प्रधानमन्त्री केपी शर्मा ओलीको 'दुई पटक डायालिसिस', अस्पतालबाट निवास फिर्ता

तस्बिर स्रोत, RSS
काठमाण्डूको ग्रान्डी अस्पतालमा उपचारका लागि भर्ना गरिएका प्रधानमन्त्री केपी ओली बिहीवार साँझ अस्पतालबाट निवास फिर्ता भएका छन्।
अस्पतालमा दुई दिन बिताएर फर्किनुअघि ओलीले अस्पताल बाहिर सञ्चारकर्मीहरू सामु दुवै हात हल्लाएर आफू ठिक भएको सङ्केत गरेका थिए।
स्वास्थ्यमा समस्या देखिएपछि बुधवार बिहान त्यो अस्पताल भर्ना भएका ओलीको दुई दिनमा दुई पटक डायालिसिस गरिएको जानकारी उनको उपचारमा संलग्न चिकित्सकहरूलाई उद्धृत गर्दै नेकपाका अर्का अध्यक्ष प्रचण्डले बिहीवार दिउँसो दिएका थिए।
प्रधानमन्त्रीको उपचारबारे प्रधानमन्त्रीको सचिवालय, अस्पताल र उपचारमा संलग्न चिकित्सकहरूले नियमित परीक्षण मात्रै भएको बताइरहेका बेला उनलाई भेट्न गएका प्रचण्डले प्रधानमन्त्रीको पछिल्लो अवस्थाका बारेमा जानकारी दिएका थिए।
प्रचण्डको भनाइ आएको केही समयपछि नै प्रधानमन्त्रीको उपचार भइरहेको ग्रान्डी अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेले पत्रकार सम्मेलन आयोजना गरेर प्रधानमन्त्री ओलीको डायालिसिस गरिएको, उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनलाई बिहीवार नै अस्पतालबाट निवास फर्काउने तयारी भइरहेको भन्ने जानकारीको पुष्टि गरेका थिए।
डायालिसिस फेरि पनि हुन सक्ने
यसअघि सचिवालय र अस्पतालले प्रधानमन्त्रीलाई भएको समस्या र जारी उपचारका बारेमा वास्तविक जानकारी नदिँदा विभिन्न खालका अड्कलबाजीहरू भएका थिए।

तस्बिर स्रोत, RSS
प्रचण्डले भने,"मैले प्रधानमन्त्रीजीसँग पनि कुरा गरेँ। उहाँले 'अलि समस्या छिटोछिटो देखा पर्यो। तर अहिले ठिक भएको र आजै अस्पतालबाट फर्काउने कुरा छ। अरू त ठिकै छ' भन्नु भयो।"
डायालिसिस फेरि पनि गर्ने हो भन्ने सञ्चारकर्मीहरूको जिज्ञासामा प्रचण्डले भने, "अब गर्नुपर्ने पनि हुन सक्छ। डाक्टरको भनाइअनुसार भोलि र पर्सिसम्मको स्थिति हेरेर भन्न सकिन्छ। नियमित गर्नुपर्ने भन्ने अहिले टुङ्गो लागेको छैन।"
यसअघि अस्पतालमा भेट्न गएका नेकपाका नेता नारायणकाजी श्रेष्ठ र भीम रावल प्रधानमन्त्रीलाई नभेटी फर्किएका थिए। डायालिसिस भइरहेकाले भेट्न नसकिएको नेता रावलले बताएका थिए।
उपचार
बाह्र वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा बेला बेला समस्या देखिँदै आएको छ।
साउन र भदौ महिनामा दुई पटक उनको सिङ्गापुरमा उपचार भएको थियो।
त्रिवि शिक्षण अस्पतालमा नियमित जाँच गर्ने गरेका प्रधानमन्त्री ओलीलाई पहिलो पटक उपचारका लागि राजधानीको एउटा निजी क्षेत्रको स्वास्थ्य केन्द्र ग्रान्डी अस्पतालमा भर्ना गरिएको हो।
प्रधानमन्त्रीको उपचारमा उनको निजी चिकित्सक पनि रहेकी वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. दिव्या सिंह शाह, डा. दीलिप शर्मा र डा. प्रेम ज्ञवाली संलग्न रहेको बताइएको छ।

यो पनि हेर्नुहोस्









