कोरोनाभाइरस: कोभिड-१९ को कारण आईफोन आपूर्ति प्रभावित हुने एपल कम्पनीको चिन्ता

तस्बिर स्रोत, Getty Images
अमेरिकामा मुख्यालय भएको एपल कम्पनीले चीनमा फैलिएको कोरोनाभाइरस प्रकोपका कारण आफ्नो पूर्वानुमानित आय घट्न सक्ने जनाएको छ।
उक्त प्रविधि कम्पनीले चीनमा उत्पन्न परिस्थितिका कारण आफ्ना सामग्रीको उत्पादन तथा विक्री प्रभावित भएको र "विश्वभरि आईफोन आपूर्ति अस्थायी रूपमा अवरुद्ध" हुने बताएको छ।
कोरोनाभाइरस महामारीका कारण आफ्नो अर्थव्यवस्थामा असर पुगेको बताउने एपल पहिलो महत्त्वपूर्ण अमेरिकी कम्पनी हो।
यो वर्षको पहिलो त्रैमासिकमा सर्वाधिक ६७ अर्ब अमेरिकी डलर आय हुने एपलको पूर्वानुमान थियो। तर उसले आफ्नो आय कति प्रभावित भएको छ भन्ने विवरण चाहिँ दिएको छैन।
"मार्च त्रैमासिकका लागि निर्धारित आयको लक्ष्य पूरा हुने अपेक्षा हामी गर्दैनौँ," एपलले एउटा विज्ञप्तिमा भनेको छ। उसका अनुसार सामान्य स्थितिमा फर्किने गति पनि सुस्त छ।
अधिकांश पसल बन्द
चीनमा अवस्थित अधिकांश पसलहरू बन्द भएका वा थोरै समय मात्रै सञ्चालन हुने गरेकाले आफ्ना उत्पादनको विक्रीवितरण घट्ने एपलले जनाएको छ।
आईफोन उत्पादन गर्ने आफ्ना साझेदारहरू हुबे प्रान्तबाहिर अवस्थित भए पनि ती पुन: खुल्दा काम भने अपेक्षा गरेभन्दा सुस्त हुन पुगेको एपलको भनाइ छ।
"चीनमा भएका हाम्रा सबै स्टोर र धेरै साझेदार स्टोरहरू बन्द छन्," एपल भन्छ, "खुलेका स्टोर पनि कम समय सञ्चालन हुन्छन् र आउने ग्राहक पनि कम छन्।"
"हामी बिस्तारै आफ्ना विक्रीकक्ष खोलिरहेका छौँ र यथाशक्य निरन्तर तथा सुरक्षित रूपमा त्यसो गरिरहन्छौँ।"
विज्ञहरूले सन् २०२० को पहिलो त्रैमासिकमा स्मार्टफोन उद्योग प्रभावित हुने अनुमान गरेका छन्
४० लाखआईफोनको वितरण यति सङ्ख्याले घट्ने अनुमान छ
३२% सन् २०२० को आरम्भमा आईफोन यति प्रतिशतले घट्न सक्छ
५%सन् २०२० मा चिनियाँ स्मार्टफोन यति प्रतिशतले घट्न सक्छ
विश्लेषकहरूका अनुसार नयाँ कोरोनाभाइरसको सङ्क्रमण फैलिएकाले चीनमा यो त्रैमासिकमा स्मार्टफोनको माग घट्न सक्छ। चीन हातमा बोकिने त्यस्ता साना विद्युतीय उपकरणको सबैभन्दा ठूलो बजार हो।
अर्थतन्त्रमा असर पर्ने
भाइरसका कारण सवारीसाधन उद्योग पनि प्रभावित भएको छ।
गत हप्ता ठूला उपकरण बनाउने कम्पनी जेसीबीले यूकेमा आफ्नो उत्पादन घटाउने घोषणा गरेको थियो।

तस्बिर स्रोत, Getty Images
चीनबाट आउने सामग्रीको अभाव भएकाले त्यसको गर्नुपरेको उसको भनाइ छ।
विगत १३ दिनयया हुबेप्रान्त बाहिर नयाँ सङ्क्रमण भएका बिरामीको सङ्ख्या घटिरहेको छ।
गत हप्ता सोमवार हुबेबाहिर ४५० नयाँ बिरामी फेला परेकोमा यो सोमवार त्यो सङ्ख्या ह्वात्तै घटेर ११५ पुगेको छ।
बिस्तारै उद्योग र पसलहरू सामान्य अवस्थामा फर्किए भने पनि एपलको चेतावनीले कोरोनाभाइरसका कारण चीनको अर्थतन्त्र नराम्ररी प्रभावित हुने सङ्केत गर्छ।













