रेन्हार्ड सिनागा: ब्रिटेनका 'सबैभन्दा खतरनाक' बलात्कारीलाई आजीवन जेल सजाय

रेन्हार्ड सिनागा

तस्बिर स्रोत, Police handout

तस्बिरको क्याप्शन, रेन्हार्ड सिनागा पीडितहरूलाई अचेत बनाएर यौन आक्रमण गर्ने र त्यसको भिडिओ खिच्ने गर्थे

एक सय ५९ वटा यौन अपराधमा दोषी ठहर भएका र ब्रिटेनका सबैभन्दा खतरनाक बलात्कारी भनिएका एक व्यक्तिको परिचय उनीविरुद्ध चलिरहेको मुद्दाको सुनुवाइ समाप्त भएपछि सार्वजनिक गरिएको छ।

रेन्हार्ड सिनागा नामक ती पुरुषलाई ब्रिटेनको म्यान्चेस्टर सहरस्थित विभिन्न रात्रिकालीन मनोरञ्जनस्थलबाहिरबाट ४८ जना पुरुषलाई झुक्याएर आफ्नो निवासमा लगी, लट्ठिने औषधि खुवाई यौन आक्रमण गरेको र त्यसको भिडिओ खिचेको अभियोगमा दोषी पाइएको थियो।

छत्तीस वर्षीय सिनागा इन्डोनेशियाका नागरिक हुन्। सिनागाले स्नातकोत्तर गरेका थिए।

उनले कम्तीमा १९० जना पीडितलाई आक्रमण गरेको प्रमाण आफूसँग भएको प्रहरीले बताएको छ।

मुद्दाको फैसला सुनाउँदै एक न्यायाधीशले सिनागालाई दिइने जन्मकैदको सजाय कम्तीमा पनि ३० वर्षको हुनुपर्ने बताएका छन्। ती न्यायाधीश उक्त मुद्दाको समाचार सङ्कलन र प्रकाशनमा लागु प्रतिबन्ध फुक्का गरिदिएका छन्।

यसअघि अन्य दुईवटा मुद्दामा उनी दोषी ठहर भएर उनलाई न्यूनतम २० वर्षका लागि जेल पठाइएको थियो।

म्यान्चेस्टरमा बस्ने उनीविरुद्ध ४८ व्यक्तिलाई बलात्कार गरेको १३६ वटा अभियोग, बलात्कारको प्रयाससम्बन्धी आठ अभियोग, यौन आक्रमणको १४ अभियोगलगायतका कसुरमा चलाइएका चार भिन्न मुद्दामा दोषी ठहर गरिएको हो।

रेन्हार्ड सिनागाको सुत्ने कोठा

तस्बिर स्रोत, Greater Manchester Police

तस्बिरको क्याप्शन, सिनागाले कम्तीमा १९० जना पीडितलाई आक्रमण गरेको प्रमाण भएको प्रहरीको दाबी छ

रेन्हार्ड सिनागाले नाइटक्लब र बारहरूबाट बाहिर निस्किने पुरुषहरूलाई ढुकेर मदिरा पिउने वा ट्याक्सी बोलाइदिने जस्ता विभिन्न प्रलोभन वा प्रस्ताव गरेर आफ्नो निवासमा लैजाने गरेका थिए।

उनले पीडितहरूलाई झुक्याएर लट्ठिने औषधि खुवाई अचेत अवस्थामा नै यौन आक्रमण गर्ने गरेका थिए। अधिकांश पीडितमलाई होसमा आउँदा आफूलाई के भएको थियो भन्ने सम्झना नै हुँदैनथ्यो।

अदालतमा बयान दिने क्रममा पीडितहरूले आफूविरुद्ध भएको यौन आक्रमणले आफ्नो मानसिक स्वास्थ्यमा नकारात्मक असर परेको र कतिपयले त आत्महत्या गरौँ कि भन्ने भाव पनि मनमा आउने गरेको बताएका थिए।

ब्रिटेनको लीड्स विश्वविद्यालयमा विद्यावारिधिका लागि अध्ययन गरिरहेका रेन्हार्ड सिनागाले वर्षौँको अवधिमा ती अपराधहरू गरेका थिए।

Presentational grey line

अनि यो पनि

Presentational grey line

ती बलात्कारीलाई सन् २०१७ को जुन महिनामा पक्राउ गरिएको थियो। उनले यौन आक्रमण गर्दैगर्दा एक पीडितको होस खुलेपछि उनले सिनागालाई पन्छाएर प्रहरीलाई उजुरी गरेका थिए।

प्रहरीले सिनागाको फोन नियन्त्रणमा लिएर अनुसन्धान गर्दा प्रत्येक यौन आक्रमणको भिडिओ रेकर्ड फेला परेको थियो।

त्यसपछि ब्रिटेनको इतिहासमा नै सबैभन्दा ठूलो बलात्कारसम्बन्धी अनुसन्धान थालिएको थियो।

असिस्टन्ट चीफ कन्स्टेबल म्याब्स हुसेनका अनुसार सिनागाको अपराधको पूर्ण विवरण कहिल्यै थाहा नहुन पनि सक्छ।

सिनागाको सिसिटिभी फुटेज

तस्बिर स्रोत, Greater Manchester Police

तस्बिरको क्याप्शन, मुद्दाको सुनुवाइको क्रममा जुरीलाई सिनागा सिकारको खोजीमा आफ्नो निवासबाट निस्किँदै गरेको सीसीटीभ‌ी फुटेज पनि देखाइएको थियो

अनुसन्धानकर्ताहरूले दर्जनौँ पीडितलाई सिनागाले खिचेको भिडिओ, उनले म्यान्चेस्टरस्थित फ्ल्याटमा चोरेर राखेका फोन, परिचयपत्र, घडीजस्ता वस्तुको आधारमा फेला पारेका थिए।

‌सिनागाविरुद्धको पछिल्लो मुद्दा १८ महिनासम्म म्यान्चेस्टर क्राउन कोर्टमा चलेको थियो र उनलाई सबै अभियोगमा सर्वसम्मतिले दोषी ठहर गरिएको थियो।

रेन्हार्ड सिनागाले आफूविरुद्ध लगाइएका सबै अभियोग अस्वीकार गरेका थिए।

उनले सबै यौन क्रियाकलाप पारस्परिक सहमतिमा नै भएको भन्दै प्रत्येक पुरुषले निदाएको जस्तो अभिनय गरेर आफूलाई भिडिओ खिच्न दिएको दाबी गरेका थिए।