चिनियाँ राष्ट्रपति सीको भ्रमण: नेपाललाई 'भूपरिवेष्‍टितबाट भू-जडित देश' बन्न सहयोग गर्ने

चिनियाँ र नेपाली राष्ट्रपति

तस्बिर स्रोत, RSS

नेपालको दुईदिने राजकीय भ्रमणमा आएका चीनका राष्ट्रपति सी जिन्पिङले नेपाललाई "भूपरिवेष्‍टित देशबाट भू-जडित देश" बन्न सघाउने बताएका छन्।

शनिवार साँझ काठमाण्डूमा उनको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको रात्रिभोजअघि सम्बोधन गर्दै सीले यस्तो धारणा राखेका हुन्।

उनले भने, "हामी चीन-नेपाल सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन सुरु गर्नेछौँ। अरनिको राजमार्गको सञ्चालनलाई सुनिश्चित बनाइ त्यसलाई विभिन्न चरणमा स्तरोन्नति गर्नेछौँ। केरुङदेखि काठमाण्डूसम्मको सुरुङ मार्गको परियोजनालाई अगाडि बढाउन हामी सक्रिय हुनेछौँ।"

"बढीभन्दा बढी नाकाहरू खोली हिमाल वारपार बहुआयामिक सञ्जालको निर्माण गर्नेछौँ र नेपालको भूपरिवेष्टित देशबाट भू-जडित देश बन्ने सपना साकार तुल्याउन मद्दत गर्नेछौँ।"

उनले नेपाल र चीनबीच कुनै समस्या नभएको र मित्रता मात्र कायम रहेको बताए।

नेपालसँग मिलेर आफूहरूले "मैत्रीपूर्ण रणनीतिक साझेदारी" स्थापना गर्ने निर्णय गरेको सीले जानकारी दिए।

आत्मरक्षावाद, एकलवाद र प्रभुत्ववाद

उनले भने, "वर्तमान अवस्थामा आत्मरक्षावाद, एकलवाद र प्रभुत्ववाद धेरै व्याप्त छ, हामीले बहुलवाद र आर्थिक भूमण्डलीकरणलाई समर्थन गर्नुपर्छ। जलवायु परिवर्तनप्रति नेपाली पक्षको विशेष चासोलाई चिनियाँ पक्षले राम्ररी बुझेको छ। जलवायु परिवर्तन सम्बन्धी वार्ताहरूमा नेपाली पक्षको उपयुक्त मागलाई हामी पनि समर्थन गर्दछौँ।"

चिनियाँ र नेपाली राष्ट्रपति

तस्बिर स्रोत, RSS

"नेपाली पक्षका साथ हामी जलवायु परिवर्तनको सम्बोधन प्रक्रियालाई धेरै पक्षबाट अगाडि बढाइ हाम्रो साझा गृहस्थल पृथ्वी विशेषगरि सगरमाथा हिमालय क्षेत्रको रक्षा गर्न सदा तत्पर रहनेछौँ।"

यसपटकको भ्रमणमा नेपाल र चीनको साझा खाका बनाउन सकेको भन्दै उनले प्रसन्नता व्यक्त गरे।

उनले संयुक्त प्रयासबाट नेपाल र चीनले द्विपक्षीय भविष्य तय गर्न आह्वान गरे।

त्यसअघि बोल्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र चीनको सम्बन्ध "सागरजस्तै गहिरो र सगरमाथा जस्तै उच्च रहेको" बताएकी थिइन्।

उनले भूपरिवेष्टित नेपाललाई जोडिन चीनले महत्त्वपूर्ण भूमिका खेल्नसक्ने भएकाले सहयोग गर्न आह्वान गरिन्।

नेपालको आह्वान

उनले लुम्बिनीलाई विश्व शान्ति केन्द्र बनाउने प्रयासमा चीनको सहयोग आवश्यक रहेको बताइन्।

भण्डारीले भनिन्, "लुम्बिनीलाई विश्व शान्ति केन्द्र बनाउने हाम्रो प्रयासमा मित्रराष्ट्र चीनको महत्त्वपूर्ण सहयोगको अपेक्षा गरेका छौँ।"

चिनियाँ र नेपाली राष्ट्रपति

तस्बिर स्रोत, RSS

भण्डारीले नेपालले एक चीन नीति अपनाउँदै आएको दोहोर्‍याइन्।

उनले नेपाली जनताले केरुङदेखि काठमाण्डू हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको हेर्न चाहेको बताइन्।

उनले भनिन्, "रेलवेको क्षेत्रमा चीनले हासिल गरेको अत्याधुनिक प्रविधि र चीनसँग उपलब्ध स्रोत र साधनको परिप्रेक्ष्य नेपालीहरूको यो चाहना छिट्टै पूरा हुनेछ भन्ने हाम्रो विश्वास छ।"

रात्रिभोजअघि शनिवार साँझ राष्ट्रपति भवन शीतल निवासमा सी र भण्डारीबीच द्विपक्षीय भेटवार्ता भएको थियो।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले "दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोका विविध पक्षमा छलफल" भएको जनाएका छन्।

