प्रधानमन्त्री ओलीले पाएको 'दूरद्रष्टा र राष्ट्रनिर्माता'को सम्मानबारे चर्चा-परिचर्चा

तस्बिर स्रोत, Secretariat of Prime Minister of Nepal
एसिया प्रशान्त क्षेत्रमा 'व्यवस्थापन विकास'मा सक्रिय भनिएका संस्थाहरू आबद्ध रहेको एउटा क्षेत्रीय स्तरको संस्थाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको सम्मानबारे सामाजिक सञ्जालमा टीकाटिप्पणी जारी छन्।
विशेषगरी फेसबुक र ट्विटरमा कतिपय प्रयोगकर्ताहरूले उनलाई 'दूरद्रष्टा तथा राष्ट्रनिर्माता' भनिएकोमा व्यङ्ग्यात्मक टिप्पणीहरू गरिरहेका छन्।
केहीले भने अघोषित भारतीय नाकाबन्दीका बेला उनले लिएको अडानको उदाहरण दिँदै सम्मानको बचाउ गर्दै ओलीको मुक्तकण्ठले प्रशंसा गरेका छन्।
सरकारी सञ्चारमाध्यमहरूले पनि ओलीले पाएको सम्मानलाई प्रमुखताका साथ प्रचारप्रसार गरेका थिए।
ओलीले यसअघि पनि विभिन्न स्थानमा लिएका मानार्थ विद्यावारिधि र सम्मानहरूको आलोचना हुने गरेको थियो।
मनोवैज्ञानिकहरू चाहिँ ओलीसहित नेताहरूले जहाँ पनि र जस्तो पनि सम्मान ग्रहण गर्न जानुलाई प्रभावकारी ढङ्गले जिम्मेवारी वहन गर्न नसकेर 'मैले केही गरेको छु है' भनेर देखाउन खोज्ने मनोवृत्तिसँग तुलना गर्छन्।
के हो सम्मान?
एसियन एसोसिएसन अफ म्यानेजमेन्ट अर्गनाइजेसन्स् (आमो) ले ओलीलाई शुक्रवार राजधानी काठमाण्डूमा उक्त सम्मान प्रदान गरेको थियो।
त्यसलाई 'आमो भिजिनरी लिडर एण्ड नेशन बिल्डर अवार्ड-२०२०' भनिएको छ।
त्यसलाई सरकारी र अन्य केही सञ्चारमाध्यमहरूले पनि "ओली एसियाकै दूरदर्शी नेताका रूपमा" सम्मानित भएको भन्दै खबर प्रकाशन र प्रसारण गरेका थिए।

तस्बिर स्रोत, Secretariat of Prime Minister of Nepal
सरकारी मुखपत्र गोरखापत्रले शनिवार प्रथम पृष्ठको मुख्य समाचारको पूरकका रूपमा "प्रम ओली एसियाली दूरदर्शी नेता" शीर्षकमा उक्त समाचार छापेको छ।
शुक्रवार प्रधानमन्त्रीको सचिवालयले पनि 'प्रधानमन्त्री केपी शर्मा ओली एसियाली दूरद्रष्टा नेता तथा राष्ट्रनिर्माण अवार्डबाट सम्मानित' भन्दै सञ्चारमाध्यमहरूलाई उक्त कार्यक्रमका तस्बिरहरू प्रेषित गरेको थियो।
मानार्थ सम्मान
सरकारी सञ्चारमाध्यमहरूले निकै महत्त्व दिएको र सामाजिक सञ्जालमा आलोचित बनेको उक्त सम्मान खासमा मानर्थ सम्मान मात्र भएको आयोजकले बताएका छन्।

आयोजक आमोका काउन्सिल सदस्य एवम् नेपाल व्यवस्थापन सङ्घका महासचिव मोहन ओझाले "उक्त अवार्ड एसियाभरका उत्कृष्ट नेताहरू छानेर नदिइएको" बताए।
उनले भने, "नेपाल भ्रमण वर्ष पनि भएकाले आमोलाई हामीले यसपालिको कार्यक्रम नेपालमा गर्न आग्रह गर्यौँ। त्यो स्वीकृत भएर नेपालमा आयोजना गरियो। खासमा आमोले जुन देशमा कार्यक्रम आयोजना गर्छ त्यहाँका कार्यकारी प्रमुखलाई यस्तो सम्मान दिने गर्छ।"
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
तर आमोले यस्तो सम्मान दिन थालेको गत वर्षदेखि मात्र हो। उसले गत वर्ष मलेशियाका राष्ट्रपति महाथिर मोहम्मदलाई यस्तै सम्मान दिएको थियो।
धेरैले महाथिरसँग तुलना गरेर यो सम्मान खासमा सबै नेताहरूको कार्यक्षमता हेरेर दिइन्छ भन्ने ठानेको हुनसक्ने ओझाले बताए।
उनले भने, "यो त मानार्थ सम्मान मात्र हो यसमा कुनै त्यस्तो छनोट प्रकृया अपनाइएको हुँदैन। यसको त्यस्तो धेरै विरोध र प्रशंसा हुनुपर्ने जस्तो मलाई लाग्दैन।"
जम्मा ११ देशका सदस्य
नाम एसिया राखिएको भए पनि आमो एसियाभरि नै क्रियाशील छैन।
यसका सदस्यहरू पनि एसियाभरि सबै देशमा नरहेको ओझाले बताए।
आमो स्वतन्त्र, गैरराजनीतिक र गैरनाफामूलक संस्था रहेको उसको आधिकारिक वेबसाइटमा उल्लेख छ।

