मिर्गौला प्रत्यारोपण गरेर प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार फिर्ता

तस्बिर स्रोत, RSS
मिर्गौला प्रत्यारोपणका लागि करिब दुई सातादेखि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली उपचारपछि आफ्नो सरकारी निवास बालुवाटार फर्किएका छन्।
उनका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली स्वस्थ भएको र घरमै बसेर आराम गर्दा हुन्छ भन्ने चिकित्सकको सुझावपछि घर ल्याइएको बताएका छन्।
"उहाँ स्वास्थ्यबारे सावधानी अपनाएर नियमित काममा फर्कनसक्नुहुन्छ भन्ने भएपछि आज ६ बजेर ३५ मिनेटमा बालुवाटारस्थित निवास फर्किनुभएको छ," सल्लाहकार थापाले बीबीसीलाई भने।
प्रधानमन्त्री ओली बालुवाटार पुगेपछि उनलाई आफ्ना बुवाले स्वागत गरेको सल्लाहकार थापाले बताए।
यसअघि अस्पताल भर्ना हुन जानुअघि पनि प्रधानमन्त्रीले बुवाको आशिर्वाद लिएको तस्बिर सामाजिक सञ्जालहरूमा देखा परेका थिए।
चिकित्सकको निगरानीमा
फागुन १९ गतेत्रिवि शिक्षण अस्पताल भर्ना भएका ओलीको २१ गते दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो।
भाञ्जी नाता पर्ने भनिएकी समीक्षा सङ्ग्रौला महिलाले उनलाई प्रत्यारोपणका लागि मिर्गौला दिएकी थिइन्।
उनी यसअघि नै अस्पतालबाट घर फर्किसकेकी छन्।
"डिस्चार्जपछि उहाँ समयसमयमा नियमित फलोअपमा रहनुपर्छ। उहाँ नियमित चिकित्सकको निगरानीमा रहनुहुनेछ," शिक्षण अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
बालुवाटार निवासमा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाको विचार गरी त्यो अनुसारको व्यवस्था गरिएको प्रेस सल्लाहकार थापाले बताए।
पहिला पनि प्रत्यारोपण
यसअघि २०६४ सालमा ओलीको भारतको दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण भएको थियो।
त्यसयता उनले नियमित रूपमा स्वस्थ्य परीक्षण गराउँदै आएका छन्।
त्यस बेला उनलाई बुहारी नाता पर्ने अन्जना घिमिरेले मिर्गौला दिएकी थिइन्।









