सभामुख चयनबारे पूर्व माओवादी नेताको प्रश्न, प्रचण्डले छाड्दैमा हुन्छ?

प्रचण्डका साथ हरिबोल गजुरेल

तस्बिर स्रोत, Haribolgajurel/facebook

सरकारले सङ्घीय संसद्‍को हिउँदे अधिवेशनमा पुस ४ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेसँगै भावी सभामुखबारे धेरैको चासो बढेको छ।

संविधान अनुसार सभामुख र उपसभामुख फरक-फरक दल र लिङ्गको हुनुपर्ने भएकाले नेकपाले सभामुख लिने हो भने उपसभामुखले राजीनामा दिनुपर्ने छ।

सभामुख आफूले लिने बताइरहेको सत्ताधारी नेकपाको नेतृत्व तहमा त्यसबारे छलफल भए पनि व्यक्तिबारे निर्णय भइसकेको छैन।

पूर्व माओवादीका नेकपाका नेता हरिबोल गजुरेलका अनुसार विभिन्न वृत्त र पक्षबाट विभिन्न व्यक्तिहरूको नाम अघि सारिएको छ र विभिन्न छलफल र तर्कहरू भइरहेको छ। सहमतिमै भावी सभामुखबारे निर्णय हुने उनको विश्वास छ।

नेकपाभित्र एमाले-माओवादी जीवित

पार्टी एकीकरण भइसके पनि नेकपाभित्र पूर्व एमाले र पूर्व माओवादी भन्ने भावना जीवित देखिन्छ।

त्यसैले फौजदारी कसुरमा पदत्याग गर्न बाध्य कृष्णबहादुर महराको ठाउँमा आफ्नै खेमाबाट पठाइनुपर्ने पूर्व माओवादी नेताहरूको तर्क पाइन्छ।

पूर्व एमाले नेताहरूको फरक मत छ। उनीहरू पार्टी एकीकरण भइसकेको भन्दै नियुक्तिको बेला नेताहरूको विगत नहेरिने बताउने गर्छन्।

तर नेता हरिबोल गजुरेल भन्छन्, "त्यो ढङ्गले छलफल हुने समय आउँछ। पार्टी एकीकरण पूरा नभइसकेकाले अहिले पूर्व माओवादी र पूर्व एमाले भन्ने त भइरहेकै छ। पार्टीका विभागहरूमा नियुक्त गर्दा पनि भइरहेकै त छ।"

उनले हालसालै मन्त्रिमण्डल पूनर्गठन गर्दा पूर्व माओवादीलाई पहिलेभन्दा बढी स्थान नदिइएकोलाई पनि उदाहरणको रूपमा पेस गरे।

सभामुख पूर्व माओवादीबाटै बन्ने कुरा जनता र कार्यकर्ता तहमा स्पष्ट रहेको उनको भनाइ छ।

प्रचण्ड 'कार्यकारी', सभामुख पूर्व एमालेलाई?

नेकपाका एक अध्यक्ष प्रचण्डले पार्टी बैठकको अध्यक्षता गर्ने गर्ने गरी कार्यकारी अधिकारी पाएपछि उनी सभामुख पूर्व एमालेलाई दिन लचिलो बनेको खबरहरू आएका थिए।

ओली र प्रचण्ड

तस्बिर स्रोत, Pradeep gyawali

तर नेता गजुरेल प्रचण्डले पाएको 'कार्यकारी' अधिकारसँग सभामुख छनौट सम्बन्धित नरहेको बताउँछन्।

सरकारको नेतृत्व केपी शर्मा ओली र प्रचण्डले आलोपालो गर्ने दुई नेताबीचको पहिलेको लिखित सहमतिको बदलामा ओलीलाई सरकारको पूर्ण अवधि नेतृत्व गर्न दिने गरी प्रचण्डले पार्टी सञ्चालनको जिम्मेवारी पाएको उनको भनाइ छ।

उनी भन्छन्, "कार्य विभाजन गर्दा कार्यकारी अधिकारी पहिल्यै स्वत: पाउनु पर्ने हो। तैपनि लामो समय लाग्यो, उतार-चढाउ र खिँचातानीकाबीचमा भएको निर्णय हो, सहजै भएको निर्णय त होइन।"

'प्रचण्डले दिँदैमा हुन्न'

नेता गजुरेल यस विषयमा प्रश्न नै उठ्न नहुने ठान्छन्।

'एकता प्रक्रिया टुङ्गो नलागेको, केही समय पूर्व पार्टी भन्ने कुरा उठिरहने र त्यस्तो मनोविज्ञान रहिरहने' उनको भनाइ छ।

नेता गजुरेलले भने, "प्रचण्डले दिएर भइहाल्ने, नदिएर नहुने भन्ने होइन। यत्रो पार्टीपङ्क्तिको मनोविज्ञान पनि ख्याल गर्नुपर्छ नि नेतृत्वले, आफूलाई जे अनुकूल हुन्छ त्यही मात्र हेरेर हुन्न नि।"

उनको प्रश्न छ, त्यस्तो मनोविज्ञान नभरहेको भए पार्टी एकता हुने बित्तिकै एउटा अध्यक्षले पार्टी र अर्कोले सरकार सञ्चालन गर्ने निर्णय हुनुपर्ने होइन?

उनको भनाइमा सभामुख पूर्व एमालेलाई दिन प्रचण्ड तयार भए पनि पूर्व माओवादी नेताहरूले त्यो मान्न तयार नहुने अडान देखिन्छ।

त्यो प्रश्नमा नेता गजुरेलको जवाफ थियो, "कसरी मान्ने, सबैलाई अपमानित गरेर यस्तो कुरा पनि मानिन्छ त? मानिदैन। कि त एउटा पार्टी अर्को पार्टीमा विलय भएको भन्नु पर्‍यो।"