ट्रम्पका प्रतिस्पर्धी जो बाइडनबारे युक्रेनमा अनुसन्धान गर्नु नपर्ने भूतपूर्व अभियोजनकर्ताको भनाइ

ट्रम्प

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, युक्रेनी राष्ट्रपतिसँग ट्रम्प

युक्रेनका भूतपूर्व मुख्य अभियोजनकर्ताले युक्रेनसँग अमेरिकी राष्ट्रपति डोनल्ड ड्रम्पका राजनीतिक प्रतिस्पर्धी जो बाइडनबारे अनुसन्धान गर्नुपर्ने कुनै कारण रहेको नरहेको बीबीसीलाई बताएका छन्।

योरी लुत्सेन्कोका अनुसार जो बाइडन र उनका छोरा हन्टर बाइडनमाथि कुनै अनुसन्धान भए त्यो अमेरिकाबाट सुरु हुनुपर्छ।

उनले भने, "युक्रेनी कानुनअनुसार जो बाइडन र हन्टर बाइडनमाथि अनुसन्धान गर्नुपर्ने कुनै कारण मलाई थाहा छैन।"

बाइडन बावुछोरामाथि युक्रेनमा भ्रष्टाचारसम्बन्धी अनुसन्धान सुरु गराउने प्रयास ट्रम्पले गरेको थाहा भएपछि अमेरिकी संसद्‌मा उनीविरुद्ध महाभियोग लगाउने विषयमा छानबिन हुँदैछ।

आगामी राष्ट्रपतीय निर्वाचनमा डेमक्र्याटिक पार्टीबाट उम्मेदवार बन्ने अनुमान गरिएका जो बाइडनविरुद्ध ट्रम्पले युक्रेनमा भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्न त्यहाँका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई दबाव दिएको आरोप लागेको छ।

ट्रम्पविरुद्ध अनुसन्धान

ह्वाइट हाउसले पछि सार्वजनिक गरेको वार्ताको लिखित प्रतिलिपिमा त्यसलाई पुष्टि गर्ने आधार देखिएको छ।

डेमक्र्याटिक सांसदहरूले ट्रम्पविरुद्ध संसदीय समितिमै अनुसन्धान सुरु गराएका छन्।

जो बाइडन

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, जो बाइडनले राष्ट्रपति पदका लागि निर्वाचनमा प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ

बराक ओबामाका उपराष्ट्रपति बाइडनले आफ्ना छोरा कार्यरत एउटा कम्पनीविरुद्ध अनुसन्धान गरिरहेका युक्रेनका उच्च अभियोजनकर्तालाई पदमुक्त गर्न उक्साउन खोजेको आरोप ट्रम्प र उनका सहयोगीहरूले लगाउने गरेका छन्।

हन्टर बाइडन सन् २०१४ मा युक्रेनको एउटा प्राकृतिक ग्यास कम्पनीका निर्देशक थिए। त्यतिबेला उनका बुवा युक्रेनबारे अमेरिकी नीति हेर्ने मुख्य भूमिकामा थिए।

राजनीति

अहिले जो बाइडन सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनमा ट्रम्पलाई चुनौती दिने डेमक्र्याटिक उम्मेदवारको प्रबल दाबेदार हुन्।

लुत्सेन्को

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, 'हन्टर बाइडनबारे कुनै अनुसन्धान भए त्योअमेरिकामा हुनु्पर्छ'

युक्रेनस्थित बीबीसीका संवादताता जोनाह फिशरसँग कुरा गर्दै योरी लुत्सेन्कोले हन्टर बाइडन कार्यरत उक्त प्राकृतिक ग्यास कम्पनीबारे अनुसन्धान गर्ने कुनै योजना नरहेको बताए।

उनले गत महिना मात्र मुख्य अभियोजनकर्ताको पदबाट अवकाश पाएका हुन्।

उनले हन्टर बाइडनबारे कुनै अनुसन्धान भए त्यो अमेरिकाबाट सुरु हुनुपर्ने बताए। उनले भने, "यो अमेरिकाको अधिकार क्षेत्र हो।"

