कोरोनाभाइरसको विश्वव्यापी सङ्क्रमणविरुद्धको लडाइँ ‘अब निर्णायक चरणमा’

कोरोनाभाइरस

तस्बिर स्रोत, EPA

चीनबाट सुरु भएको नयाँ कोरोनाभाइरसको सङ्क्रमण अन्य देशहरूमा फैलन थालेपछि विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ)का प्रमुखले उक्त सङ्क्रमणविरुद्धको लडाइँ अब निर्णायक चरणमा पुगेको बताएका छन्।

चीन बाहिर फैलिएको सङ्क्रमणलाई महानिर्देशक टेड्रस एड्हानोम गेहब्रेयससले सबभन्दा धेरै चिन्ताको विषय भनेका छन्।

कुनै पनि देशले आफ्नो देशमा यो भाइरस पस्न नसक्ने भनेर बस्न नमिल्ने उनले बताए।

डटेर नियन्त्रण गर्न सुझाव

इरान, इटली र दक्षिण कोरियामा देखिएको प्रकोपले उक्त भाइरसले के गर्न सक्छ भनेर देखाएको उनले बताए।

कोरोनाभाइरस

तस्बिर स्रोत, EPA

तर 'उचित उपाय' अपनाए त्यसको प्रकोपलाई नियन्त्रण गर्न पनि सकिने देखिएको उनले बताए।

आ-आफ्ना देशमा पहिलो सङ्क्रमण देखिएका देशहरूले डटेर यसको सङ्क्रमण नियन्त्रण गर्न लागिपर्न उनले आह्वान गरे ताकि त्यो नफैलियोस्।

चीनबाहेक हालसम्म ४४ देशमा कोरोनाभाइरसको सङ्क्रमण देखा परेको छ।

विश्वभरि कुल ८० हजारभन्दा धेरै मानिस यसबाट सङ्क्रमित भएका छन्।

पुन:सङ्क्रमणको खतरा

जापान र चीनबाट प्राप्त केही विवरणहरूमा थोरै सङ्ख्याका सङ्क्रमित मानिसहरू निको भइसकेको केही सातापछि पुन:सङ्क्रमित भएको उल्लेख छ।

कोरोनाभाइरस

तस्बिर स्रोत, Reuters

चिनियाँ स्वास्थ्य अधिकारीहरूले करिब १४ प्रतिशत बिरामीहरू निको भइसकेपछि पुन:सङ्क्रमित भएको बताएका छन्।

बीबीसी न्यूजकी स्वास्थ्य सम्वाददाता फिलिपा रक्स्बी भन्छिन् यस्ता सम्भावनाबारे वैज्ञानिकहरूलाई अझै धेरै कुरा थाहा भइसकेको छैन।

चीन र जापानबाट आएका पुन:सङ्क्रमित भएको विवरणका कैयौँ कारण हुन सक्ने उनले बताइन्।

"पहिलो कारण त ती मानिसको शरीरमा भाइरस पूर्ण नष्ट नभइसकेको हुन सक्छ। दोस्रो कारण परीक्षणहरू पनि सधैँ सही हुँदैनन्।"

तथ्य के हो भने यी घटनाहरूबारे थप जानकारी प्राप्त भएपछि मात्र वैज्ञानिकहरूले यो भाइरसले भविष्यमा प्रतिरोधी क्षमता जगाइदिन्छ कि दिँदैन भनेर यकीन भन्न सक्छन्।

यदि पुन:सङ्क्रमण सम्भव छ भने, कतिपय विज्ञ भन्छन्, यस भाइरसले पनि मौसमी फ्लु वा रुघाखोकी जस्तो मौसमी आधारमा सङ्क्रमण गर्नेछ।