रहेको उनले बताए।
तर त्यस नाकाबाटपनि मानिसको आवतजावत अत्यन्त कम रहेको गुरागाईँले बताए।

- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- सङ्क्रमण हुँदा के हुन्छ? मानिसको शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्

महोत्तरी जिल्लाको ६ वटा नाकामा १२ वटा हेल्थ डेस्क राखिएकोछ।
तर भिठ्ठामोड नाका बाहेक अन्यबाट सवारी साधनहरुको आवागमन बन्द गरिएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जनाए।
अन्य नाकाहरूबाट मानिसहरू स्वास्थ्य जाँच गराएर आउने जाने गरेको उनले बताए।
भारतमा जनता कर्फ्यु घोषणा गरि पूर्ण रुपमा बजार बन्द रहेकाले मानिसहरुको आवतजावत शून्य प्रायःरहेको खत्रीले बताए।
धनुषा जिल्लाका प्रायः सबै नाकाहरू बन्द रहेका छन्।
'उच्च सतर्कता'
खुला रहेका नाकाबाट पनि मानिसहरूको आवातजावत पातलो छ।
सीमा क्षेत्रमा हेल्थ डेस्कहरू राखिएका छन्।
धनुषाका प्रहरी प्रमुख उमेश कुमार बस्नेतका अनुसार धनुषा जिल्लाको खजुरी र जटही नाका खुला राखिएको छ।
सीमामा 'उच्च सतर्कता' अपनाइएको उनले बताए।
'अन्य नाकाबाट आउने मानिसहरूलाई समेत खुला गरिएको नाकाबाट मात्र प्रवेश गर्न सुझाव दिने गरिएकोछ' बस्नेतले भने।
त्रास
भारतमा बन्दको कारण आइतवार नेपाल र भारत नाकामा आवागमन अत्यन्त कम भएको बताइएको छ।
भारतीय सीमावर्ती बजार भिठामोड, सुरसण्ड बजारमा जनता कफ्र्युको कारण पसलहरु पूर्ण रुपमा बन्द रहेको बताइएको छ।
सवारी साधनहरू पनि गुडेनन्। मानिसहरूपनि घरबाहिर निस्केनन्।
बिहारमा कोरोना भाइरसबाट एकजनाको मृत्यु भएको पुष्टि भएपछि सीमाक्षेत्रमा सङ्क्रमणको त्रास फैलिएको छ।








