पानी सङ्कट: काठमाण्डू उपत्यकावासीको तिर्खा मेट्ने यी हुन् तीन सरल उपाय

कीर्तिपुरमा पानी भर्न पालो कुर्दै स्थानीय बासिन्दा

तस्बिर स्रोत, Keshav P. Koirala/BBC

तस्बिरको क्याप्शन, कीर्तिपुरमा पानी भर्न पालो कुर्दै स्थानीय बासिन्दा
    • Author, सुरेन्द्र फुयाल
    • Role, बीबीसी न्यूज नेपाली

निरन्तर जनसङ्ख्या वृद्धि खेपिरहेको काठमाण्डू उपत्यकामा पोहोरपरारजस्तै यो बर्खा याममा पनि पानीको अभाव छ।

सरकारी वितरण प्रणालीमा मनग्गे पानी उपलब्ध नहुँदा धेरै नगरवासीहरू घरमा प्रयोग गर्नको लागि ट्याङ्करको पानी र पिउनको लागि जारको पानी किन्न बाध्य छन्।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार आधारभूत आवश्यकताहरू पूर्ति गरी स्वस्थ रहनका लागि प्रत्येक व्यक्तिलाई दैनिक ५० देखि १०० लिटर पानी आवश्यक पर्छ। पिउने, खाना पकाउने, सरसफाइ गर्ने आदि काममा त्यति पानी आवश्यक पर्छ।

तर नेपालको व्यथा अर्कै छ। पहाडदेखि तराईसम्म धेरै स्थानमा मानिसहरू पानीको अभाव झेल्न बाध्य छन्।

हालै सार्वजनिक एउटा अन्तर्राष्ट्रय प्रतिवेदनअनुसार नेपालको खास गरी पश्चिमी भेगका गाउँ तथा सहरमा पिउने पानीको सङ्कट छ।

सुक्खा याममा काठमाण्डूका कैयौँ भाग पनि काकाकुलजस्तै बन्न पुग्छन्। यो बर्खा याममा काठमाण्डूमा दैनिक ४३ -५० करोड लिटर आवश्यक भए पनि केयूकेलले मुस्किलले १४ करोड लिटर पानी मात्र वितरण गर्न सकिरहेको केयूकेएलका उपमहाप्रबन्धक प्रकाश राईले बीबीसी न्यूज नेपालीलाई बताए।

काठमाण्डूमा पानीको हाहाकार
Keshav P. Koirala/BBC
काठमाण्डूमा पानीको हाहाकार

  • दैनिक माग ४३ करोडदेखि ५० करोड लिटर

  • दैनिक आपूर्तिवर्षामा १३ करोड लिटर, अघिपछि १० करोड लिटर

  • मेलम्चीबाट आउनेदैनिक १७ करोड लिटर

स्रोत: केयूकेल
Presentational white space

राजधानी उपत्यकाको पानीको तिर्खा मेट्न सहयोग गर्ने भनिएको वर्षौँदेखि चर्चामा रहेको मेलम्ची खानेपानी आयोजना अझै अपूरै रहेकोले काठमाण्डूवासीहरू पानीको वैकल्पिक उपाय खोज्न बाध्य भएका हुन्।

तर पानीको क्षेत्रमा कार्यरत अधिकारी तथा विज्ञहरूका अनुसार तीन कुरामा सुधार हुने हो भने काठमाण्डू र अन्य सहरमा पानीको सङ्कट समाधान हुन सक्छ।

१. खानेपानी वितरण प्रणालीको विकास

शिवपुरी निकुञ्जभित्र एक खोला

तस्बिर स्रोत, Surendra Phuyal/BBC

खानेपानीको स्रोतको पहिचान गरी प्राकृतिक मुहाननजिकै जलाशयहरू निर्माण गरेर खानेपानीको वितरण प्रणाली बनाइएको हुन्छ। काठमाण्डूमा शिवपुरी र नागार्जुनजस्ता पहाडी क्षेत्रका नदीनालाका बनाइएका मुहानबाट पानी सङ्कलन गर्दै वितरण प्रणालीको विकास गरिएको छ।

