शाही शिशु: मेगनले छोरालाई जन्म दिएको ह्यारीको घोषणा

शाही परिवार
तस्बिरको क्याप्शन, राजकुमार ह्यारी र मेगन मर्केल

ड्यूक एण्ड डचेज अफ ससेक्सको विवाह भएको ११ महिनामा उनीहरूको पहिलो बच्चा छोरा जन्मिएको छ।

राजकुमार ह्यारीले आफूहरू दुवैजना एकदमै खुसी भएको भन्दै मेगन गर्भवती हुँदा सर्वसाधारणले देखाएको समर्थनका लागि धन्यवाद दिएका छन्।

उनले मेगन मार्कल र बच्चा राम्रो स्वस्थ्य अवस्थामा भएको बताएका छन्।

उनले नवजात शिशुको नामबारे अझै पनि सोचिरहेको बताएका छन्।

कौतुहल

स्थानीय समय अनुसार बच्चाको जन्म ५ बजेर २६ मिनेटमा सोमवार भएको हो।

बकिङ्घम राजदरबारका अनुसार बच्चाको तौल ३ दशमलव २ किलोग्राम रहेको छ भने बच्चा जन्मँदा ड्यूक अफ ससेक्स उपस्थित थिए।

अहिले जन्मिएका शाही शिशु महारानीका आठौँ पनाति हुन्।

आफ्नो छोराको जन्मपछि बोल्दै राजकुमार ह्यारीले आफूले सम्भवत: कल्पनै नगरेको सुखद अनुभूति भएको बताएका छन्।

अहिले जन्मिएका यी बालक कहिले जन्मिने भन्नेमै धेरैलाई कौतुहलता थियो।

मेगनले अलि बढी खुलासा गर्दै बच्चा एप्रिलको अन्त्य वा मे महिनाको सुरुमा जन्मिने बताएकी थिइन्।

शाही विवाह

तस्बिर स्रोत, Reuters

जन्मनुअघि छोरा हो कि छोरी भन्नेबारे निकै अड्कलबाजीहरू भएका थिए।

ह्यारी र मेगनको जोडीले यसबारे पत्ता लगाएका थिए कि थिएनन् स्पष्ट थिएन, तर उनीहरूले यदि लगाएकै भए पनि आममानिसको जानकारीमा चाहिँ आएको थिएन।

मेर्सिसाइडमा गत ज्यानुअरीमा भएको शाही भ्रमणका बेला आफ्ना शुभचिन्तकमाझ मेगनले बच्चा छोरा हो कि छोरी भन्ने आफूहरूलाई पनि थाहा नभएको बताएकी थिइन्।

तर बाजी थाप्ने प्रशंसकहरूले चाहिँ आफूसँग जवाफ भएको र त्यो छोरी नै हो भन्ने थियो।