कोरोनाभाइरस: नेपालमा हालसम्म ४५७ परीक्षण, एकजना बाहेक कसैमा भेटिएन सङ्क्रमण

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका

तस्बिर स्रोत, EDCD/FACEBOOK

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण भए नभएको पुष्टि गर्न नेपालमा हालसम्म करिब ४५७ वटा परीक्षण गरिएको र ती सबै परीक्षणमा सङ्क्रमण नपाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताएका छन्।

गत ज्यानुअरीको १३ तारिखमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा एक जना व्यक्ति आफैँ परीक्षण गराउन आएको र उनमा उक्त सङ्क्रमण भएको पुष्टि भएयता अन्य घटना भने नभेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख चिकित्सक वासुदेव पाण्डेले बीबीसीलाई बताए।

उनका अनुसार नेपालमा हाल ६ जनालाई आइसोलेसन अर्थात् बिरामीका लागि छुट्टै कक्षको व्यवस्था गरेर राखिएको छ।

तीमध्ये चार जनालाई टेकुस्थित अस्पतालमा राखिएको छ भने दुई जनालाई पाटन अस्पतालमा राखिएको छ।

परीक्षण

चिकित्सकहरूका अनुसार अस्पताल भर्ना भएकाहरू विदेशबाट नेपाल आएका हुन्।

"उनीहरूको आवश्यक परीक्षण सुरु गरी सकिएको छ। रिपोर्ट आउनासाथ उनीहरूमा सङ्क्रमण रहे नरहेको पुष्टि हुनेछ," पाण्डेले भने।

हाल ती बिरामीहरूलाई एन्टी भाइरल औषधी दिइएको बताइएको छ।

अधिकारीहरूका अनुसार चिनियाँ विशेषज्ञहरूसँग पनि सहकार्य गरिराखिएको छ र आवश्यकता अनुसार 'कन्फरेन्स कल'को माध्यमबाट उनीहरूको अनुभव र त्यहाँ चलाइएको औषधी पनि नेपालमा प्रयोगमा ल्याउन सकिने अवस्था छ।

यसबाहेक चीनबाट फर्किएका एकजना विद्यार्थीमा कोरोनाभाइरसको आशङ्का गर्दै आइसोलेसनमा राखिएको धनगढीस्थित सेती प्रादेशिक अस्पतालका चिकित्सकहरूले जनाएका छन्।

क्वारन्टीन

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, चीनबाट नेपाल फर्काइएका नेपालीहरूको खरिपाटीस्थित क्वारन्टीनमा रगत र खकारका नमुना परीक्षण गरिएको थियो

चीनमा अध्ययन गरिरहेका १९ वर्षे पुरुषमा छाती दुख्ने, रुघा खोकी लाग्ने र ज्वरो देखापरेपछि उनलाई बिहीवार आइसोलेसनमा राखिएको डाक्टर जगदीश जोशीले बीबीसीलाई जानकारी दिए।

"पछिल्लो १५ दिनमा हामीले अन्य तीन जनालाई आइसोलेसनमा राखिसकेका छौँ। सबैको रिपोर्ट सामान्य आएपछि घर पठाइसकिएको छ," जोशीले भने।

"हिजो भर्ना गरिएका बिरामीको पनि नमुना परीक्षणका लागि पठाइँदै छ। उनको अवस्थामा क्रमिक सुधार देखिन थालेको छ।

coronavirus nepali banner
कोरोनाभाइरस ब्यानर

परीक्षण

पाण्डेका अनुसार नेपालमा कोरोनाभाइरसको परीक्षण टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिन्छ।

त्यहाँको परीक्षणमा सङ्क्रमण भएको पाइए थप परीक्षणका लागि हङकङ पठाइन्छ।

सङ्क्रमण नदेखिएकाहरू मध्ये करिब १० प्रतिशतको परीक्षणपछिको रिपोर्ट पनि हङकङ पठाउने गरिएको उनले बीबीसीलाई बताए।

कोरोनाभाइरस

तस्बिर स्रोत, Getty Images

"हामीले प्रत्येक १०० परीक्षणमा १० वटा परीक्षणको विवरण हङकङ पठाउने गरेका छौँ। त्यसले हामीलाई फरक फरक तत्त्व वा कारकबारे थाहा दिन्छ," पाण्डेले भने।

