कोरोनाभाइरस: इटलीमा हिँडडुलमा प्रतिबन्ध लगाइएको भए पनि मृतकको सङ्ख्यामा ठूलो वृद्धि

तस्बिर स्रोत, EPA
इटलीमा कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु हुने मानिसको सङ्ख्या १३३ थपिएर ३६६ पुगेको अधिकारीहरूले जनाएका छन्।
सङ्क्रमितहरूको सङ्ख्या २५ प्रतिशत बढेर ५८८३ बाट ७३७५ पुगेको छ।
प्रकोप नियन्त्रणका लागि आइतवार दशौँ लाख मानिसहरूका निम्ति नयाँ प्रतिबन्धहरू लगाइएपछि पनि उक्त सङ्ख्या थपिएको छ।
लोम्बर्डी र १४ प्रान्तका एक करोड ६० लाख मानिसलाई नयाँ क्वारन्टीनअन्तर्गत यात्राको निम्ति विशेष अनुमति लिनुपर्ने बनाइएको छ।
प्रधानमन्त्री जुजेप्पे कोन्टेले देशभरिका विद्यालय, व्यायामशाला, सङ्ग्रहालय, रात्रिक्लब र अन्य स्थल बन्द गर्ने घोषणा पनि गरेका छन्। ती निर्णय एप्रिल ३ सम्म लागु हुनेछन्।
सेनाप्रमुख पनि सङ्क्रमित
पछिल्लो तथ्याङ्कसँगै गत डिसेम्बर महिनामा प्रकोप देखा परेको देश चीनबाहिर सबैभन्दा धेरै सङ्क्रमित फेला परेको देश इटली बनेको छ।
इटलीले ७३१३ जना सङ्क्रमित देखिएको दक्षिण कोरियालाई उछिनेको हो।
इटलीमा पछिल्लो पटक सङ्क्रमण पुष्टि भएकाहरूमा सेनाप्रमुख पनि छन्। सल्वाटोरे फरिनाले आफू एकान्तमा बसिरहेको र स्वस्थ महसुस गरिरहेको बताए।
नयाँ क्वारन्टीनका कडा नियमले इटलीको एकचौथाइ जनसङ्ख्या र देशको अर्थतन्त्रमा ठूलो योगदान दिने उत्तरी भागको केन्द्र पनि प्रभावित बनेका छन्।
प्रधानमन्त्री कोन्टेले शनिवार मध्यरातमा गरेको घोषणामा भनेका छन्, "हामी हाम्रा नागरिकको स्वास्थ्य सुनिश्चित गर्न चाहन्छौँ।"
नयाँ नीतिअनुसार मनिसहरूले मुख्य सहर मिलान भएको लोम्बर्डी जान र छाड्न पाउँदैनन्।
चौधवटा राज्यमा केही प्रतिबन्धहरू लगाइएका छन्।
हवाई सेवा प्रभावित
मिलानका दुईवटा विमानस्थलमा जहाज अवतरण जारी थियो। तर केही उडान तालिका रद्द गरिएका छन्।
इटलीको सरकारी ध्वजावाहक एलइटालियाले मल्पेन्सा विमानस्थलबाट हुने सबै उडान सोमवारबाट रद्द गरिने र लिनाटे विमानस्थलमा आन्तरिक उडान मात्र हुने जनाएको छ।
रोममा उत्रिने र त्यहाँबाट उड्ने अन्तर्राष्ट्रिय उडान जारी रहने उसको भनाइ छ।
विश्व स्वास्थ्य सङ्गठनले प्रतिबन्धहरू लगाएर उपयुक्त योगदान गरेको भन्दै इटलीको प्रशंसा गरेको छ।

आइतवारसम्म उत्तरी इटलीमा क्वारन्टीनको नीतिले ५०,००० मानिसमात्र प्रभावित थिए।
गत साता सरकारले १० दिनका निम्ति सबै विद्यालय र विश्वविद्यालय बन्द गर्ने घोषणा गरेको थियो।
अन्यत्र कस्तो छ?
विश्वभरि सङ्क्रमितहरूको सङ्ख्या १,०७,००० भन्दा धेरै र मृतकको सङ्ख्या झन्डै ३,६०० पुगेको छ।

धेरै मृत्यु चीनमा भएको छ। तर ज्यानुअरी महिनायता दैनिक सङ्क्रमित हुने सङ्ख्या आइतवार सबैभन्दा कम देखिएको छ।
त्यसले भाइरसको विस्तारको गति कम भएको सङ्केत दिन्छ।
चीनबाहिर निकै खराब ढङ्गले प्रभावित देशमध्येको एक इरानमा सङ्क्रमितको सङ्ख्या ६,५६६ पुगेको छ भने १९४ जनाको मृत्यु भएको छ।
तर वास्तविक सङ्ख्या निकै बढी हुन सक्ने आशङ्का गरिन्छ। सरकारका एक दूतलाई उद्धृत गर्दै आइतवार एउटा रिपोर्टमा गिलान प्रान्तमा मात्र २,०० को मृत्यु भएको तर पछि त्यो तथ्याङ्क मेटिएको उल्लेख छ।

- कसरी जोगिने?ज्वरो वा रुघामा एक्लिएर बस्न विज्ञको सुझाव
- के गर्ने, के नगर्ने?'रुघाखोकी लाग्दैमा आत्तिनुपर्दैन'
- नेपाल कति तयार?रोकथाममा चुनौतीका चाङ
- सङ्क्रमण हुँदा के हुन्छ? मानिसको शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्









