चीनमा देखिएको नयाँ भाइरसबारे ढाकछोप नगर्न चेतावनी

भाइरस

तस्बिर स्रोत, Reuters

चीनमा श्वासप्रश्वासमा सङ्क्रमण गराउने कोरोनाभाइरसको सङ्क्रमणबारे कुनै पनि ढाकछोप नगर्न वरिष्ठ नेताहरूले कर्मचारीहरूलाई चेतावनी दिएका छन्।

हालसम्म त्यहाँ तीन सय जनामा उक्त नयाँ भाइरसको सङ्क्रमण पाइएको छ भने छ जनाको ज्यान गइसकेको छ।

चीनमा शान्ति सुव्यवस्था कायम राख्ने जिम्मा पाएको राजनीतिक संयन्त्रले भनेको छ, जसले सङ्क्रमणका घटनालाई ढाकछोप गर्नेछ ऊ 'अनन्तकालसम्म लज्जाको खम्बामा बाँधिनेछ'।

वुहान क्षेत्रबाट फैलन शुरू भएको यो भाइरसले एक प्रकारको न्युमोनिया गराउँछ। यो भाइरसको सङ्क्रमण मानिसबाट मानिसमा पनि हुन सक्ने पुष्टि भएको छ।

आपत्‌काल

विश्व स्वास्थ्य सङ्गठनले बुधवार यो सङ्क्रमणलाई लिएर अन्तर्राष्ट्रिय जनस्वास्थ्य आपत्‌कालको घोषणा गर्ने विषयमा छलफल गर्दैछ।

स्वाइन फ्लु तथा इबोला सङ्क्रमणमा उसले यस्तो घोषणा गरेको थियो।

त्यस्तो घोषणा भए त्यसलाई समन्वय गरी तत्काल अन्तर्राष्ट्रिय कामकारबाही होस् भन्ने उसको आह्वानको रूपमा बुझिनेछ।

भाइरस

तस्बिर स्रोत, Getty Images

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सोमवार पहिलो पटक मानिसबाट मानिसमा पनि यसको सङ्क्रमण हुनसक्ने पुष्टि गर्‍यो।

ग्वाङ्गडङ्ग प्रान्तमा दुईजना यसरी सङ्क्रमित भएको उसले जनाएको छ।

एउटा छुट्टै विज्ञप्तिमा वुहानको नगर स्वास्थ्य आयोगले त्यहाँ उपचारमा संलग्न १५ जना स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण पाइएको जनाएको छ। उनीहरूलाई एक्ल्याएर उपचार गरिँदैछ।

जनस्वास्थ्य

चिनियाँ नयाँ वर्षको उत्सव मनाउन करोडौँ मानिस आवतजावत गर्ने बेला जनस्वास्थ्यमा पछिल्लो समस्या उत्पन्न भएको छ।

अस्ट्रेलिया, सिङ्गापुर, हङ्गकङ्ग, ताइवान तथा जापानका अधिकारीहरूले वुहानबाट आएका हवाईयात्रुहरूलाई थप जाँच गर्न थालेका छन्।

अमेरिकाले गत साता नै न्यूयोर्क, सानफ्रान्सिस्को र लस एन्जलस विमानस्थलमा त्यस्तो जाँच शुरू गरिसकेको छ।

यात्री

तस्बिर स्रोत, Getty Images

अस्ट्रेलियामा वुहानबाट आएका एकजना यात्रुलाई एक्ल्याएर परीक्षण गरिँदैछ।

अस्ट्रेलियामा आउनेमध्ये सबभन्दा धेरै पर्यटक चीनका हुन्छन्। यो भाइरस निकै चाँडो फैलिने त्रास छ।

त्यसमाथि करोडौँको आवतजावत हुने नयाँ वर्षको बेला त्यो त्रास झन्‌ बढेको छ।