तर त्यो अपर्याप्त भएपछि काठमाण्डूदेखि उत्तरपूर्वमा अवस्थित मेलम्ची उपत्यकाबाट सुरुङ खनेर पानी ल्याउने विकल्प अघि सारिएको हो।

त्यो परियोजनाबाट पहिलो चरणमा १७ करोड लिटर राजधानी झार्ने योजना सन् २००७ मै पूरा गर्ने योजना थियो।

त्यसपछि अर्को चरणमा मेलम्चीदेखि पूर्वको याङ्ग्रीबाट १७ करोड लिटर अर्को चरणमा लार्केबाट १७ करोड लिटर गरी कुल ५१ करोड लिटर काठमाण्डू ल्याउने योजना सन् २०१८ मा पूरा गर्ने योजना थियो।

त्यो अहिलेसम्म विफल रहेकोले पानी सङ्कट कायमै छ।

२. बर्खाको पानी सङ्कलन

असारदेखि भदौ र असोजको सुरुसम्मको अवधिभित्र नेपालमा प्रशस्त मनसुनी वर्षा हुने गर्छ।

शिवपुरी निकुञ्जभित्रको एक मानवनिर्मित जलासय

तस्बिर स्रोत, Surendra Phuyal/BBC

अरू बेला भने नेपाल लगभग सुक्खाजस्तै हुन्छ। बर्खा याममा धेरै पानी पर्दा बाढी, पहिरो र डुबान पनि हुने गर्छ। विज्ञहरूका अनुसार काठमाण्डूका वार्षिक रूपमा औसतमा १,६०० मिलिमिटर पानी पर्छ।

"त्यसरी पर्ने पानीलाई मानिसले घरघर र टोलटोलमा सङ्कलन गर्न थाल्ने हो भने धेरै पानी जम्मा गर्न सकिन्छ," जलाधारविद् मधुकर उपाध्याले बीबीसी न्यूज नेपालीसँग भने।

"तर त्यसरी बर्खाको पानी सङ्कलन (रेन वाटर हार्भेस्ट) गर्ने क्रम हामी कहाँ सुरु भइसकेको छैन। सायद मानिसहरूले पानीबारे धेरै सोच्न समय नपाएकोले होला।"

बर्खाको पानी अझै ठूलो स्तरमा सङ्कलन गर्ने हो भने त ठूलो जलाशय नै बन्न सक्छ।

कुलेखानीस्थित इन्द्र सरोवर

तस्बिर स्रोत, Surendra Phuyal/BBC

तस्बिरको क्याप्शन, बर्खाको पानी सङ्कलन गरी बनाइएको इन्द्र सरोवरबाट बिजुली समेत निकाल्ने गरिएको छ।

काठमाण्डूदेखि दक्षिणपश्चिममा अवस्थित मकवानपुरको टिस्टुङ र पालुङ क्षेत्रबाट बग्ने नदीमा बाँध बनाएर निर्माण गरिएको कुलेखानीस्थित इन्द्र सरोवर त्यसको राम्रो उदाहरण हुन सक्छ।

त्यहाँ विद्युत्‌गृह पनि बनाइएको छ। त्यहाँबाट साँझपख उत्पादन गरिने बिजुलीले राजधानी र अन्य सहरमा अन्धकार हटाउन सघाउ पुर्‍याउँदै आएको छ।

बगेर खेर जाने बर्खाको पानी कुलेखानीकै ढाँचामा सङ्कलन गर्दै जलाशयहरू निर्माण गर्ने हो भने पानी र ऊर्जा समेतको अभाव कम गर्न धेरै सहयोग पुग्ने विज्ञहरूको मत छ।

त्यसरी बनाइएका पोखरी र जलाशयले जमिनमुनिको पानीको स्रोतलाई रिचार्ज अर्थात् पुनर्भरण गर्न पनि सहयोग पुग्ने उनीहरू बताउँछन्।

त्यही तथ्यलाई दृष्टिगत गरेर काठमाण्डू उपत्यका खानेपानी विकास बोर्डले उपत्यकावरपर नागमती (वाग्मतीको सहायक नदी), महादेवखोला (भक्तपुर), ठोस्ने (ललितपुर) र सिस्नेरी (मकवानपुर) जस्ता स्थानमा पानी सङ्कलन गर्ने पोखरीहरू निर्माण गर्ने योजना बनाइसकेको बोर्डका कार्यकारी निर्देशक सञ्जीव राणाले बताए।

