हङ्कङ तनाव: चीन सुपुर्दगी गर्न सकिने विधेयक फिर्ता

तस्बिर स्रोत, AFP
हङ्कङकी प्रमुख कार्यकारी क्यारी लामले त्यहाँ महिनौँदेखिको विरोध प्रदर्शनहरूको कारक बनेको सुपुर्दगी सम्बन्धी एक विधेयकलाई फिर्ता लिने बताएकी छन्।
गत एप्रिल महिनामा ल्याइएको उक्त विधेयकमा संदिग्ध अपराधीहरूलाई चीनमा सुपुर्दगी गर्न मिल्ने व्यवस्था प्रस्ताव गरिएको थियो।
गत जुन महिनामा प्रमुख कार्यकारी लामले त्यसलाई 'मृत' भनेपछि उक्त विधेयक निलम्बित भएको थियो तर उनले त्यसलाई फिर्ता नै भने लिएकी थिइनन्।
उक्त विधेयकलाई पूर्ण रूपमा फिर्ता लिइनु पर्छ भन्ने कुरा पूर्ण प्रजातान्त्रिक अधिकारहरूको माग गरिरहेका विरोध प्रदर्शनकारीहरूले राखेका प्रमुख पाँच मागहरूमा पर्दछ।
बुधवार उनले टेलिभिजन सम्बोधन मार्फत त्यस्तो घोषणा गर्दै विरोध प्रदर्शनहरूका क्रममा प्रहरीले गरेको व्यवहारका बारे जारी छानविनमा दुईजना थप वरिष्ठ अधिकारीहरू समावेश हुने घोषणा पनि गरिन्।
प्रदर्शनकारीहरूमाथि प्रहरीले गरेको भनिएको क्रुर व्यवहारका बारे छानविन गरिनु पर्ने कुरा पनि अभियानकर्ताहरूको अर्को माग रहेको थियो।
दोष
सोमवार प्रमुख कार्यकारी लामले हङ्कङको राजनीतिक सङ्कट आफ्नै कारणले गर्दा चर्किएको भन्दै आफैलाई दोष दिँदै गरेको अडिओ रेकर्ड सार्वजनिक भएको थियो।

तस्बिर स्रोत, Reuters
उनले त्यस्तो भद्रगोल सिर्जना हुन गएको काम अक्षम्य भएको पनि बताएकी थिइन्।
गत एप्रिलमा ल्याइएको सुपुर्दगी सम्बन्धी विधेयकको तुरुन्तै आलोचना भएको थियो।
विपक्षीहरू भन्छन् त्यसबाट हङ्कङको कानुनी स्वतन्त्रमा अवरोध उत्पन्न हुनेछ र त्यसको प्रयोग बेइजिंगका आलोचकहरूलाई चुप लगाउन वा तर्साउनका लागि गर्न सकिनेछ।
हङ्कङमा लगातार १४ हप्तासम्म विरोध प्रदर्शनहरू भैरहेका छन् र गत सप्ताहान्तमा मात्रै प्रहरी र अभियानकर्मीहरूबीच पछिल्लो हिंसात्मक भिडन्त भएको थियो।
क्यारी ल्यामको सम्बोधन हुनुभन्दा केही अघि बोल्दै एकजना प्रजातन्त्रसमर्थक अभियानकर्मी जोशुआ वोंगले उक्त विवादास्पद विधेयक फिर्ता लिइने कुनै पनि निर्णय "निकै ढिलो गरी आएको निकै सानो कदम" हुने बताएका थिए।
लश्करै ट्वीट गर्दै उनले विरोध प्रदर्शनकारीहरूका सबै माग पूरा हुनपर्ने बताएका थिए।








