कालापानी: प्रधानमन्त्री केपी शर्मा ओली भन्छन्, 'एक इन्च नेपाली भूमि पनि मिचिन दिन्नौँ'

तस्बिर स्रोत, RSS
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भूमिबाट छिमेकीहरूलाई आफ्ना सेना फिर्ता लैजान आग्रह गरेका छन्।
यो सरकारले एक इन्च नेपाली भूमि पनि कसैलाई मिच्न नदिने र अरूको भूमि पनि आफूलाई नचाहिने भन्दै उनले नेपाली भूमिबाट विदेशी सेना फेर्ता हुनुपर्ने बताएका हुन्।
आइतवार सत्तारूढ नेकपाको भातृसङ्गठन युवा सङ्घको राष्ट्रिय एकता भेलालाई सम्बोधन गर्दै ओलीले विश्व शान्तिका लागि नेपाली सेना पठाइने गरेको स्मरण गर्दै नेपाल शान्तिको पक्षमा रहेको र छिमेकीसँग तनाव नहोस् भन्ने चाहेको बताए।
"सरकारले संवादको माध्यमबाट यो सीमासम्बन्धी समस्या समाधान गर्छ। हाम्रो भूमिबाट विदेशी फौज फिर्ता गराउँछ। हाम्रो भूमिको रक्षा गर्छ," उनले भने।
भारतले कालापानी क्षेत्रलाई आफ्नो नक्सामा भारतीय सिमानाभित्र देखाएपछि नेपालले त्यसको विरोध गरेको छ।
"हामीलाई अरूको जमिन चाहिएन। हाम्रो जमिनबाट हाम्रा छिमेकीहरूले सेना फिर्ता लैजाऊन्। हाम्रो जमिनमा सेना नराख्नुहोस फिर्ता लानुहोस्, हाम्रो आग्रह छ,' उनले भारतको नामोच्चारण नगरी भने।
गत हप्ता ओलीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा कालापानीको विषयमा छलफल भएको थियो। बैठकमा सहभागी पूर्वप्रधानमन्त्री तथा नेताहरूले कालापानी नेपाली भूभाग भएको भन्दै कूटनीतिक उपायद्वारा विवाद टुङ्ग्याउन सल्लाह दिएका थिए।

"कतिपय मान्छेहरूले नक्सा सच्चाउनुपर्यो भनेका छन्," ओलीले भने, "नक्सा सच्चाउन त अहिले नै सकिन्छ, यहीँ। नक्साको कुरा होइन, भूमि फिर्ता लिने कुरा हो।"
"यो सरकारले भूमि फिर्ता लिन्छ। नक्सा त प्रेसमा छाप्दा हुन्छ। नक्सा छाप्ने कुरा होइन, भूमि फिर्ता लिने कुरा हो। नेपाल नेपाली भूमि फिर्ता लिने सक्षम छ र सक्नुपर्छ। यसमा हामी एकजुट भएर आवाज उठाएका छौँ र यो एकता आवश्यक छ।"
"म दल, सङ्घ संस्था सबैलाई सरकारसँग ऐक्यबद्धता जनाउनुभएकोमा धन्यवाद दिन चाहन्छु।"
कालापानीबारे नबोलेको भन्दै आलोचना भइरहेको बेला ओलीले सार्वजनिक कार्यक्रममै यी अभिव्यक्ति दिएका हुन्।

तस्बिर स्रोत, DoS

तस्बिर स्रोत, SURVEY OF INDIA
भारतले नयाँ नक्सामा नेपालसँगको सीमामा कुनै परिवर्तन नगरिएको दाबी गरेको छ।
कालापानीको विषयमा केही उच्छृङ्खल गतिविधि पनि देखिएको र त्यो उचित नभएको उनको भनाइ थियो।
"उच्छृङ्खल गतिविधिबाट यस्तो कुरा सल्टिँदैन। कतिपयले आफूलाई हिरो देखाउनका लागि, आफूलाई शूरवीर देखाउनका लागि, आफूलाई अतिरिक्त देशभक्त देखाउने हिसाबले यस्ता कुरा उचालेका छन्। यस्ता कुराको पछाडि हामी जाने होइन," ओलीले भने।
"अहिलेको सरकार नेपाली जनताको सरकार हो, नेपाल राष्ट्रको सरकार हो, देशभक्त सरकार हो। त्यस कारण यस सरकारले आफ्नो भूमि एक इन्च पनि मिचिन दिँदैन।"
स्वास्थ्यस्थिति के छ?
बाह्र वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीमा अहिले मिर्गौलाको समस्या देखिएको छ।

तस्बिर स्रोत, RSS
शनिवार पुन: उनको हेमोडायालिसिस गरिएको थियो। यसअघि काठमाण्डूमै उनको कम्तीमा दुईचोटि डायालिसिस गरिसकिएको छ।
तर उनले सार्वजनिक कार्यक्रम वा सरकारी समारोहमा सहभागी हुन छोडेका छैनन्।
त्यसअघि साउन र भदौ महिनामा दुई पटक उनको सिङ्गापुरमा उपचार भएको थियो।
प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा. डा. दिव्या सिंह शाह, ग्रान्डी इन्टरन्याश्नल हस्पिटलका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे तथा सोही अस्पतालका चिकित्सक प्रा. डा. प्रेमराज ज्ञवालीले शनिवार प्रकाशित एउटा विज्ञप्तिमा प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि आएको र उनको पुन: हेमोडायलिसिस गरिएको जनाएका छन्।
ओली शनिवार नै अस्पतालबाट आफ्नो सरकारी निवास फर्किएका थिए।
ओलीले आइतवार भारतका भूतपूर्व क्रिकेट खेलाडी सचिन तेन्दुकरलाई बालुवाटारमा भेटेका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त