३. भूमिगत जलस्रोतको पुनर्भरण (ग्राउन्डवाटर रिचार्ज)

आफ्नो घरनजिकै खोला, तालतलैया, ढुङ्गेधारा वा कुवाजस्ता पानीको परम्परागत स्रोत नहुँदा मानिसले पानी पाउन विगतमा के गर्थे होला?

जलाधारविद् मधुकर उपाध्या भन्छन्, "पानीको कुनै स्रोत नभेटिएपछि मानिसले आफ्नै घरबाहिर इनार खन्ने गर्थे र अहिले पनि प्राय: त्यसै गरिन्छ।"

"तर हिजोआज काठमाण्डूमा हाम्रो आँगनमा इनार खन्दा पानी नआउने भइसकेको छ।"

उदाहरणको लागि, पानी सङ्कटग्रस्त काठमाण्डू उपत्यकामा पनि वितरण प्रणालीबाट पानी आउने क्रम घट्न थालेपछि मानिसहरूले घरघरमा इनार खन्न थाले। तर निकै गहिरो इनार खन्दा पनि पानी आउन छोडेपछि मानिसहरूले सयौँ फीट गहिरो इनार खनेर मोटरको सहायताले पानी तान्न थालिसकेका छन्।

विज्ञहरूका अनुसार त्यसरी पानी तान्ने क्रम बढेपछि भूमिगत जलसतह निकै तल गएको छ जसका कारण भूगर्भमै असर पर्ने र त्यसका कारण मानवबस्ती नै जोखिममा पर्ने चिन्ता बढिरहेको छ।

खेर गइरहेको बर्खाको पानी

तस्बिर स्रोत, Surendra Phuyal/BBC

त्यस्तो जोखिमलाई कम गर्दै भूमिगत पानीको भण्डार पुनर्भरण गर्न काठमाण्डू महानगरपालिकाले हालै 'रिचार्ज काठमाण्डू' नामक अभियान थाल्दै नगरवासीलाई आकासेपानी जमिनमा अवशोषण हुने गरी संरचनाहरू निर्माण गर्न आग्रह गरिरहेको छ।

विज्ञहरूका अनुसार घर, आँगन र चोकमा सिमेन्टको प्रयोग गरी जमिन छोप्नेगरी संरचना बनाइँदा आकासेपानी भुइँभित्र जान पाउँदैन र अवशोषण हुन पाउँदैन।

सन् २००८ मा स्मार्टपानी नामक संस्थाका टाइलर म्याकमोहनले गरेको एउटा अध्ययनअनुसार सिमेन्ट र अन्य प्रयोग गरी बनाइएका संरचनाले जमिन छोप्ने क्रम बढेकाले हरेक वर्ष काठमाण्डू उपत्यकामा मात्रै ५० अर्ब लिटरभन्दा बढी बर्खाको पानी जमिनमा सोसिन पाइरहेको छैन।

उपाध्या भन्छन्, "भूमिगत पानी पुनर्भरण (जमिन मुनिको पानी रिचार्ज) गर्ने हो भने हामीले घरघरमा प्रयोग गरेर खेर जाने पानीलाई ढलमा पुग्नै दिनुहुँदैन। त्यो पानीलाई आफ्नै बारी वा बगैँचामा छोडेर जमिनलाई सोस्न छोडिदिनुपर्छ। यदि सबै नगरवासीले त्यसो गर्न थाल्ने हो भने जमिनमुनिको पानीको भण्डार रित्तिन पाउँदैन।"

उनी भन्छन्, "पानी सङ्कट कम गर्ने यस्ता सरल उपाय देशमा पानीको सङ्कट भोगिरहेका पूर्व र पश्चिम सबैतिर व्यक्तिव्यक्ति र समुदायहरूलाई सिकाउनुपर्छ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, के तपाईँलाई पानीबारे सबै कुरा थाहा छ?