साउदी रेस्टुराँमा अब महिला र पुरुष एउटै ढोकाबाट छिर्न पाउने

साउदी अरेबिया

तस्बिर स्रोत, Getty Images

साउदी अरबमा अब रेस्टुराँहरूले पुरुष र महिलाका लागि छुट्टाछुट्टै प्रवेशद्वार निर्माण गर्नुपर्ने छैन।

महिला तथा पुरुषसम्बन्धी त्यहाँको पुरानो नियमलाई खुकुलो पार्दै साउदी सरकारले ट्विटरमार्फत् त्यस्तो घोषणा गरेको हो।

यसअघि त्यहाँ एउटा ढोका महिला र परिवारका लागि र अर्को एक्लै जाने पुरुषहरूका लागि हुनेगर्थ्यो।

साउदी अरबमा शृङ्खलाबद्ध रूपमा भइरहेका यस्ता सुधारका काममा अवरोध गर्ने कट्टरपन्थीहरूलाई समेत धेरै पटक कारबाही गरिएको छ।

बिस्तारै खुकुलो

यो वर्षको आरम्भमा साउदी सरकारले शाही आदेश जारी गर्दै साउदी महिलालाई पुरुष अभिभावकको अनुमतिबिना नै विदेश जान दिने भनेको थियो।

सन् २०१८ मा साउदी अरबले चालक अनुमतिपत्र लिनका निम्ति महिलामाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको थियो।

तर अभियानकर्मीहरूले अझै पनि कैयौँ कानुन महिलाविरुद्ध विभेदकारी रहेको बताएका छन्।

सरकारले सुधारका कदम चाल्दै गर्दा कतिपय चर्चित महिला अधिकारकर्मीहरू पक्राउ पनि परिरहेका छन्।

पछिल्लो निर्णयको परिणाम

आइतवार नगरपालिकासम्बन्धी साउदी मन्त्रालयले रेस्टुराँहरूलाई महिला र पुरुषका निम्ति छुट्टाछुट्टै प्रवेशद्वार तोक्न अबदेखि नपर्ने जनाएको थियो।

साउदी अरब

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, गत वर्ष सवारीचालक अनुमति लिएर पहिलो पटक कार चलाएकी एक महिलालाई चुम्बन गर्दै उनका अभिभावक

तर त्यस्तो निर्णय व्यवसायीहरू स्वयंको विवेकमा छाडिनेछ।

हालसम्म रेस्टुराँभित्र परिवार तथा महिलालाई सामान्यतया: पर्दाको प्रयोग गरेर एक्लै आउने पुरुषभन्दा छुट्टै राखिन्थ्यो।

सन् २०१७ मा मोहम्मद बिन सलमान युवराज भएयता उनले त्यहाँको कट्टरपन्थी समाजलाई बिस्तारै खुला पार्ने प्रयास गर्दैछन्।

उनका सुधार योजनाहरूले अन्तर्राष्ट्रिय समुदायमा प्रशंसा बटुलेको छ, तर त्यसको साथसाथै साउदी अरबमा शोषणका शृङ्खलाबद्ध घटना पनि भएका छन्।

चर्चित साउदी पत्रकार जमाल खशोग्जीको सन् २०१८ मा इस्तानबुलस्थित साउदी महावाणिज्यदूतावासमा हत्या भएपश्चात् त्यसको व्यापक अन्तर्राष्ट्रिय निन्दा भएको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, जमाल खशोग्जीको हत्या भएको एक वर्ष

तर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसहित कतिपय विश्व नेताले साउदी अरबको बचाउ गरेका छन्।

साउदी सरकारका आलोचक खशोग्जीको हत्यालाई संयुक्त राष्ट्रसङ्घका विज्ञले 'गैरन्यायिक हत्या' भनेको छ।