कोरोनाभाइरस: बालबालिका किन बिरामी भएका छैनन्?

तस्बिर स्रोत, Getty Images
- Author, फर्नान्डो डुआर्टी
- Role, बीबीसी विश्व सेवा
जन्मिएको ३० घण्टापछि नवजात शिशुमा कोरोनाभाइरसको सङ्क्रमण देखियो भन्ने समाचार फेब्रुअरी ५ तारिखमा आउने बित्तिकै त्यो खबर विश्वभरि फैलियो।
कोरोनाभाइरसका कारण अहिलेसम्म ११ सय भन्दा बढीको ज्यान गइसकेको छ भने ४० हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन्।
तीमध्ये सबैभन्दा कम उमेरमा सङ्क्रमित भएको पाइएको तिनै शिशुमा हो।
अहिलेसम्म कोरोनाभाइरसको सङ्क्रमण तीसवटा भन्दा बढी देशमा देखा परिसकेको छ।
कोरोनाभाइरसको प्रकोपको पछिल्लो अध्ययन जर्नल अफ दि अमेरिकन मेडिकल एसोसिएसनमा प्रकाशित भएको छ।
उक्त अध्ययन प्रकोप सुरु भएको चीनको वुहानस्थित जिनयिनटान अस्पतालका बिरामीमा गरिएको हो।
उक्त अध्ययनले ४० देखि ५९ वर्ष उमेरका मानिसमा उक्त भाइरसको सङ्क्रमण आधाभन्दा बढी रहेको देखाएको छ।
३९ वर्षभन्दा कम उमेरका बिरामी जम्मा १० प्रतिशत रहेका छन्।
"बालबालिकामा सङ्क्रमण दुर्लभ देखिएको छ," अनुसन्धानकर्ताले भनेका छन्।
तर यस्तो किन भयो?

तस्बिर स्रोत, Getty Images
बालबालिकामा थोरैमात्रै सङ्क्रमण
यसबारे थुप्रै खालका तर्कहरू गरिन्छ। तर बालबालिकामा सङ्क्रमण किन कम देखिएको छ भन्ने निश्चित जवाफ भने स्वास्थ्य विज्ञहरूसँग छैन।
"यसको कारणबारे उनीहरू पूर्ण रूपमा स्पष्ट छैनन्, बालबालिकाहरू या त सङ्क्रमण हुने परिस्थितिबाट टाढा रहन्छन् वा उनीहरूमा कडा सङ्क्रमण हुँदैन," युनिभर्सिटी अफ रेडिङका प्राध्यापक इयान जोन्सले बीबीसीलाई भने।
यसको अर्थ बालबालिकाहरूमा अहिले कम खतरा हुने खालको सङ्क्रमण हुने र त्यसको लक्षणहरू विकसित हुँदै जाने हुनसक्छ।
त्यस्तो खालको अवस्थामा बालबालिकाहरूलाई अस्पतालमा उपचारका लागि राखिन्न र चिकित्सकलाई पनि देखाइँदैन।
युनिभर्सिटी कलेज लन्डनकी लेक्चरर नथली म्याकडरमट यसमा सहमत छिन्।
"पाँच वर्षभन्दा कम उमेरका बालबालिका र किशोरकिशोरीहरूमा भाइरससँग लड्नसक्ने रोग प्रतिरोधात्मक क्षमता राम्रो हुन्छ," उनले भनिन्।
"उनीहरू पनि सङ्क्रमित हुनसक्छन् तर एकदमै सामान्य खालको सङ्क्रमण हुन्छ वा सङ्क्रमणको लक्षण नै देखापर्दैन।"
बालबालिकामा सङ्क्रमण कम हुने नजिर यसअघि सन् २००३ मा चीनमै देखापरेको सार्स प्रकोपका बेला नै बसेको थियो।
करिब ८ सय मानिसको ज्यान लिएको र ८ हजार व्यक्तिमा सङ्क्रमण भएको सार्स प्रकोपकै बेला पनि बालबालिकामा निकै कममात्रै सङ्क्रमण भएको थियो।
सन् २००७ मा, अमेरिकी जनस्वास्थ्य निकाय सेन्टर फर डिजिज कन्ट्रोल सीडिसीका विज्ञहरूले सार्सको सङ्क्रमण भएका १ सय ३५ बालबालिकाको पहिचान गरेका थिए।
उनीहरूले "बालबालिका र किशोरकिशोरीमा मृत्युको एउटा पनि घटना नभएको" जनाएका थिए।

तस्बिर स्रोत, Getty Images
स्कूल बिदाले बालबालिकालाई सङ्क्रमणबाट जोगाएको हो?
म्याकडरमट पनि बालबालिकाहरू वयस्क जति भाइरस सङ्क्रमणको जोखिममा नपर्ने गरेको ठान्छिन्।
उक्त प्रकोप चिनियाँ नयाँ वर्षका बेला सुरु भएको थियो जतिबेला स्कुलहरू बन्द थिए।
प्रकोपपछि झण्डै सबैजसो चिनियाँ प्रान्तहरूले स्कुल बन्द गर्ने निर्णय गरे। र, फेब्रुअरी महिनाको अन्त्यसम्म स्कुलहरू बन्द नै रहने छन्।
"वयस्कहरू धेरै ख्याल गर्छन् र यदि घरमा कसैलाई सङ्क्रमण भएको छ भने उनीहरू बालबालिकालाई जोगाउनका लागि अन्यत्रै पठाउँछन्।"
उक्त भाइरसबाट सङ्क्रमण फैलिरहेको र यसले समुदायमा धेरै फैलिने खतरा रहेकाले अहिलेको यो परिदृश्य परिवर्तन हुने उनी ठान्छिन्।
यद्यपि अहिलेसम्म व्यापक रुपमा भाइरसको सङ्क्रमण फैलिएको भए पनि बालबालिकामा भने त्यो सङ्ख्यामा वृद्धि भएको छैन।
फेरि पनि सार्स प्रकोपको नजिर नै काम लाग्न सक्छ: सीडिसीका अनुसन्धानकर्ताहरूले १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई अस्पताल नै लैजानु पर्ने अवस्था कमै आइपरेको पाएका थिए।

