आसाम नागरिकता सूची: 'सूचीमा पहिले श्रीमतीको नाम थिएन, अहिले पूरै परिवारको छैन'

अब्दुल हलीम
तस्बिरको क्याप्शन, अब्दुल हलीम
    • Author, प्रियङ्का दुबे
    • Role, बीबीसी संवाददाता

भारतको पूर्वोत्तर राज्य आसाममा शनिवार जारी गरिएको राष्ट्रिय नागरिक रजिस्टर (एनआरसी) को अन्तिम सूचीमा नाम समाविष्ट नभएका मानिसहरू अहिले चिन्तित भएका छन्।

पैँतालीस वर्षीय अब्दुल हलीम मजुमदारको हातमा कागजको एउटा टुक्रा छ। उनी चिन्तित मुद्रामा देखिन्छन्।

पाँचसदस्यीय उनको परिवारका चार जनाको नाम एनआरसीमा परेन।

आसामको कामरूप जिल्लास्थित टुकडापाडा एनआरसी केन्द्रमा अरू मानिस अब्दुललाई सान्त्वना दिने प्रयास गर्दै थिए।

अघिल्लो साँझ आफूलाई डर लागेको कुरा बताउँदै गर्दा अब्दुलको गला अवरुद्ध भयो।

उनले भने, "सन् २०१७ को डिसेम्बर र २०१८ को जुलाईमा प्रकाशित एनआरसीको मस्यौदा सूचीमा मेरी श्रीमतीको बाहेक परिवारका अरू सबै जनाको नाम थियो। उनको नामबारे गुनासो गरेका थियौँ, हामीले कागपत्र बुझाएका थियौँ।"

"आज बिहान उठ्नासाथ म आत्तिएको र चिन्तित भएको थिएँ। श्रीमतीको नाम छुटेकोमा म बढी चिन्तित थिएँ। अहिले मेरो हातमा एनआरसीले दिएको चारै जनाविरुद्ध अस्वीकृतिपत्र छ। म के गरौँ भन्ने बुझ्न सकिरहेको छैन।"

के आसाम ठूलो मानवीय त्रासदीको सँघारमा छ?

आसाममा शनिवार बिहान १० बजे एनआरसीको नयाँ सूची प्रकाशित गरिएको थियो।

आफ्नो नाम हेर्न आवेदकहरू बिहानैदेखि एनआरसी केन्द्रहरूमा भेला हुन थालके थिए।

साठी वर्षीय मोहम्मद खादिम अली निकै प्रसन्न देखिए। उनको परिवारका सबै छ जनाको नाम एनआरसीमा समाविष्ट छ।

एनआरसीसँग सम्बन्धित कागजपत्र देखाउँदै उनले भने, "लामो समयपछि अन्ततः म अब आरामपूर्वक सास फेर्न सक्छु।"

खादिम अली
तस्बिरको क्याप्शन, खादिम अली

तर खादिम अलीजस्तै सबै भाग्यमानी छैनन्। एनआरसीको अन्तिम सूचीमा आसामका १९ लाखभन्दा बढी मानिसको नाम समाविष्ट छैन।

बीस वर्षीय मोइनउल हकको नाम पनि एनआरसीको अन्तिम सूचीमा छैन। उनी पनि हातमा कागजपत्र बोकेर एनआरसी केन्द्रबाहिर उभिएका थिए।

असिनपसिन देखिएका मोइनउलले आँसु पुछ्दै भने, "मेरो परिवारका सबै छ जनाकै नाम एनआरसीमा छैन।"

नाम समाविष्ट नभएकाहरूको स्थिति के हुन्छ?

अधिकारीहरूका अनुसार एनआरसीमा नाम नभएकाहरूले १२० दिनभित्र अपील गर्न पाउँछन्। तर यसबारे धेरै मान्छे अवगत भइसकेका छैनन्।

सूचीमा नाम नभएकालाई सरकारले कानुनी सहयोग गर्नेछ भन्ने कुरा पनि अधिकांशलाई थाहा भइसकेको अवस्था छैन।

मोइनउल हकसँगै अन्सार अली उभिइरहेका थिए। उनकी श्रीमती रबिया खातुनको नाम एनआरसीमा छैन। अन्सारलाई पनि अब के गर्नुपर्छ र कुन अड्डा जानुपर्छ भन्ने कुरा थाहा छैन।

आसाममा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ। मानिसहरूलाई हल्ला र मिथ्या समाचारलाई विश्वास नगर्न आह्वान गरिएको छ।

आसाम प्रहरी प्रमुख डीजीपी कुलाधर सैकियाले प्रहरीले सामाजिक सञ्जालको गतिविधिमाथि निगरानी गरिरहेको बताएका छन्।

मोइनउल हक
तस्बिरको क्याप्शन, मोइनउल हक

उनले भने, "सामाजिक सञ्जालमार्फत् अफवाह फैलाउन प्रयास गर्ने, घृणायुक्त वा धार्मिक टीकाटिप्पणी गर्नेहरूलाई छुट दिइने छैन।"

आसाम राज्यको गृह विभागका अनुसार विदेशी न्यायाधिकरण नामक विशेष अदालतले विदेशी घोषित नगरेसम्म एनआरसीमा नाम नभएका मानिसहरूलाई विदेशी मानिनेछैन।

साथै त्यति बेलासम्म उनीहरूलाई हिरासतमा पनि नलिइने गृह विभागले स्पष्ट पारेको छ।

सूचीमा नाम नभएकाहरूलाई अपील गर्ने समय ६० दिनबाट बढाएर १२० पुर्‍याइएको छ।

के यो निर्णय पुनरवलोकन हुन सक्छ?

विदेशी न्याधिकरणको फैसलासँग चित्त नबुझेको खण्डमा मानिसहरू त्यसविरुद्ध उच्च अदालत जान पाउनेछन्।

तर अब्दुल हलीमजस्ता मानिसहरूका लागि नागरिकता रजिस्टरबाहिर हुनु कुनै कागजको खोस्टोमा नागरिकताबाट बाहिर हुनुभन्दा बढी छ।

उनको मुहारमा दुःख स्पष्ट देखिन्छ।

उनी भन्छन्, "म आसाममा जन्मिएँ। मेरो बुवा यहीँ जन्मिनुभयो र मेरा बच्चाहरू पनि यहीँ जन्मिए। हामी अहिलेसम्म यहीँ छौँ।"

"म ब्याङ्कमा काम गर्छु र मेरा बच्चाहरू शिक्षित छन्। उनीहरूले जागिर र आफ्नो भविष्यबारे सोच्ने बेला आएको थियो। तर अब हामीले लामो कानुनी लडाइँको तयारी गर्नुपर्ने हुन्छ।"

"म अहिले निकै तनावमा छु। तर मैले आस मारेको छैन। हामी विदेशी न्यायाधिकरण जान्छौँ। मलाई आशा छ हाम्रो नाम समाविष्ट हुनेछ किनकि हामी यहीँका हौँ। हामी यहाँबाट कहाँ जानू?"

एनआरसीमा तीन करोड ११ लाख मानिस समाविष्ट छन्। भारतले अवैध बाङ्ग्लादेशी आप्रवासी छुट्ट्याउन यो प्रक्रिया आवश्यक भएको बताउँदै आएको छ।

यसअघि विदेशी भएको आशङ्कामा दशौँ हजार मानिसलाई पक्राउ गरी राज्यका जेलमा बनाइएका अस्थायी शिविरमा राखिएको छ।