श्रीलङ्कामा सातवटा पोथी हात्ती मृत फेला, विष हालिएको आशङ्का

खेतमा मृत फेला परेको हात्ती

तस्बिर स्रोत, AFP

श्रीलङ्कामा गत हप्ता सातवटा जङ्गली हात्तीहरू मृत अवस्थामा फेला परेपछि सरकारी अधिकारीहरूले अनुसन्धान सुरु गरेका छन्।

विषका कारण ती हात्तीको मृत्यु भएको आशङ्का गरिएको छ।

हाबारन जङ्गल रिजर्भमा शुक्रवार चारवटा र शनिवार तीनवटा हात्तीका शव फेला परेका थिए।

अधिकारीहरूका अनुसार ती सबै ढोई थिए। तीमध्ये एउटी गर्भिणी भएको बताइएको छ।

वन्यजन्तु निकायका कर्मचारी तथा सुरक्षाकर्मीहरूले उक्त क्षेत्रमा अरू हात्ती पनि मरेका छन् कि भनेर अझै खोजी गरिरहेका छन्।

शवको प्रारम्भिक परीक्षण सुरु भएको छ। के कारणले ती हात्तीको मृत्यु भएको भन्ने स्पष्ट नभए पनि अधिकारीहरूले गाउँलेहरूले अन्नबाली नष्ट गरिदिएको रिसमा विष हालेको हुन सक्ने अनुमान गरेका छन्।

अर्को एउटा वन्यजन्तु आरक्षमा सोमवार अर्को हात्तीको शव फेला परेको छ। यी दुई घटनाबीच सम्बन्ध भए नभएको स्पष्ट छैन।

भिडिओ क्याप्शन सुरु हुँदैछ, श्रीलङ्कामा हात्तीको वितण्डा

श्रीलङ्कामा हात्ती मार्न पाइँदैन। तर ग्रामीण क्षेत्रमा हात्ती र मानिसबीच द्वन्द्व भइरहन्छ।

मानवबस्ती र खेतीपातीका लागि भूमि विस्तार गरिँदा वन्यजन्तुको प्राकृतिक वासस्थान र तिनलाई आहारा तथा पानी खोज्न गाह्रो हुन्छ।

सन् २०११ मा गरिएको हात्ती गणनामा श्रीलङ्कामा हात्तीको सङ्ख्या ५,८७९ देखिएको थियो।