स्वीडेन: राजाले राजदरबारबाट नातिनातिनालाई निकाले

तस्बिर स्रोत, ROYAL COURT OF SWEDEN
स्वीडेनका राजाले आफ्ना पाँचजना नातिनातिनालाई राजदरबारबाट निकालिदिएका छन्।
राजा कार्ल १६ औँ गुस्ताफले गरेको निर्णयको अर्थ ती बालबालिकासँग अब रोयल हाइनेसको पद रहने छैन र उनीहरूले आधिकारिक राजकीय जिम्मेवारी निर्वाह गर्नुपर्ने छैन।
उनीहरू राजपरिवारका सदस्य भने रहिरहने छन् र उनीहरूको ड्युक र डचिसको उपाधि कायम रहने छ।
उक्त परिवर्तनले सिंहासनको दाबेदार मानिएका राजाका अन्य दुई नातिनातिनालाई भने असर नपारेको बताइएको छ।
अर्थ
पर्यवेक्षकहरूका अनुसार उक्त कदमले शाही कर्तव्य पालना गर्न राजपरिवारका धेरै सदस्यहरूलाई राख्न जरुरी नरहेको भाव दर्शाएको छ।
स्वीडेनका इतिहासकार डीक ह्यारीसन उक्त निर्णयले राजपरिवारका आधुनिक आवश्यकताहरू पूरा गर्नका लागि लिइएको हुन सक्ने बताउँछन्।

तस्बिर स्रोत, ROYAL COURT OF SWEDEN
उनका अनुसार पछिल्लो सय वर्षमा राजपरिवार सङ्ख्यात्मक हिसाबमा ठूलो हुँदै गएको थियो र त्यति धेरै परिवार सदस्यका लागि खर्च गर्न आवश्यक नरहेको धेरैको मत थियो।
राजदरबारबाट हटाइनुले युवाहरूलाई साधारण जीवन बिताउन अनुमति दिने ह्यारीसन बताँउछन्।