उनले जारी गरेको एक वक्तव्यमा "दुवै मुलुकको आपसी सम्बन्धलाई थप मजबुत तुल्याउने विषयमा समेत विस्तृत कुराकानी भएको" उल्लेख छ।

उक्त भेटवार्तामा नेपालका मन्त्रीहरू तथा चीन र नेपालका उच्च अधिकारीहरू पनि सहभागी रहेको उनले जनाएका छन्।

नेपालमा २३ वर्षपछि चीनका राष्ट्रपतिको भ्रमण भएको हो।

चिनियाँ र नेपाली राष्ट्रपति

तस्बिर स्रोत, RSS

यसअघि सन् सन् १९९६ मा चिनियाँ राष्ट्रपति जियाङ जमिनले नेपालको दुईदिने भ्रमण गरेका थिए।

सी भारतको दुईदिने अनौपचारिक भ्रमण सकेर शनिवार नेपाल आइपुगेका हुन्।

उनलाई काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका थिए।

उपलब्धि

नेपालमा बहुप्रतिक्षित चिनियाँ राष्ट्रपतिको यो भ्रमणलाई सरकारको निकै ठूलो उपलब्धिका रूपमा अर्थ्याइएको छ।

अधिकारीहरूका अनुसार सीको राष्ट्रपति भण्डारीसँग भएको भेटवार्तामा दुईपक्षीय हितका विषयमा छलफल भएको छ।

चिनियाँ र नेपाली राष्ट्रपति

तस्बिर स्रोत, RSS

राष्ट्रपति सीले आइतवार बिहान पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्ने बताइएको छ।

आइतवारै प्रधानमन्त्री ओली नेतृत्वको नेपाली र सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलबीच वार्ता र सम्झौताहरू हुनेछन्।

त्यसपछि उनी नेपालको भ्रमण टुङ्ग्याएर स्वदेश फर्कनेछन्।

स्वागत

सीको स्वागतका लागि काठमाण्डूका सडकहरू सिँगारिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सीलाई राखिने सोल्टी होटलसम्मको सडक र राष्ट्रपति निवाससम्म पुग्ने सडकहरूमा स्वागत द्वारहरू बनाइएका छन्।

त्यहाँ दुवै देशका राष्ट्रपतिहरूका तस्बिरहरू सजाइएका छन् भने नेपाल र चीनबीच मित्रता भाव व्यक्त गरिने नाराहरू लेखिएका छन्।

विमानस्थलमा पानीको फोहोरा र ठाउँठाउँमा फूलहरू सजाएको देख्न सकिन्छ।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

नेपाल र चीनका ऐतिहासिक र सांस्कृतिक महत्त्वका स्थलहरूका तस्बिरहरू पनि सडक किनाराका खम्बाहरूमा राखिएका छन् भने दुवै देशका झण्डाहरू फहर्‍याइएका छन्।

विमानस्थलमा सीलाई नेपाली संस्कृति झल्काउने झाँकीहरू प्रस्तुत गरेर स्वागत गरिएको थियो।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

कर्मचारी र सर्वसाधारणहरू सडक किनारामा उभिएर उनको स्वागत गरेका थिए।

विमानस्थलमा उनलाई नेपाली सेनाले सलामी दिएको थियो।

त्यहाँबाट उनी कालिमाटीस्थित सोल्टी होटल पुगेका थिए। त्यसपछि सी दुईपक्षीय भेटका लागि शीतल निवास पुगेका हुन्।

सम्झौता हुने

सीको नेपाल भ्रमणका बेला नेपाल र चीनबीच विभिन्न आर्थिक साझेदारीका विषयमा छलफल र सम्झौताहरू हुने अधिकारीहरूले जानकारी दिएका छन्।

दुई देशबीच पूर्वाधार सञ्जाल विस्तार र आर्थिक लगानीमा वार्ताहरू केन्द्रित हुने उनीहरूको भनाइ छ।

छलफलमा नेपाल र चीन जोड्ने नाकाहरूमा पूर्वाधार विकास र स्तरोन्नतिलाई प्राथमिकता दिइने बताइएको छ।

दुई दिनअघि पूर्व प्रधानमन्त्रीहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले सीसँग "केरूङ-काठमाण्डू रेलमार्ग निर्माणको लगानीको ढाँचाबारे समेत छलफल हुने" बताएको ओलीको सचिवालयद्वारा जारी एक वक्तव्यमा जनाइएको थियो।

नेपालका विभिन्न ठूला आयोजनाहरूका लागि चिनियाँ लगानीबारे सम्झौताहरू गरिने जनाइएको छ।

चीन र नेपाल

तस्बिर स्रोत, RSS

सीको भनाइ

नेपाल भ्रमणको पूर्वसन्ध्यामा चिनियाँ राष्ट्रपति सीले नेपालको सरकारी मुखपत्र गोरखापत्र र द राइजिङ नेपालमा एउटा आलेख लेख्दै नेपाल र चीनको मैत्रीपूर्ण सम्बन्धको व्याख्या गरेका थिए।

