कालो धन विज्ञ अमेरिकी प्राध्यापक नै कालो धन थुपारेको आरोपमा पक्राउ

आफ्नै घर बाहिर प्राध्यापक बागले

तस्बिर स्रोत, CBS Miami

तस्बिरको क्याप्शन, मायामी विश्वविद्यालयका प्राध्यापक ब्रुस बागलेको फोटो उनको घर नजिकै पुगेर रिपोर्टरहरूले खिचेका हुन्

लागुऔषध ओसारपसार र नियोजित अपराधबारे किताब लेखेका अमेरिकी विश्वविद्यालयका एकजना प्राध्यापकलाई अधिकारीहरूले कालो धनबाट २५ लाख डलर कमाएको आरोप लगाएका छन्।

प्राध्यापक ब्रुस बागलेले भेनेजुएलाबाट ल्याइएको कालो धन स्वीट्जरल्याण्ड र यूएईमा रहेका ब्याङ्क खाताहरूबाट प्राप्त गरेको दाबी अभियोजनकर्ताहरूले गरेका छन्।

चार वर्षअघि उनले ड्रग ट्राफिकिङ अर्गनाइज्ड क्राइम एन्ड भायोलेन्स इन द अमेरिकाज टुडे भन्ने पुस्तकको सहलेखन गरेका थिए जसमा "कालो धनको ओसारपसार भरमार चलेको गतिविधि" भनिएको छ।

सीबीएस न्यूजसँग बोल्दै इन्टर्न्याश्नल स्टडिजका प्राध्यापक बागलेले आरोप अस्वीकार गर्दै भने: "मलाई केही भएको छैन। आफूलाई दोषी महसुस गर्दिन। उनीहरूले त्यसलाई पुरै गलत बुझिरहेका छन्।"

'जटिल प्रक्रिया'

न्यूयोर्कका अधिकारीहरूले बागलेले फ्लोरिडा ब्याङ्कमा आफ्नो श्रीमतीको साथमा एउटा खाता खोलेको आरोप लगाएका छन्।

सन् २०१७ को नोभेम्बरदेखि उक्त खातामा यूएईमा रहेको कोलम्बियाली नागरिकको नियन्त्रणमा रहेको खाद्य कम्पनीबाट पैसा आउन थालेको थियो।

ती कोलम्बियाली नागरिकको नाम र भेनेजुएलाबाट पैसा आउने प्रक्रिया भने खुलाइएको छैन।

भेनेजुएला

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, भेनेजुएलामा केही वर्षदेखि आर्थिक र राजनीतिक अस्थिरता रहँदै आएको छ

बागलेको पुस्तकमा कालो धन ओसारपसार कसरी हुन्छ भन्ने प्रक्रिया "असाध्यै जटिल" रहेको बताइएको छ।

अभियोजनकर्ताहरूले खातामा आउने रकम भेनेजुयलामा "घुस र भ्रष्टाचार" का क्रममा प्राप्त भएको दाबी गरेका छन्।

यो मुद्दा भेनेजुएलामा हुने भ्रष्टाचारको रकम अमेरिकी वित्तीय प्रणालीको प्रयोग गरेर कसरी ओसारपसार हुन्छ र अमेरिकी कानून कहाँ दुरुपयोग हुन्छ भन्ने बुझ्ने प्रयत्नको एक अंश रहेको बताइएको छ।

भेनेजुएलामा आर्थिक डाँवाडोल भएका कारण दशौँ लाख मानिसहरू देश छोड्न बाध्य भएका छन्।

विज्ञका रूपमा बयान

बागलेलाई कालो धनसम्बन्धी तीन आरोप लगाइएका छन् र ती प्रत्येक आरोप प्रमाणित भएका अधिकतम २० वर्षको जेल सजाय हुनसक्ने व्यवस्था छ।

मायामी सङ्घीय अदालतमा उपस्थित भएर उनी तीन लाख अमेरिकी डलर धरौटीमा छुटेका छन्।

प्राध्यापन बाहेक उनले अदालतमा उपस्थित भएर विभिन्न मुद्दामा विज्ञको रूपमा काम गरेका छन्।

त्यसैगरी अमेरिकी कङ्ग्रेसको सिनेट कमिटिहरूमा पनि विज्ञका रूपमा उनले बयान दिएका छन्।

यूएस क्यापिटल बिल्डिङ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, यी प्राध्यापकले अमेरिकी सिनेटमा विज्ञका रूपमा पनि बयान दिएका थिए

बागलेविरुद्धको मुद्दाबारे एफबीआईका सह कार्यकारी निर्देशक विलियम एफ स्वीनी जुनियरले भने: "अपराधीहरूले अपराधबाट प्राप्त रकम यताउता लैजान धेरै उपाय गर्छन् तर सफल हुनका लागि त्यस्तो रकम लुकाएर सार्न सक्नुपर्छ।"

"हाम्रो बागलेमाथिको आरोप उनले भेनेजुएलाका नागरिकहरूविरूद्धको गैरकानुनी काम सफल बनाउन सघाएका छन् र त्यस बापत नाफा पाएका छन्।"

बागलेका अधिवक्ता ड्यानियल फोरम्यानले मायामी हेराल्ड अखबारलाई उनी "यत्नपूर्वक आफ्नो मुद्दाको बचाउ" गर्ने योजनामा रहेको बताए।

मायामी विश्वविद्यालयले बागले बिदामा रहेको भनेको छ र उनीविरुद्ध लगाइएका आरोपहरू उनको "व्यक्तिगत मामिला" भनेको छ।