समुद्री आँधी 'वायु': अरब सागरमा आँधी बन्दा नेपालमा मनसुन ढिलो, अरू प्रभाव कस्ता?

समुद्र

तस्बिर स्रोत, Reuters

    • Author, केशव कोइराला
    • Role, बीबीसी नेपाली सेवा

अरब सागरमा विकसित भएर पश्चिम भारतको तटीय क्षेत्रतिर अघि बढेको एउटा शक्तिशाली समुद्री आँधीका कारण नेपालमा अप्रत्यक्ष मौसमी प्रभाव परेको मौसमविद्हरूले बताएका छन्।

'वायु' नाम दिइएको उक्त आँधीले बाटो फेरेर पुन: अरब सागरतिर फर्किएको छ।

अरब सागरमा उक्त समुद्री आँधी विकसित भएकाले मनसुन पछि धकेलिएको मौसम पूर्वानुमान महाशाखामा कार्यरत मौसमविद् वरुण पौडेलले बीबीसी नेपाली सेवालाई बताएका छन्।

आँधी बिहीवार गुजरात राज्यको तटमा बज्रिने अनुमान गरिएको थियो।

आँधीको प्रभावबाट जोगाउन झन्डै तीन लाख मानिसलाई सुरक्षित स्थानतिर सारिएको थियो।

कसरी मनसुन पर धकेलियो?

नेपालमा प्राय: जुन १० देखि मनसुनी वर्षा सुरु हुन्छ।

त्यसका लागि बङ्गालको खाडी हुँदै पूर्वी क्षेत्रबाट धेरै जलवाष्पयुक्त बादल प्रवेश गर्नुपर्छ।

तर अरब सागरमा केही दिनअघि बन्न थालेको आँधीले यसपालि पूरै भारतीय उपमहाद्वीपको मनसुनी प्रक्रियालाई बिथोलिदिएको मौसमविद्हरूले बताएका छन्।

मौसमविद् पौडेल भन्छन्, "अरब सागरमा आँधी बन्न थाल्दा जलवाष्प पनि त्यतै केन्द्रित भयो।"

गुजरात

तस्बिर स्रोत, Reuters

अर्थात् बङ्गालको खाडीतिर मनसुनको बादल राम्ररी विकसित हुन सकेन र वर्षा सुरु हुन ढिलो हुने भयो।

मौसमविद्हरूका अनुसार समुद्री आँधी 'वायु' को प्रभाव सकिएपछि मात्र फेरि मनसुनी प्रक्रिया सुरु हुनेछ।

हिजोआज भइरहेको वर्षा चाहिँ 'प्रिमनसुन' गतिविधिका कारण स्थानीय रूपमा भएको हो।

नेपालमा कस्तो प्रभाव पर्ला?

नेपालमा मनसुन ढिलो हुँदा आकाशेखेती हुने ठाउँमा रोपाइँ गर्न ढिलो हुनेछ।

त्यसबाट कृषि उत्पादनमा पनि प्रभाव पर्न सक्छ।

बिहीवार बिहान भारतको गुजरात राज्यको तटीय क्षेत्रनजिकै आइपुग्ने अनुमान गरिएको आँधीले बाटो फेर्‍यो।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

अब उत्तर भारत र नेपालमा खासै प्रभाव पर्ने देखिँदैन।

तर प्रत्यक्ष असर नपरे पनि सो समुद्री आँधीको बाहिरी बादल नेपाली आकाशमा पनि आइपुगेको हुँदा नेपालको पश्चिमी क्षेत्रमा केही असर देखा पर्ने पौडेल बताउँछन्।

यार्सागुम्बा टिप्ने ठाउँमा के होला?

'वायु'को बाहिरी बादलका कारण सुदूरपश्चिममा सामान्य बदली र हल्का वर्ष हुन सक्ने तथा उच्च हिमाली भेगमा पनि हल्का हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाको भनाइ थियो।

जाजरकोट यार्सागुम्बा

तस्बिर स्रोत, Rss

यतिखेर सुदूरपश्चिम र पश्चिम नेपालका हिमाली भेगमा सयौँको सङ्ख्यामा मानिसहरू यार्सागुम्बा टिप्न भेला भएका छन्। तिनमा बालबालिका पनि छन्।

हिमपातको सम्भावना भएकाले यार्सागुम्बा सङ्कलन गर्न गएका मानिसहरू सतर्क हुनुपर्ने देखिन्छ।

पौडेल भन्छन्, "हिमपात हुने समयमा ओर्लिएर शनिवारसम्म सुरक्षित बस्दा राम्रो हुन्छ।"

गत मे महिनाको पहिलो हप्ता बङ्गालको खाडीमा बनेको समुद्री आँधी फणीको आंशिक प्रभाव नेपालमा पनि देखिएको थियो।

फणी र पश्चिमी वायुको असरका कारण हिमाली क्षेत्रमा हावाहुरी चलेको तथा हिमपात भएको थियो।

सगरमाथा क्षेत्रमा हावाहुरीका कारण केही दिन पर्वतारोहणको काम स्थगित भएको थियो।

सन् २०१४ मा समुद्री आँधी हुदहुदका कारण नेपालको हिमाली क्षेत्रमा ठूलो हिमपात भएको थियो।

हिमपात तथा हिमपहिरोका कारण कम्तीमा तीन दर्जन व्यक्तिको मृत्यु भएको थियो भने चार सय जनाभन्दा बढीलाई जीवितै उद्धार गरिएको थियो।