प्रजातन्त्रप्रति दक्षिण एशियामै नेपाली सबैभन्दा बढी असन्तुष्ट

लोकतन्त्र

प्रजातन्त्रप्रति नेपालीहरूको असन्तुष्टि दक्षिण एशियामै सबैभन्दा बढी रहेको एउटा अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ।

उक्त अध्ययनको निष्कर्षमा नेपालीहरू 'जसरी आफ्नो प्रजातन्त्रले काम गरिरहेको छ' त्यसबाट असन्तुष्ट रहेको बताइएको छ।

यूकेको प्रसिद्ध केम्ब्रिज विश्वविद्यालयका अध्यनकर्ताहरूले सन् २००५ यता गरेका तीनवटा सर्वेक्षणहरूमा "सहभागीमध्ये आधादेखि तीन चौथाइसम्म नेपालीहरूले आफ्नो प्रजातन्त्रको कार्यशैलीप्रति असन्तुष्टि देखाएको" जनाइएको छ।

दक्षिण एशियाका अन्य देशहरूमा प्रजातन्त्रप्रति मानिसहरूको विश्वास अन्यत्रको तुलनामा उच्च रहेको बेला नेपाल भने अपवाद बनेको उक्त अध्ययन निष्कर्ष छ।

अविश्वास उच्च

उक्त प्रतिवेदनअनुसार विकसित देशहरूमा प्रजातन्त्रप्रतिको अविश्वास २५ वर्षयता सबैभन्दा उच्चस्तरमा पुगेको छ।

केम्ब्रिजका अध्येताहरूले सबैभन्दा ठूलो विश्वव्यापी तथ्याङ्कको अध्ययन गरेर निष्कर्ष निकालेको जनाएका छन्।

उनीहरूका अनुसार उक्त अध्ययनका लागि गरिएका साढे तीन हजार सर्वेक्षणले चालिस लाख मानिस समेटेको छ।

नेपालमा लोकतन्त्रप्रति असन्तुष्टि बढी देखिनुका कारण बारे राजनीतिशास्त्री कृष्ण खनाल भन्छन्: "नेपालमा लोकतन्त्र अझै संस्थागत भइसकेको छैन।"

"अनि अहिले विश्वभर लोकप्रियतावाद बढ्दो छ, त्यसको प्रभाव पनि परेको हुनसक्छ।"

लोकतन्त्र

तरल अवस्थाको चित्रण

खनाल भन्छन्, "नेपाली समाजमा लोकतन्त्रप्रति विवाद कायम छ। जस्तो कि राजावादीहरूले एउटा आँखाबाट र कम्युनिस्टहरूले अर्को आँखाबाट हेर्ने भए। सर्वेक्षणमा त्यसको प्रभाव देखिन्छ।"

"सन् २००५ पछि गरिएको सर्वेक्षण भएकाले यसमा नेपालको तरल अवस्था रहेको बेला मानिसहरूले व्यक्त गरेको धारणा समेटिएको होला।"

अध्ययनममा ब्रिटेन र अमेरिकामा पनि ठूलो असन्तुष्टि देखिएको छ।

प्रतिवेदन लेखक रोबेर्टो फोअले बीबीसीसँग भने, "विश्वभर प्रजातन्त्र अस्वस्थ अवस्थामा रहेको छ।"

प्रतिवेदन अनुसार सन् २०१९ को तथ्याङ्कले प्रजातन्त्रप्रति मानिसहरूको असन्तुष्टि ४८ प्रतिशतबाट बढेर ५८ प्रतिशत पुगेको देखिएको छ।

"हामीले प्रजातन्त्रप्रति असन्तुष्टि समयक्रममा बढ्दै गएर विश्वभर नै उच्चस्तरमा पुगेको पाएका छौँ। यस्तो विकसित देशहरूमा देखिएको छ," फोअले भने।

विश्वका १५४ देशमा उक्त अध्ययन गरिएको थियो।

ऐतिहासिक श्रृङ्खला

कतिपय देशहरूको तथ्याङ्क हेर्दा अहिलेको अवस्था सन् १९७० तिरको जस्तो देखिन्छ।

त्यसपछि लामो समयसम्म विभिन्न देशहरूमा प्रजातन्त्रप्रतिको विश्वास बढ्दो थियो।

लोकतन्त्र

पूर्वी तथा मध्य युरोपबाट कम्युनिस्ट सत्ता समाप्त भएको थियो र पश्चिमी प्रजातन्त्र विश्वव्यापी भावनाजस्तो बनेको थियो।

त्यसले प्रजातन्त्रप्रतिको विश्वास बढाएको थियो।

तर पछिलो दशकदेखि असन्तुष्टि बढ्दै गएको अध्ययनमा देखिएको छ।

लोकप्रियतावादको लक्षण

उक्त प्रतिवेदनले प्रजातन्त्रप्रति विश्वास गुम्ने चेतावनी दिँदै लोकप्रियतावाद बढ्नु त्यसको कारण नभई लक्षण भएको बताएको छ।

ब्रिटेनमा सन् १९७० देखि ३० वर्षसम्म प्रजातन्त्रप्रतिको विश्वास बढिरहेको तर सन् २००५ देखि क्रमश: कम हुँदै गएको देखिएको प्रतिवेदनमा उल्लेख छ।

लोकतन्त्र

प्रतिवेदनअनुसार अमेरिकामा पनि त्यस्तै खालको लक्षणहरू देखिएका छन्।

सन् २००८ को विश्वव्यापी आर्थिक मन्दी र विभिन्न राजनीतिक विवादका कारणले प्रजातन्त्रप्रति मानिसहरूको विश्वास कम भएको हुनसक्ने उक्त प्रतिवेदनमा उल्लेख छ।

डेनमार्क, स्वीट्जरल्यान्ड, नर्वे र नेदरल्यान्ड्सलगायतका देशहरूमा भने प्रजातन्त्रप्रति विश्वास बढिरहेको देखिएको छ।