तस्बिर स्रोत, Secretariat of Prime Minister of Nepal
यसलाई विभिन्न देशहरूमा रहेका न्याशनल म्यानेजमेन्ट अर्गनाइजेसनहरूले आफ्नो छाता सङ्गठनका रूपमा मान्ने गर्छन्।
एसिया प्रशान्त क्षेत्रमा 'व्यवसायीक व्यवस्थापन विकास'को प्रवर्धन, सहजीकरण र सहयोग गर्ने उद्देश्य यसले राखेको त्यहाँ लेखिएको छ।
आमोका हाल अस्ट्रेलिया, हङ्कङ, भारत, मकाउ, मलेशिया, नेपाल, न्युजिल्यान्ड, पाकिस्तान, फिलिपिन्स, श्रीलंका र कोरियाका गरी जम्मा ११ सदस्यहरू मात्र रहेका छन्।
आमोको आधिकारिक वेबसाइटमा लेखिएको छ, "आमोका गतिविधिहरू राष्ट्रियस्तरका म्यानेजमेन्ट एसोसिएसनहरूबीच सम्बन्ध स्थापित गराउनुमा मात्र सीमित छैन, यसले त द्विपक्षीय पहलहरूलाई फराकिलो दायरामा पुर्याउन सहजीकरण गर्ने तथा क्षेत्रीयस्तर त्यसभन्दा बाहिर पनि म्यानेजमेन्ट एसोसिएसनहरूबीच सञ्जालीकरण गर्न मद्दत गर्छ।"
सन् १९६० तिर अस्ट्रेलियाबाट आमोको अभियान सुरु भएको र पहिले अर्कै नाममा स्थापित भई पछि यसलाई आमो नामकरण गरिएको वेबसाइटमा जनाइएको छ।
हाल यो संस्थाको केन्द्रीय कार्यालय भारतको दिल्लीमा रहेको छ।

तस्बिर स्रोत, Secretariat of Prime Minister of Nepal
ओलीको भनाइ
राष्ट्रिय समाचार समिति (रासस) का अनुसार उक्त सम्मान ग्रहण कार्यक्रममा ओलीले "लामो सङ्घर्ष र बलिदानीबाट प्राप्त सङ्घीय लोकतान्त्रिक संविधानको प्रभावकारी कार्यान्वयनसँगै सरकार समृद्धिको बाटोमा अगाडि बढिरहेको" बताएका थिए।
उनले जनतालाई ढुक्क हुन पनि अपिल गरेको राससले लेखेको छ।
उनले सरकार जनताको सुख र समृद्धिको निम्ति काम गरिरहेको बताउँदै त्यसलाई पूरा गर्न कटिबद्ध रूपमा अगाडि बढिरहेको बताए।
"नेपाल स्रोत र साधनले धनी देश हो, अब यी स्रोतसाधनको प्रयोग गर्दै स्वदेशमै रोजगारीको सिर्जना गरी विदेशिएका युवालाई नेपाल फर्काउने अभियानमा सरकार लागिपरेको छ," ओलीलाई उद्धृत गर्दै राससले लेखेको छ।
सम्मानको मनोविज्ञान
ओलीले लिएको मानार्थ सम्मान र त्यसको प्रचारप्रसारलाई मनोवैज्ञानिकहरू चाहिँ नेपाली नेताहरूमा बढ्दो 'सम्मान खोज्ने प्रवृत्ति'को उपज मान्छन्।
त्यस्तैमध्येका एक त्रिभुवन विश्वविद्यालय मनोविज्ञान केन्द्रीय विभागका प्राध्यापक शिशिर सुब्बा भन्छन्, "काम नगर्ने र क्षमता पनि नहुने तर म अरुभन्दा अब्बल छु भनेर देखाउने प्रवृत्ति अहिले आम हुँदै गएको छ। त्यसैले कसले के सम्मान लियो भन्दा पनि यो विषयलाई त्यस प्रवृत्तिसँग तुलना गर्नुपर्ने हुन्छ।"
उनले जो व्यक्तिसँग जे कुरा छैन त्यो प्राप्त गर्न खोज्ने भएकाले कम शैक्षिक योग्यता भएका नेपालका नेताहरूले पनि मानार्थ विद्यावारिधि वा सम्मान खोज्ने गरेको देखिएको बताए।
सुब्बाले भने, "अहिले सम्मान खोज्ने कुरा लगभगलगभग एउटा कौशलजस्तै बनेको छ। म सक्षम छु भनेर देखाउने अर्को आधार के छ? कि काम गरेर देखाउनुपर्यो कि पुरस्कार देखाउनुपर्यो। यस्तो संस्कृतिका रूपमै विकास भइरहेको देखिन्छ।"
यसले नेपालमा नेताहरूले असुरक्षा महसुस गर्छन् भन्ने पनि देखाएको उनको बुझाइ छ।
उनी भन्छन्, "तर उनीहरूले कति काम गरेका छन् त आम मानिसले हेरिरहेकै हुन्छन् नि! यदि राम्रो काम गरेका भए खेलाडीहरूलाई जसरी मानिसहरूले सम्मान गरिरहेका छन् त्यसैगरी सम्मान गरिहाल्थे नि!"