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका वरिष्ठ सहयोगीहरूले चाहिँ ट्रम्पको व्यवहारको प्रतिरक्षा गर्दै उनका डेमक्र्याटिक प्रतिद्वन्द्वी जो बाइडनको विपक्षमा उभिएका छन्।

डेमक्र्याटहरूले ट्रम्पले बाइडनलाई बदनाम गर्न अवैधानिक रूपमा विदेशी सहयोग लिन खोजेको आरोप लगाएका छन्। जो बाइडन राष्ट्रपति निर्वाचनमा डेमक्र्याटिक दलका तर्फबाट उम्मेदवारहरूको अग्रपङ्क्तिमा छन्।

ट्रम्पको प्रतिरक्षा

ट्रम्पका एक प्रमुख सहयोगी स्टीभन मिलरले युक्रेन प्रकरणका ट्रम्प आफैँ मुख्य उजुरीकर्ता भएको बताएका छन्।

उनले सत्य पत्ता लगाउनु अमेरिकाको राष्ट्रिय हितका पक्षमा भएको बताए।

तर डेमक्र्याट एडम शिफले चाहिँ ट्रम्पले रुसी राष्ट्रपति पुटिन तथा अन्य विश्वनेताहरूसँग गरेका कुराकानीको पनि अनुसन्धान गर्नुपर्ने र त्यसो गरिएमा मात्रै ट्रम्पले राष्ट्रिय सुरक्षालाई बेवास्ता गरेको वा नगरेको थाहा हुने बताएका छन्।

युक्रेनी अधिकारीहरूलाई लगाएर बाइडनको कमीकमजोरी बाहिर ल्याउने ट्रम्पले खोजेपछि प्रतिपक्षी डेमक्र्याटहरूलाई ट्रम्पविरुद्ध महाभियोग लगाउने प्रक्रिया थाल्न ऊर्जा प्रदान गरेको छ।

महाभियोगका लागि छानबिन

जुलाई २५ मा भएको ट्रम्प-जेलोन्स्की फोनवार्ताबारे संसदीय समितिले छानबिन गरिरहेको छ।

गत महिना दर्ता गरिएको एउटा उजुरीमा अमेरिकी गुप्तचर निकायभित्रकै एक गोप्य सूचनादाताले राष्ट्रपतिले आफ्नो पदीय शक्ति प्रयोग गरेर सन् २०२० को निर्वाचनमा विदेशी हस्तक्षेप निम्त्याएको बेहोरा उल्लेख गरेका थिए। त्यसैले यो अतिमहत्त्वको विषय भएको उनको दाबी थियो।

ट्रम्प-जेलोन्स्की संवादबारे ह्वाइट हाउसले सार्वजनिक गरेको टिपोटको खेस्रामा ट्रम्पले नवनियुक्त युक्रेनी राष्ट्रपतिलाई जो बाइडन र उनका छोरा हन्टर बाइडनविरुद्ध लागेको भ्रष्टाचारको आरोपको छानबिन गर्न आग्रह गरेको देखिन्छ।

जुलाईमा ट्रम्पले युक्रेनलाई दिइने सैन्य सहायता रोकिदिएका थिए। त्यही बेला उनले युक्रेनी समकक्षीसँग बाइडन बावुछोरासँग सम्बन्धित कुरा गरे।

तर उनले युक्रेनलाई दबाव दिन त्यसो नगरेको दाबी गरेका छन्।

ट्रम्प

अमेरिकी संविधानअनुसार "देशद्रोह, घुसखोरी वा अन्य ठूला अपराध र मिस्डिमीनर भनिने अलि कम गम्भीर प्रकृतिको अपराधमा" राष्ट्रपतिलाई महाभियोग लगाउन मिल्छ।

संसद्का दुवै सदनबाट महाभियोग पारित भए राष्ट्रपति पदमुक्त हुन्छन्।