अचेत महिलालाई बलात्कार गर्ने दुई के-पप गायकलाई जेल सजाय

के पप

तस्बिर स्रोत, Getty Images

दक्षिण कोरियाको एउटा अदालतले मातेर अचेत भएका महिलाहरूलाई सामूहिक बलात्कार गरेको अभियोगमा के-पप अर्थात् कोरियाली पप सङ्गीतका दुई चर्चित कलाकार जङ जून-यङ र चोय जङ-हूनलाई क्रमश: छ वर्ष र पाँच वर्ष जेल सजाय सुनाएको छ।

जङलाई उक्त घटनाको भिडिओ खिचेको र त्यससम्बन्धी फुटेज सार्वजनिक गरेको पनि अभियोग लगाइएको थियो।

ती दुवै जनालाई यौन हिंसाको उपचारसम्बन्धी ८० घण्टाको कक्षा लिन आदेश दिइएको छ।

उनीहरूलाई बालबालिकासँग काम गर्न प्रतिबन्ध लगाइएको छ।

पीडितलाई 'अकल्पनीय पीडा'

यो घटना केही समययता के-पप जोडिएको यौन तथा दुर्व्यवहारसम्बन्धी अनेकौँ काण्डमध्ये एउटा हो।

न्यायाधीश ग्याङ सङ-सूले ३० वर्षीय जङले मातेका र प्रतिकार गर्न असमर्थ महिलाहरूको बलात्कार गरेको, उनीहरूको नग्न तथा यौनक्रीडाको भिडिओ खिचेको अनि ग्रूप च्याटमा हालेको ठहर गरे।

उनले भने, "त्यो अवस्थाबारे पछि थाहा पाएका पीडितहरूले खेपेको पीडाको हामी कल्पना पनि गर्न सक्दैनौँ।"

उनले जङले पीडितलाई मनोरञ्जनको साधनका रूपमा मात्र लिएको जस्तो देखिएको बताए।

line
line

जङ एउटा प्रसिद्ध टेलिभिजन कार्यक्रममा सहभागी भएपछि चर्चित भएका थिए।

आफ्नो अन्तिम बयानमा उनले "म मेरो मूर्खताप्रति गहिरो दु:ख र पश्चाताप व्यक्त गर्छु" भनेका थिए। अबउप्रान्त आफू पश्चाताप गरेर मात्रै बाँच्ने उनले बताएका थिए।

गत मार्च महिनामा महिलाहरूको भिडिओ गोप्य रूपमा खिचेर सार्वजनिक गरेको स्वीकार गरेपछि उनले सङ्गीत क्षेत्र त्यागेको घोषणा गर्नुपरेको थियो।

के-पपमा काण्डको शृङ्खला

तीस वर्षीय चोयले मातेका महिलाको सामूहिक बलात्कार गर्दा पनि पश्चाताप नगरेको अदालतले जनाएको छ।

उनी चर्चित कोरियाली ब्यान्ड चोय एफ.टी. आईलन्डका सदस्य हुन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरियाली पप: सङ्गीत, लागुपदार्थ र यौन अपराध

प्रहरीले के-पपका सुप स्टार सङ्नीबारे अलग्गै अनुसन्धान गर्ने क्रममा ती घटनाहरू प्रकाशमा आएका थिए।

उनी जङको च्याट समूहमा रहेको ठानिएको छ।

सङ्नीको साङ्गीतिक समूह बिग-ब्याङका १४ करोडभन्दा बढी एल्बम बिक्री भइसकेका छन्। उनलाई व्यापारिक लगानीकर्ताहरूलाई यौनकर्मी उपलब्ध गराइदिने गरेको अभियोग लगाइएको छ।

बीबीसीकी सोल संवाददाता लउरा बिकरका अनुसार कोरियाली पप क्षेत्रका नाम चलेका कलाकारहरू एकपछि अर्को विवादमा मुछिएका आरोपहरू सार्वजनिक भइरहेका छन्।

उनका अनुसार यसबारे बीबीसीले अनुसन्धान गर्दा चा मी-क्यङले यी बलात्कारका घटनालाई ढाकछोप गरिएको अपराध भनेकी थिइन्।

उनले ती महिलाहरू सङ्कोचका कारण बाहिर आउन नसकेको भन्दै बलात्कारीलाई भन्दा पनि उनीहरूलाई नै गलत रूपमा बुझिने डर पीडितहरूमा रहेको उल्लेख गरिन्।

ग्रूप च्याटमा लेखिएका कतिपय प्रतिक्रियामा पनि पीडित महिलाप्रति नै औँला ठड्याइएको छ।

एउटा त्यस्तो सन्देशमा भनिएको छ, "यस्तो खालको अपराधमा सजाय अलि बढी भयो। यी महिलाहरूलाई सडकबाट अपहरण गरिएको थिएन। उनीहरूले आफैँ सुन्दर गायकहरूलाई पछ्याएका थिए।"

बिकर भन्छिन्, "युवा अवस्थाका महिलाहरूले एकजुट हुँदा आफ्नो स्वर बलियो हुने अनुभूति गरिरहेका छन्। उनीहरूल विरोध प्रदर्शन र र्‍यालीहरूमा बोलिरहेका छन्। र उनीहरूकै कारणले अवस्था परिवर्तन भइरहेको छ।"