माली नरसंहार: डोगोन जातिको गाउँमा 'एक सय जनाको हत्या, कसरी भयो घटना?

माली

तस्बिर स्रोत, Getty Images

डोगोन जातिको बसोबास भएको मालीको मध्य भागस्थित एउटा गाउँमा भएको एउटा आक्रमणमा झन्डै एक सयजना मानिस मारिएको अधिकारीहरूले बताएका छन्।

उक्त आक्रमण मोप्ती क्षेत्रको साङ सहरनजिकै सोबामे दा भन्ने स्थानमा भएको हो।

अरू शव खोजिँदैछ। तर अधिकारीहरूले ९५ वटा शव भेटिएको बताएका छन्।

तीमध्ये अधिकांश शव जलाइएको अवस्थामा भेटिएका थिए।

मालीस्थित संयुक्त राष्ट्रसङ्घीय शान्ति अभियानले घटना भएको स्थानमा पुन: आक्रमण नहोस् भनेर हवाई सहायता पठाएको छ।

राष्ट्रसङ्घीय मानवाधिकार पर्यवेक्षकहरूको एउटा समूहले पनि सो नरसंहारको अनुसन्धान गर्न माली सरकारलाई सघाइरहेको छ।

केही समययता मालीमा आक्रमणका घटनाहरू भएका छन्। तीमध्ये केही दुई जातिबीच भएको द्वन्द्वका कारण भएका हुन्। केही आक्रमणमा जिहादी समूहहरू पनि संलग्न भएको पाइएको छ।

मालीमा सिकार गर्ने डोगोन समुदाय र अर्धघुमन्ते गोठालाहरूको फुलानी समुदाय बीच बारम्बार सङ्घर्ष हुने गरेको छ।

के भन्छ सरकार?

मालीको सरकारले "सन्दिग्ध आतङ्ककारी"ले उक्त गाउँमा स्थानीय समयानुसार झन्डै ३ बजेतिर आक्रमण गरेको बताएको छ।

उसका अनुसार १९ व्यक्ति अझै हराइरहेका छन्।

नरसंहारको समाचार आएपछि मालीका राष्ट्रपति इब्राहिम बुबकार काइटा स्विट्जरल्यान्ड भ्रमण छोट्याएर स्वदेश फर्कन लागेको बीबीसी अफ्रिकाले जनाएको छ।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

Presentational white space

प्रतिशोधको चक्रले देश नचल्ने टिप्पणी गर्दै उनले सबै मालीवासीलाई एकताका लागि आह्वान गरेका छन्।

ट्विटरमा एउटा सन्देश लेख्दै उनले सो "नृशंस घटना" को भन्दै निन्दा गरेका छन र कुनै पनि रूपमा त्यसलाई उचित ठहर्‍याउन नसकिने बताएका छन्। उनले सबै नागरिकलाई उत्तरदायी बन्न र अब थप हिंसामा नअल्झिन आग्रह गरेका छन्।

कसरी भयो आक्रमण?

बान्कास नगरका प्रमुखले समाचारसंस्था रोएटर्सलाई रात परेपछि सो क्षेत्रमा बस्ने फुलानी समुदायले सोबाने-कोऊमा आक्रमण गरेको बताएका छन्।

"झन्डै ५० जना सशस्त्र मानिसहरू मोटरसाइकल र पिकअपमा आएका थिए," उक्त घटनामा बाँचेका अमादु टोगो नामक व्यक्तिले एएफफीलाई भनेका छन्, "पहिले उनीहरूले गाउँ घेरे अनि आक्रमण गरे। भाग्न खोज्नेहरू पनि मारिए। महिला, बालबालिका, वृद्धवृद्धा कसैलाई पनि छाडिएन।"

कुनै पनि समूहले आधिकारिक रूपमा उक्त आक्रमणको जिम्मेवारी लिएको छैन।

"अहिले ९५ जना सर्वसाधारणहरू मारिएका छन्। शवहरू जलाइएका छन्, हामी अरू शव खोजिरहेका छौँ," एक अधिकारीले एएफपीलाई भनेका छन्।

डोगोन र फुलानीबीच किन द्वन्द्व?

डोगोन समुदाय धेरै शताब्दीदेखि मध्य मालीमा पराम्परागत जीवनशैली अनुसरण गरेर बसोबास गर्दै आएको छ। सो समुदायका मानिसहरू एकै ठाउँमा बस्ने कृषक हुन्।

डोगोन समुदायका मानिस

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, डोगोन समुदायका मानिस

फुलानी समुदायका धेरै मानिसहरू अर्धफिरन्ते गोठाला हुन्। उनीहरू विशेषत: पश्चिम अफ्रिकाको ठूलो क्षेत्रमा विचरण गर्ने गर्छन्।

प्राकृतिक स्रोतका लागि कृषक र फिरन्ते गोठाला समुदायबीच लामो समयदेखि सङ्घर्ष चल्दै आएको छ।

सन् २०१२ मा उत्तरी मालीमा इस्लामिक समूहले सशस्त्र विद्रोह सुरु गरेपछि द्वन्द्व चर्किएको छ।

Presentational grey line

यो पनि पढ्नुहोस्

Presentational grey line

अशान्तिबीच दुवै समुदायले एकअर्कालाई आक्रमणको आरोप लगाउने गरेका छन्।

अधिकांश फुलानीहरू इस्लाम धर्म मान्छन्। त्यसैले सो समुदायलाई इस्लामिक विद्रोहीसँग सम्बन्ध रहेको आरोप लाग्ने गरेको छ।

तर फुलानीहरूले डोगोन समुदायको एउटा सङ्गठनले आफूलाई आक्रमण गर्ने गरेको आरोप लगाउने गरेका छन्।

के यो आक्रमण अस्वाभाविक हो?

यो आक्रमणमा सोबामे दामा बस्ने एकतिहाइ मानिस मारिएका छन्।

फुलानी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अर्धफिरन्ते फुलानी समुदायका मानिसहरू गाईवस्तु पाल्छन्

त्यही क्षेत्रमा गएको मार्च महिनामा परम्परागत डोगोन पहिरन लगाएका सशस्त्र आक्रमणकारीबाट एक सय ३० जनाभन्दा बढी फुलानीहरूको हत्या भएको थियो।

उक्त आक्रमणपछि डोगोनहरूको 'डान ना अम्बास्सागो' नामक सङ्गठनलाई माली सरकारले प्रतिबन्ध लगाएको छ।

डोगोन समुदायले उक्त सङ्गठन आफ्नो आत्मरक्षात्मक समूह भएको र ती हत्यामा आफ्नो कुनै संलग्नता नरहेको र आफूहरूसँग हतियार पनि नभएको दाबी गर्दै आएको छ।

मालीस्थित संयुक्त राष्ट्रसङ्घीय नियोगले मे ३१ को मितिमा जारी गरेको एउटा प्रतिवेदनमा मध्य मालीको अवस्था "लगातार रूपमा बिग्रँदै गएको" उल्लेख गरेको छ।