दोस्रो व्यक्ति एचआईभी सङ्क्रमणमुक्त भएको चिकित्सकको दाबी

तस्बिर स्रोत, Andrew Testa/New York Times/Redux/eyevine
- Author, मिशेल रोबर्ट्स्
- Role, स्वास्थ्य सम्पादक, बीबीसी न्यूज अनलाइन
लन्डनमा बस्ने एक पुरुष एचआईभी अर्थात् ह्युमन इम्युनो भाइरसको सङ्क्रमणबाट मुक्त हुने विश्वका दोस्रो व्यक्ति बनेको चिकित्सकहरूले बताएका छन्।
एयाडम क्यास्टिलेजोलाई ३० महिनाअघि एन्टी रेट्रोभाइरल भनिने भाइरसको सङ्क्रमण स्थिर राख्ने औषधि दिन बन्द गरिएको थियो।
उनलाई एचआईभीविरुद्धको औषधिले नभई उनलाई लागेको एक प्रकारको क्यान्सरबाट प्राप्त गरिएको स्टेम सेल कोष प्रयोग गरी गरिएको उपचारद्वारा निको तुल्याइएको द ल्यान्सेट एचआईभी जर्नलमा उल्लेख गरिएको छ।
त्यस्ता कोषमा एक प्रकारको असाधारण आनुवंशिक गुण हुन्छ जसले क्यास्टिलेजो जस्ता मानिसलाई एचआईभीविरुद्ध सुरक्षा प्रदान गर्दछ।
त्यसअघि सन् २०११ मा टिमोथी ब्राउन एचआईभी सङ्क्रमण मुक्त हुने पहिलो व्यक्ति बनेका थिए। उनलाई साढे तीन वर्षअघि त्यस्तै उपचार सुरु गरिएको थियो।
यो उपचार कस्तो हुन्छ?
स्टेम सेल भनिनेको कोषको प्रत्यारोपण थालिएपछि शरीरभित्र एचआईभी भाइरसलाई त्यही व्यक्तिकै इम्युन सेल भनिने कोषलाई नयाँ प्रत्यारोपित कोषहरूले प्रतिस्थापन गर्न थाल्छन्।
त्यसले एचआईभी सङ्क्रमण प्रतिरोध गर्न थाल्छ।
अहिले लन्डनका ४० वर्षीय क्यास्टिलेजोको रगत, वीर्य वा तन्तुमा एचआईभी नभेटिएको उनका चिकित्सकहरूले बताएका छन्।
क्यास्टिलेजोले अहिले आफ्नो परिचय पनि सार्वजनिक गरेका छन्।

तस्बिर स्रोत, Science Photo Library
केम्ब्रिज विश्वविद्यालयका प्रमुख प्राध्यापक रवीन्द्रकुमार गुप्ताले बीबीसी न्यूजसँग भने: "यसले निश्चितरूपमा एचआईभी निको तुल्याइएको घटनाको प्रतिनिधित्व गर्दछ। साढे दुई वर्षदेखि उनलाई एन्टी रेट्रोभाइरल दिनु परेको छैन।"
"सफल स्टेम सेल प्रत्यारोपणमार्फत एचआईभी निको पार्न सम्भव हुन्छ जुन काम नौ वर्षअघि 'बर्लिनका बिरामी'मा सफलतापूर्वक गरिएको थियो। त्यसलाई फेरि फेरि प्रयोग गर्न सकिन्छ।"
त्यो उपचार पद्धतिमार्फत क्यास्टिलोजोको शरीरभित्रका ९९ प्रतिशत एचआईभी सङ्क्रमित कोषहरू सङ्क्रमणमुक्त भएका थिए।
एन्टी रेट्रोभाइरल थेरापी अझै प्रभावकारी
तर यो उपचार विश्वभरिका दशौँ लाख एचआईभी सङ्क्रमितहरूमा सम्भव हुँदैन।
पछिल्लो थेरापी एचआईभी सङ्क्रमितमा नभई क्यान्सरका बिरामीको उपचारका लागि प्रयोग गरिएको थियो।
एचआईभी सङ्क्रमितहरूका लागि अझै पनि एन्टी रेट्रोभाइरल थेरापी प्रभावकारी साबित भइरहेको छ।
त्यो उपचारमार्फत एचआईभी शरीरमा रहेका मानिसहरू लामो समयसम्म स्वस्थ भएर बाँच्न सकिरहेका छन्।










