'हामी निकै चाँडै एकअर्काको प्रेममा पर्यौँ'

तस्बिर स्रोत, Reuters
ब्रिटेनका राजकुमार ह्यारीले आफ्नी प्रेमिका अमेरिकी अभिनेत्री मेगन मार्कलसँग भेट हुनुअघि उनले खेलेका टेलिचलचित्र कहिल्यै नहेरेको र उनका बारेमा पनि केही थाहा नपाएको खुलासा गरेका छन्।
आउँदो बसन्त याममा राजकुमार ह्यारी र मेगनबीच बिहे हुने घोषणा भएपछि दिइएको पहिलो अन्तर्वार्तामा बीबीसीसँग कुरा गर्दै ह्यारीले झण्डै डेढ वर्षअघि एकजना साझा साथीमार्फत आफ्नी भावी श्रीमतीसँग भेट भएको बताए।
तर ती साथीको नाम भने उनले खुलाएनन्।
"हामी निकै चाँडै एकअर्काको प्रेममा पर्यौँ र त्यो शायद हाम्रो ग्रहदशा मिलेको प्रमाण पनि थियो," उनले भने।
घनिष्ठ
"सुन्दर मार्कल चिप्लिइन् र मेरो जीवनमा आइपुगिन्," उनले भने।
"आफ्नी स्वर्गीय आमा राजकुमारी डायना बाँचेको भए उनी र मार्कल घनिष्ठ साथी हुनेथिए," उनले भने।
उनकी आमाको सन् १९९७ मा प्यारिसमा एउटा मोटर दुर्घटनामा निधन भएको थियो।
आफ्नी आमाको निधन हुँदा ह्यारी १२ वर्षका थिए।
प्रस्ताव

तस्बिर स्रोत, Getty Images
मार्कलले केही साताअघि आफूहरु दुईजना मात्रै भएकाबेला राजकुमार ह्यारीले लण्डन केन्जीङटन प्यालेसस्थित उनकै घरमा हिराले बनेको औठी दिंदै बिहेको प्रस्ताव राखेको बताइन्।
"मैले तत्काल हुन्छ भनें," उनले हाँस्दै भनिन्।
टेलिचलचित्रहरुमा खेल्नुका अतिरिक्त मार्कल सामाजिक क्षेत्रमा पनि सक्रिय छिन्।
उनले सामाजिक कामहरुमा थप ऊर्जा लगाएर आफू सक्रिय हुने पनि बताइन्।
यसअघि सोमबार दिउँसो दुवैजनाले केन्जीङटन प्यालेस बाहिर फोटो खिचाएका थिए।
एक पत्रकारको प्रश्नको जवाफमा ह्यारीले भने, "पहिलो पटकको भेटमै मैले खोजेकी उनै हुन् भन्ने मैले थाहा पाएँ।"
घोषणा
सोमबार राजकुमार ह्यारी र मेगन मार्कलले आउँदो वसन्त याममा बिहे गर्ने पक्का भएको घोषणा गरिएको थियो।
उनीहरुलाई ब्रिटिश प्रधानमन्त्री टरीजा मे लगायत संसारभरिबाट शुभकामना र बधाई सन्देशहरु आइरहेका छन्।
३३ वर्षीय राजकुमार ह्यारी र ३६ वर्षीया मार्कल सन् २०१६ को जुलाई महिनादेखि प्रेम सम्बन्धमा थिए।
आशीर्वाद
एक विज्ञप्तिमा ह्यारीले विवाह पक्का भएको बारे घोषणा गर्न पाउँदा आफूलाई खुशी लागेको र विवाहको लागि मार्कलका बाबुआमाको आशीर्वाद पनि पाएको बताए।
राजकुमार ह्यारीले झण्डै दश वर्ष ब्रिटिश सेनामा काम गरेका थिए।
अफगानिस्तानमा ब्रिटिश सेनामा कार्यरत गोर्खा सैनिकहरु सँगै रहँदा आफूलाई कुनै डरको अनुभूति नहुने उनले बताएका थिए।
गत वर्ष उनले नेपालको भ्रमण गरेर भूकम्पले गर्दा क्षति पुगेको गोर्खा जिल्लाको एक स्कूलको पुनर्निर्माणका पनि सघाएका थिए।