त्यसमा उनले "चिनियाँ र नेपाली जनताको सपना र भाग्य सँगै जोडिएको हुँदा यस युगमा हामी दुई देशले आपसी सहयोगलाई सुदृढ पार्दै उज्ज्वल भविष्यका लागि संयुक्त प्रयास गर्नुपर्दछ" भनेका छन्।

उनले त्यसका लागि चीन र नेपालले मिलेर गर्नुपर्ने काम भनेर चारवटा बुँदाहरू पनि उल्लेख गरेका थिए:

  • नेपाल र चीनले रणनीतिक सञ्चारलाई प्रगाढ बनाउनु पर्ने,
  • व्यवहारिक सहयोगको विस्तार गर्ने,
  • जनस्तरीय आदान-प्रदानलाई व्यापक पार्ने र
  • सुरक्षासम्बन्धी सहयोगलाई सुदृढ पार्ने ।

लामो समयपछि चिनियाँ राष्ट्रपतिको नेपालमा भएको भ्रमणलाई विभिन्न राजनीतिक दलका नेताहरूले ऐतिहासिक भएको बताएका छन्।

चिनियाँ र नेपाली राष्ट्रपति

तस्बिर स्रोत, RSS

सत्ताधारी दलका नेतादेखि विपक्षी दलका नेताहरूले सीको भ्रमणलाई 'ठूलो उपलब्धि'का रूपमा अर्थ्याएका छन्।

विपक्षी नेताहरूका भनाइमा यो भ्रमण ऐतिहासिक भएकाले त्यसबाट अधिकतम लाभ लिन सरकारले पहल गर्नुपर्नेछ।

उच्चस्तरीय भ्रमणहरू

सन् २०१२ मा चिनियाँ प्रधानमन्त्रीको सङ्क्षिप्त नेपाल भ्रमणपछि यो पहिलो उच्चस्तरीय भ्रमण हो।

परराष्ट्र मन्त्रालय र नेपाल तथा चीनको सम्बन्धबारे लेखिएका कतिपय पुस्तकहरू अनुसार सन् १९५५ अगस्ट १ मा नेपाल र चीनबीच द्विपक्षीय सम्बन्ध स्थापित भएदेखि हालसम्म, दुई जना राष्ट्रपति, पाँचजना प्रधानमन्त्री र पाँचजना उप-प्रधानमन्त्रीले नेपालको भ्रमण गरेका छन्।

नेपालबाट भने त्यसबेलादेखि हालसम्म राजा, राष्ट्रपति र प्रधानमन्त्री तहमा दुई दर्जनभन्दा बढी पटक चीन भ्रमण भइसकेको छ।

उपराष्ट्रपति र उपप्रधानमन्त्री तहमा पनि धेरै पटक भ्रमण भएको परराष्ट्र मन्त्रालयको विवरणमा देखिन्छ।

चिनियाँ र नेपाली झण्डा

तस्बिर स्रोत, Twitter/MOFA

नेपाल र चीनबीच सन् १९५५ अगस्ट १ मा काठमाण्डूमा दौत्य सम्बन्ध स्थापित भएको हो।

नेपाल र चीनबीच द्विपक्षीय सम्बन्ध स्थापना गर्ने सम्झौतामा नेपालका तर्फबाट तत्कालीन प्रमुख शाही सल्लाहकार सरदार गुञ्जमान सिंह तथा चीनको तर्फबाट राजदूत युआन जोङ्सियाङले हस्ताक्षर गरेका थिए।

नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्ने चीन पाँचौँ देश थियो भने चीनसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्ने नेपाल २२औँ देश बनेको थियो।

दौत्य सम्बन्ध स्थापनापश्चात् दुवै मुलुकले राजदूतावास स्थापना गरेका थिए।

सन् १९५६ सेप्टेम्बरमा नेपालका तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले पहिलो पटक चीनको उच्चस्तरीय भ्रमण गरेका थिए।

टंकप्रसाद आचार्य चीन भ्रमणमा गएका बेला त्यसबेलाका प्रधानमन्त्री चाउ एनलाईलाई नेपाल भ्रमणको निम्तो दिएर फर्केको इतिहासकारहरूले लेखेका छन्।

आचार्यको भ्रमणलगत्तै सन् १९५७ ज्यानुअरी २५ देखि २९ सम्म चिनियाँ प्रधानमन्त्री चाउ एनलाईले नेपाल भ्रमण गरेका थिए।

सन् १९६० एप्रिल २८ मा नेपाल र चीनबीच शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर भएको थियो।

उक्त सन्धिमा नेपालका तर्फबाट बीपी कोइराला र चीनका तर्फबाट चाउ एनलाईले हस्ताक्षर गरेका थिए।

नेपाल र चीनबीच उच्च तहमा भ्रमणहरू निकै हुने गरेका छन्। तर जति मात्रामा नेपाली उच्च अधिकारीहरू चीनको भ्रमणमा जान्छन् त्यस्तै मात्रामा चीनबाट भने भ्रमण हुन नसकेको भन्दै कतिपयले आलोचना गर्ने गरेका छन्।

चीनबाट नेपालमा यसअघि भएका उच्चस्तरीय भ्रमण