ह्वावेई विवाद: अन्यत्र प्रतिबन्ध, नेपालमा स्मार्टफोनबारे सोधखोज बढी

तस्बिर स्रोत, Getty Images
अमेरिकासहित कतिपय पश्चिमा देशहरूले लगाएका विभिन्न प्रतिबन्धका कारण नेपालमा चिनियाँ प्रविधि कम्पनी ह्वावेईका स्मार्टफोनबारे चासो बढ्न थालेको व्यवसायीहरूले बताएका छन्।
अन्यत्र ह्वावेईलाई प्रतिबन्ध लगाइएको समाचार आउन थालेपछि राजधानी काठमाण्डूस्थित मोबाइल पसलहरूमा ह्वावेईबारे जिज्ञासा लिएर आउने ग्राहकको सङ्ख्या वृद्धि भएको विक्रेताहरू बताउँछन्।
ह्वावेईबारे चासो राख्ने ग्राहकको सङ्ख्या ह्वात्तै बढे पनि विक्रीमा चाहिँ खासै प्रभावन नपरेको उनीहरूको भनाइ छ।
ह्वावेईका उपकरण प्रयोग गरिरहेका दूरसञ्चार कम्पनीहरूले भने अमेरिका र अन्य देशहरूले चालेको उक्त कदमलाई 'व्यापार युद्धको भाग' भन्दै ह्वावेईसँगको सहकार्य जारी राख्ने जनाएका छन्।
विक्री
ह्वावेईको नेपालस्थित आधिकारिक विक्रेता कल मोबिलिटी प्रालिका विक्री प्रमुख रोशन न्यौपानेका अनुसार अन्तर्राष्ट्रिय रूपमा ह्वावेईसम्बन्धी विवाद चुलिएपछि गएको एक महिना विक्री केही कम भएको जानकारी दिए।
तर हाल उक्त स्थितिमा सुधार भइसकेको उनको दाबी छ।
उनले भने, "मे १६ देखि जुन १६ को तथ्याङ्कले नेपालमा ह्वावेई फोनको विक्री करिब ३० प्रतिशतले घटेको देखिएको थियो। तर जुन १६ पछिको तथ्याङ्क हेर्दा फेरि पहिलेकै दाँजोमा विक्री भएको देखिन्छ।"

न्यौपानेले ह्वावेईसँगको सहकार्यमा उक्त कम्पनीले विक्री गरिएका कुनै पनि फोनमा फेसबुक, इन्टाग्राम, ह्वाट्सएप, गुगल आदि एप नचलेमा ग्राहकसँग लिइएको सबै रकम फिर्ता गर्ने निर्णय गरेपछि विक्री बढेको बताए।
उनले भने, "हामीलेजस्तै योजना फिलिपिन्स र बाङ्ग्लादेशमा पनि ल्याइएको छ। त्यसले ग्राहकमा विश्वास बढेको छ।"
ह्वावेईसम्बन्धी खबर धेरै आउन थालेपछि विशेषगरी मध्यम वर्गीय ग्राहकले धेरै चासो देखाउन थालेको उनले बताए।
चासो
न्यौपाने भन्छन्, "पहिले बजारमा १० जना ग्राहक आउँदा दुई जनाले ह्वावेईबारे सोध्थे र फोन किन्थे। तर अहिले १० जनामा सबैले सोध्ने गर्छन्। किन्ने चाहिँ दुई जना नै हुन्छन्।"
नेपाल मोबाइल व्यवसायी सङ्घका अध्यक्ष पुरुषोत्तम बस्नेत पनि पहिले ह्वावेईबारे धेरै जानकारी नभएका ग्राहकहरूले अहिले चासो व्यक्त गर्न थालेको बताउँछन्।
उनी भन्छन्, "पहिले ह्वावेईबारे जानकारी नभएका मानिसहरूले अहिले धेरै चासो व्यक्त गरेको देखिन्छ। त्यस्तोमा मध्यम वर्गका ग्राहक धेरै छन्। १०/१२ हजार रूपैयाँसम्मका स्मार्टफोन खोज्नेहरूले त्यो कम्पनीमा चासो राख्छन्।"
कम्पनीले एप नचले रकम फिर्ता गर्ने निर्णय गरेपछि ग्राहकमा रहेको अविश्वास कम भएको उनको दाबी छ।

