सभामुख निर्वाचन: 'उपसभामुखले राजीनामा दिने'

तस्बिर स्रोत, parliament of nepal
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुखको उम्मेदवार चयन गरेसँगै एक महिनादेखि अवरुद्ध प्रतिनिधि सभाको बैठक आजदेखि अघि बढ्ने भएको छ।
यसअघि नेकपाले सभामुखको उम्मेदवार तय नगरेका कारण रिक्त सभामुख पदको निर्वाचन कार्यतालिका सार्वजनिक हुन सकेको थिएन।
सभामुख वा उपसभामुखमध्ये एउटा पदमा दाबी गर्दै आएको प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले भने हालसम्म आफ्नो उम्मेदवारबारे टुङ्गो लगाएको छैन।
गत पुसको पहिलो साता बसेको प्रतिनिधि सभाको बैठक त्यसयता सूचनाकै भरमा सर्दै आएको थियो।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सभामुख कसलाई बनाउने भन्ने विषयमा सहमति जुट्न नसक्दा संसद् बैठक प्रभावित हुँदै आएको थियो।
'राजीनामा दिने'
नेकपाको सचिवालय बैठकले अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय आइतवार गरेसँगै निर्वाचन प्रक्रिया अगाडि बढ्ने भएको हो।

तस्बिर स्रोत, Rss
संसद् सचिवालयले सभामुख निर्वाचन प्रक्रिया अगाडि बढाउने सबै तयारी पूरा भएको जनाएको छ।
सभामुख र उप-सभामुख फरकफरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण निर्वाचन प्रक्रिया अगाडि बढाउन उप-सभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा दिनुपर्ने हुन्छ।
सचिवालयको निर्णयबाट असन्तुष्ट रहेकी भनिएकी उनले अध्यक्ष ओलीलाई भेटेर छलफल गरे पनि आफ्नो राजीनामाबारे सार्वजनिक रूपमा केही बताएकी छैनन्।
तर नेकपा महासचिव विष्णु पौडेलले भने, "उप-सभामुखले राजीनामा गर्ने अपेक्षा छ। उपसभामुखमा कुन दलसँग सहकार्य गर्ने भन्ने हामीले निर्णय गरिसकेका छैनौँ।"

तस्बिर स्रोत, parliament of nepal
दुई मध्ये एउटा पदमा दाबी गर्दै आएको प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले पनि निर्वाचनको कार्यतालिका सार्वजनिक भएपछि मात्रै उम्मेदवारबारे निर्णय गर्ने जनाएको छ।
काङ्ग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल भन्छिन्, "सबैभन्दा महत्त्वपूर्ण कुरा सदन तत्काल खोलौँ र सभामुखको कार्यतालिका सार्वजनिक गरौँ भन्ने हो। त्यसपछि पार्टीले निर्णय लिन्छ।"
प्रतिनिधि सभामा नेकपाको बहुमत रहेका कारण उक्त दलले समर्थन गरेका उम्मेदवार नै विजयी हुने अवस्था छ।