तस्बिर स्रोत, Getty Images
के भाइरसको असर बालबालिकामा भन्दा वयस्कमा बढ्ता गम्भीर प्रकारको हुन्छ?
थोरैमात्र बालबालिका सङ्क्रमित भएको पुष्टि भएपनि, स्वास्थ्य विज्ञहरूले यसको अर्थ उनीहरूलाई रोग नै नलागेको भने नहुने बताएका छन्।
त्योभन्दा सम्भव त के हुनसक्छ भने यो प्रकोपले उत्पन्न गराउने अवस्थाले ठेउलाजस्तै बालबालिकाभन्दा वयस्कमा बढी असर पार्छ।
"बालबालिकामा धेरै प्रतिरोधी (कोरोनाभाइरस सँग लड्ने क्षमता) क्षमता छ भन्नु भन्दा यो बढी सम्भाव्य कारण होला," कार्डिफ विश्वविद्यालयका सङ्क्रामक रोग विज्ञ एन्ड्र्यु फ्रीडम्यानले बीबीसीलाई बताए।
"के पनि हुन सक्छ भने थोरै लक्षण देखिएका वा देखिँदै नदेखिएका बालबालिकाहरूमा अधिकारीहरूले परीक्षण गरेका छैनन्," उनले भने।
अक्सफोर्ड विश्वविद्यालय र इम्पेरियल कलेज लन्डनका इपिडिमियोलोजी विज्ञ क्रिस्टी डोनली यसमा सहमत छिन्। उनले हङकङमा सार्स प्रकोपको बेलाको प्रमाण पेश गरिन्।
"हाम्रा सहकर्मीले दिएको निष्कर्ष अनुसार त्यसले बालबालिकामा कम आक्रामक असर पारेको थियो - त्यसैले उनीहरू कमै प्रभावित भएका छन्।"

तस्बिर स्रोत, Getty Images
पहिले देखिकै शारीरिक अवस्था
मधुमेह वा मुटुरोग जस्ता मानिसको प्रतिरोधी क्षमता ह्रास गरिदिने पुरानै अवस्था झेलिरहेका वयस्कहरू यस किसिमको सङ्क्रमणको गम्भीर असरको बढी जोखिममा हुन्छन्।
"न्युमोनिया (कोरोनाभाइरसको एउटा असर) ले कमजोर प्रतिरोधी क्षमता भएकालाई नै बढी प्रभावित पार्छ," इयान जोन्सले भने।
"इन्फ्लुएन्जा वा अन्य स्वासप्रस्वास सङ्क्रमणहरूमा पनि यस्तै हुने गर्छ।"
जिनयिनटान अस्पतालमा अध्ययन गरिएकामध्ये आधा बिरामीमा यस्तो अवस्था पाइएको थियो।

तस्बिर स्रोत, Getty Images
तर बालबालिकाले रोग सारेको पाइएको छैन?
सामान्यतया: बालबालिकामा भाइरल सङ्क्रमण चाँडै सर्ने र उनीहरूले पनि त्यसलाई अरूमा चाँडै सार्ने गरेको पाइने इयान जोन्स बताउँछन्।
"उनीहरूले चाँडै नै यस्ता रोग सारिदिन्छन्। नर्सरी कक्षामा बच्चा भएका जोकसैले यो अनुभव गरेको हुनुपर्छ," उनले भने।
त्यसैले कोरोनाभाइरस सङ्क्रमणको हकमा पनि यस्तै हुने साधारण अपेक्षा हो - अर्थात् सङ्क्रमित भएका वा ज्यान गुमाएकाहरूको सूचीमा बालबालिकाको ठूलो सङ्ख्या होला भन्ने। तर अहिले यस्तो भएको छैन।
या त बालबालिकामा यस्ता भाइरससँग लड्ने धेरै प्रतिरोधी क्षमता हुन्छ, या यो रोग स्वयंमले बालबालिकामा कम असर गर्छ जसले गर्दा बालबालिकालाई अस्पतालमा लैजानु नपरेको होस्।
यससम्बन्धी थप प्रस्टता आयो भने त्यसले वर्तमान प्रकोपसँग जुझ्न पनि सघाउने छ।
तर के पनि हुन सक्छ भने बालबालिकाहरूलाई तिनको स्कुल बन्द भएको कारण वा अभिभावकहरूको सजगताका कारण जोगाइरहेको छ। यदि त्यसो हो भने त्यसबारे चीनमा स्कुल खुलेपछि मात्रै प्रस्ट थाहा हुनेछ।



















