पृथ्वीबाहिर जीव खोज्न गम्भीर हुनुपर्ने खगोलशास्त्रीको भनाइ

आकाशको कोही छ? सरकारले यो प्रश्नको जवाफको लागि लगानी गरेको छैन

तस्बिर स्रोत, Allen Observatory

तस्बिरको क्याप्शन, आकाशको कोही छ? सरकारले यो प्रश्नको जवाफको लागि लगानी गरेको छैन
    • Author, पल्लभ घोष
    • Role, विज्ञान संवाददाता, बीबीसी न्यूज

अमेरिकाको एक राष्ट्रिय खगोल अध्ययन केन्द्रका प्रमुखले पृथ्वीबाहिर जीव खोज्न गम्भीर भएर लाग्नुपर्ने बताएका छन्।

डा एन्थोनी बिस्लेले बीबीसीलाई दशकौँसम्म सरकारको अनुसन्धान बजेटको प्राथमिकतामा नपरेको यो क्षेत्रमा काम गर्न सरकारी सहयोग चाहिने बताएका हुन्।

उनको भनाइले हालसम्म विज्ञानको एउटा सानो क्षेत्र मानिएको पृथ्वीबाहिर जीव खोज्ने कामका बारेमा मानिसहरूको सोच परिवर्तन हुनसक्ने बताइएको छ।

यूएस न्याश्नल रेडिओ एस्ट्रोनोमी अभ्जरभेटरीको निर्देशक डा बिस्लेले अब सो खोजलाई अन्धकारबाट बाहिर ल्याएर खगोलशास्त्रका सबै क्षेत्रमा संलग्न गर्नुपर्ने समय आएको बताएका हुन्।

line

यो पनि पढ्नुहोस्:

line

उनको यो भनाइ न्यू मेक्सिकोको भेरी लार्ज एरे भीएलए अभ्जरभेटरीले पृथ्वीबाहिरको जीवनको सङ्केतहरू पत्ता लगाउन प्रयास गर्ने बताएको समयमा आएको हो।

भीएलए धेरै अन्टेना भएको संसारकै सबैभन्दा राम्रो टेलिस्कोपमध्ये एक मानिन्छ।

क्यालिफोर्निया विश्वविद्यालयका डा एन्ड्रयु सेमिअनका अनुसार भीएलएको सो घोषणापछि पृथ्वीबाहिर जीवन पत्ता लगाउने सम्भावना '१० वा अझ १०० गुणा बढेको छ'।

"हामी अब आकाशमा हालसम्मकै सबैभन्दा व्यापक [पृथ्वीबाहिरको जीवनको] खोज गर्न तयार भएका छौँ," उनले बीबीसीलाई बताए।

उनका अनुसार भीएलएको संलग्नताले यो कार्यको विश्वसनीयता पनि बढाएको छ।

line

यो पनि पढ्नुहोस्:

line

नासाले कुनैबेला यस कार्यको लागि वार्षिक एक करोड डलर बजेट खर्च गर्थ्यो तर सन् १९९३ मा सो बजेट खारेज गरियो।

सीनेटर रिचार्ड ब्रायनले पैसाको फजुल खर्च भएको भन्दै संसद्‍मा कानुन ल्याएपछि उक्त बजेट खारेज भएको थियो।

"यसले करदाताको पैसामा मङ्गलमा खोज गर्ने कार्य रोकिने छ," उनले त्यतिबेला भनेका थिए।

त्यसयता अमेरिका वा अन्यत्र सो कार्यका लागि धेरै पैसा छैन।

अहिलेसम्म ब्रम्हाण्डमा ४,००० भन्दा बढी ग्रहहरू पत्ता लागिसकेका छन्।

डा सेमिअन भन्छन्: "जबदेखि मानिसले आकाशमा हेर्न थाले, त्यतिबेलै देखि सोचेको कुरो हो: के त्यहाँ कोही छ?"

"हामीसँग अब त्यो प्रश्नको उत्तर दिने बेला छ र सायद मानव इतिहासकै सबैभन्दा ठूलो खोजको सम्भावना छ।"