तस्बिर स्रोत, PA

ग्राहक के भन्छन्
ह्वावेई फोन प्रयोकर्ताहरू ह्वावेईका उत्पादन बारे विवाद सुरु हुँदा केहि चिन्ता लागे पनि हाल भने खासै वास्ता लाग्छ छाडेको बताउँछन्।
हालै एक लाख रुपैयाँ भन्दा बढी मूल्य पर्ने ह्वावेईको 'मेट-२० प्रो' स्मार्टफोन किनेका बूढानीलकण्ठका दीपेन्द्र चौलागाईँले सुरुमा केही चिन्ता लागे पनि अहिले भने त्यस्तो चिन्ता नलागेको बताए।
उनले भने, "यो त चीन र अमेरिका बीचको व्यापार युद्ध पो रहेछ त! ह्वावेईजस्तो ठूलो कम्पनीले त्यत्तिकै आफ्ना फोन कहाँ छाड्छ र?"

तस्बिर स्रोत, AFP
ह्वावेईका उपकरण प्रयोग गरिरहेका नेपाली कम्पनीले पनि हालसम्म उसका उपकरण प्रयोग नगर्ने निर्णय गरेका छैनन्।
उनीहरूले केही पश्चिमा देशहरूमा ह्वावेईमाथि गरिएका कारबाही र प्रतिबन्धहरूलाई 'व्यापार युद्ध'को रूपमा मात्र हेरेको बताए।
उपकरण प्रयोग
आफ्ना धेरै प्रणालीमा ह्वावेईकै उपकरण प्रयोग गरिसकेको र चौथो पुस्ताको मोबाइल सेवा अर्थात् फोरजी विस्तारका लागि पनि उसैका उपकरण प्रयोग गरिरहेको नेपाल टेलिकमले पनि ह्वावेईसँग सहकार्य जारी राख्ने जनाएको छ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीका अनुसार ह्वावेईका प्रतिनिधिहरूले उनीहरूलाई सेवामा कुनै पनि नकारात्मक असर नपर्ने प्रतिबद्धता जनाएका छन्।
अधिकारीले भने, "यो महाशक्ति राष्ट्रहरूबीचको प्रविधियुद्ध हो। केहीबाहेक ठूला र शक्तिशाली राष्ट्रले पनि उसको प्रविधि प्रयोग गरिरहेका छन्।"
"हामीलाई ह्वावेईका प्रतिनिधिहरूले कुनै पनि नकारात्मक असर पर्दैन भनेर आश्वस्त तुल्याएका छन्।"
नेपालका प्राय: सबैजसो दूरसञ्चार कम्पनीहरूले ह्वावेईका उपकरण प्रयोग गरिरहेका छन्।
उनीहरूले आगामी दिनमा पनि उसैका उपकरण प्रयोग गर्ने भन्दै सम्झौता समेत गरिसकेका छन्।

तस्बिर स्रोत, Getty Images
विवाद
चिनियाँ कम्पनी ह्वावेई थुप्रै ठाउँमा विवादमा परेपनि हालसम्म नेपालमा भने उसबारे कुनै पनि विवाद सिर्जना भएको छैन।
उक्त कम्पनीलाई आफ्नो प्रविधि प्रयोग गरेर मानिसहरूको गुप्तचरी गरिरहेको आरोप लाग्ने गरेको छ। तर ह्वावेईले त्यस्ता आरोप पूर्ण रूपमा अस्वीकार गर्दै आएको छ।
सुरक्षाको चासोका कारण ह्वावेईमाथिको विश्वास घट्दो छ।
अमेरिकी सरकारको निर्णयका कारण गुगलले ह्वावेईका आगामी फोनहरूमा आफ्नो अपरेटिङ प्रणाली उपलब्ध नगराउने भएपछि त्यसको असर विश्वभरि नै देखिन थालेको बताइन्छ।
तर अहिलेको अवस्था हेर्दा नेपालमा भने ह्वावेईको बजारमा खासै असर नपर्ने देखिएको विक्रेता र प्रयोगकर्यताहरूको धारणा छ।



