नेपालमा कोरोनाभाइरसको प्रकोप नफैलिएको भए पनि चीन, इटली र इरान लगायतका देशको स्थिति नियालीरहेको र आवश्यक तयारी गर्दै गरेको चिकित्सकहरू बताउँछन्।

सरकारी अनुमान अनुसार १०० जना बिरामी आएको स्थितिमा त्यसमा करिब ८० जति आफैँ निको हुने सम्भावना हुन्छ।

बाँकी १० देखि १५ प्रतिशत अक्सिजन दिनुपर्ने स्थिति हुनसक्ने र पाँचदेखि ६ प्रतिशतलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुन सक्ने बताइएको छ।

पाण्डेका अनुसार हालसम्म काठमाण्डूका विभिन्न अस्पतालमा १५५ वटा भेन्टिलेटरसहितका सघन उपचार कक्ष छन्।

"तर हाम्रो योजना विभिन्न अस्पतालमा छरेर राख्नुभन्दा पनि सङ्गठित रूपमा राख्ने हो। टेकु, पाटन र कीर्तिपुरस्थित आयुर्वेदिक रिसर्च एण्ड ट्रेनिङ सेन्टरमा राख्न सकिन्छ कि भन्ने हो," उनले थपे।

त्यसबाहेक मुलुकका सातै प्रदेशमा मुख्य अस्पताल निर्क्यौल गर्ने काम पनि अघि बढाइएको छ।

सक्रियता

कोरोनाभाइरस

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, त्रिभुवन विमानस्थलमा सतर्कता बढाइएको छ

सरकारले विश्वभरि विस्तार भइरहेको कोरोनाभाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर नेपालले थप प्रतिबन्धहरू घोषणा गरेसँगै सबै किसिमका तयारी थप तीव्र बनाइएको अधिकारीहरू बताउँछन्।

विश्व स्वास्थ्य सङ्गठनले कोरोनभाइरसको सङ्क्रमणलाई महामारीको संज्ञा दिएसँगै नेपालमा सतर्कता बढाइएको अधिकारीहरूको भनाइ छ।

बिहीवार राती लिइएको निर्णयमा सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि अति आवश्यक पर्ने औषधी, औजार तथा उपकरण लगायतका सामाग्रीहरू सार्वजनिक खरिद ऐनको विशेष परिस्थितिको प्रावधान अनुसार स्वास्थ्य मन्त्रालयले खरिद गर्ने उल्लेख गरिएको छ।

"यसले तीव्र गतिमा आवश्यक सामाग्रीको खरिद गर्ने बाटो खुला गरिदिएको छ। हामीलाई अहिले थप भेन्टिलेटरहरूको आवश्यकता छ। त्यसबाहेक सघन उपचार कक्षमा चाहिने र व्यक्तिगत सुरक्षाका लागि चाहिने सामाग्री खरिद गर्नुपर्ने अवस्था छ," पाण्डेले भने।

"नेपालमा धेरै कुरा उत्पादन नहुने हुँदा खरिद गर्नुपर्ने हुन्छ।"

जनचेतना

कोरोनाभाइरस

तस्बिर स्रोत, AFP

पछिल्लो समयमा सरकारले जनचेतना बढाउनका लागि पनि पहल थालेको अधिकारीहरू बताउँछन्।

करिब दुई साताअघि सरकारले कोरोनाभाइरस र त्यसको उपचारका विषयमा धेरै सोधिने प्रश्नहरूको उत्तर सार्वजनिक गरेको थियो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तयार पारेको ती जवाफमा शङ्कास्पद बिरामीलाई आइसोलेसनमा राख्नुपर्ने हुँदा आवश्यक नमुना सम्बन्धित अस्पतालले सङ्कलन गरेर प्रयोगशालामा पठाउने व्यवस्था गरेको उल्लेख गरिएको छ।

प्रयोगशालाका अनुसार हाल नेपालमा कोरोनभाइरसको परीक्षण निशुल्क गरिन्छ। तर परीक्षणका लागि भने चिकित्सकको परामर्श आवश्यक पर्छ।

उक्त परीक्षणको रिपोर्ट आउन २४ देखि ४८ घण्टासम्म लाग्ने बताइएको छ।