बेन स्टोक्स: टेस्ट क्रिकेटमा पनि अद्भुत प्रदर्शन, विश्वकप फाइनलपछि एशेज शृङ्खलामा पनि 'चमत्कार'

स्टोक्स

तस्बिर स्रोत, Allsport/Getty

"केही मानिसले खेलमा जीवनकै सर्वाधिक महत्त्पूर्ण प्रदर्शन गर्ने केवल एउटा मौका पाउँछन्। स्टोक्सले भने डेढ महिनाभित्र दोस्रो पटक यस्तो प्रदर्शन गरेका छन्।"

बीबीसी स्पोर्टका स्टेफान सेमिल्टले स्टोक्सको धेरैले अद्भुत भनेको आइतवारको प्रदर्शनबारे यस्तो लेखे।

हुन पनि इङ्ग्ल्यान्डमा जारी अस्ट्रेलियासँगको एशेज टेस्ट शृङ्खलामा उनको उक्त प्रदर्शनले खेलको पासा पल्टिएको थियो।

इङ्ग्ल्यान्डको क्रिकेट टोलीले कडा प्रतिस्पर्धाका माझ जारी एशेज शृङ्खलाको तेस्रो खेलमा अनपेक्षित जित हासिल गरेको थियो।

के भयो आइतवारको खेलमा?

सय वर्षभन्दा लामो इतिहास भएको एशेज शृङ्खलामा आइतवार इङ्ग्ल्यान्डसमक्ष अहिलेसम्ममै उसले अन्तिम इनिङ्समा हासिल गर्न सकेकोभन्दा धेरै रन बनाउनुपर्ने चुनौती थियो।

लीड्सको हेडिङ्ले मैदानमा भएको खेलमा इङ्ग्ल्यान्डका ब्याट्सम्यान बेन स्टोक्सले लगभग एक्लो प्रयासमा खेल जिताए।

उनले १३५ रन बटुल्दै जम्मा एक विकेटले अस्ट्रेलियालाई पछि पारिदिए।

उक्त खेलसँगै अब जारी एशेज शृङ्खलामा इङ्ग्ल्यान्ड र अस्ट्रेलियाले एकएक जित आफ्नो पोल्टोमा पारेका छन्। पाँचवटा टेस्ट खेलसहितको शृङ्खलाको पहिलो खेल अस्ट्रेलियाले जितेको थियो भने दोस्रो बराबरीमा रोकियो।

अझै दुईवटा खेल बाँकी छन्।

स्टोक्सको चमत्कार

आइतवार खेल हुनुअगाडि इङ्ग्ल्यान्डले जित्न सक्ला भनेर कमैले ठानेका थिए।

स्टोक्स

तस्बिर स्रोत, AFP/getty

यो खेलको पहिलो इनिङ्समा इङ्ग्ल्यान्डले जम्मा ६७ रन मात्र बटुलेको थियो।

अस्ट्रेलियाले पहिलो इनिङ्समा १७९ रन अनि दोस्रोमा २४६ बनाएको थियो।

त्यसैले इङ्ग्ल्यान्डले खेल जित्न अन्तिम इनिङ्समा ३५९ रन बनाउनुपर्थ्यो।

रनको त्यो परिमाण निकै चुनौतीपूर्ण मानिएको थियो।

हुन पनि कप्तान जो रूटको ७७ र जनी बेरस्टोको ३७ बाहेक अन्य कुनै खेलाडीले खास रन बनाउन सकेनन्।

नौ खेलाडी आउट भइसक्दा मैदानमा स्टोक्स र ज्याक लिच थिए। र, बटुल्नपर्ने बाँकी ७३ रन थियो।

साढे पाँच घण्टा लगातार मैदानमा डटेका स्टोक्सले अविजित १३५ रन बनाए। उनले ११ चौका र ८ छक्का हानेका थिए।

खेलपछि प्रतिक्रिया दिँदै स्टोक्सले भने, "आजको दिन अविश्वसनीय रह्यो। जे भयो त्यो म अझै पूर्ण रूपमा यकीन गर्न सकिरहेको छैन।"

विश्वकप फाइनलको सम्झना

बेन स्टोक्सले आइतवार जस्तो खेल खेले त्यसले डेढ महिना अगाडि इङ्ग्ल्यान्ड र न्यूजील्यान्डबीच भएको विश्वकप क्रिकेट फाइनल खेलको सम्झना ताजा गराइदिएको छ।

त्यतिखेर पनि आइतवार नै भएको खेलमा इङ्ग्ल्यान्डका प्रमुख ब्याट्सम्यानहरू एकपछि अर्को आउट भएपछि स्टोक्सले अविजित ८४ रन प्रहार गरेर खेललाई निर्धारित ५० ओभरमा बराबरीमा पुर्‍याएका थिए।

सुपर ओभरमा स्टोक्सले प्रहार गरेको आठसहित इङ्ग्ल्यान्डले १५ रन बनाएको थियो।

सुपर ओभर पनि बराबरीमा रोकिएपछि खेलको विजेता कुन टोलीले सबभन्दा धेरै चौका छक्का हान्यो भन्नेमा निर्भर हुन पुग्यो।

जसमा बेन स्टोक्सले हानेको दुई छक्कासहित सात बाउन्ड्री रनको योगदान निर्णायक रह्यो।