भारत निर्वाचन: नरेन्द्र मोदीविरुद्ध बनारसमा उठेका भूतपूर्व सैनिकको उम्मेदवारी रद्द

तेजबहादुर यादव

तस्बिर स्रोत, TEJ BAHADUR YADAV

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध चुनावी मैदानमा उत्रिएका भूतपूर्व सैनिकको उम्मेदवारी रद्द भएको छ।

उत्तर प्रदेशस्थित बनारस निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका सीमा सुरक्षा बलका (बीएसएफ) का जवान तेजबहादुर यादवको उम्मेदवारी बनारसको निर्वाचन कार्यालयले रद्द गरिदिएको हो।

उनले पाकिस्तानस्थित सीमाको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई गुणस्तरहीन खाना दिने गरिएको भन्दै सार्वजनिक सञ्जालमा भिडिओ सार्वजनिक गरेपछि त्यसले ठूलै तरङ्ग उत्पन्न गरिदिएको थियो।

त्यसको चार महिनापछि मिथ्या आरोप फैलाएको भन्दै उनी सेवाबाट हटाइएको थिए।

मोर्चाबन्दी

निर्वाचन कार्यालयले सरकारी सेवाबाट बर्खास्त गरिएका व्यक्ति पाँच वर्षसम्म चुनाव लड्न नपाउने निर्णय गरेको छ।

तेजबहादुर यादवले उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतको ढोका ढक्ढक्याउने बताए।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

Presentational white space

उनले संवाददाताहरूसँग भने, "मैले प्रमाण पेस गरिसकेको छु। तैपनि मेरो उम्मेदवारी गलत तरिकाले रद्द गरिएको छ। म सर्वोच्च अदालत जान्छु।"

पहिले स्वतन्त्र उम्मेदवारी दिएका यादव पछि समाजवादी पार्टी (सपा) र बहुजन समाज पार्टी (बसपा) को संयुक्त उम्मेदवारको रूपमा मोदीविरुद्ध उठेका थिए।

क्षेत्रीय दलहरूले भारतीय जनता पार्टीका मोदी र विपक्षी कांग्रेस विरूद्ध मोर्चाबन्दी गरेका छन्।

नियम के छ?

निर्वाचन कार्यालयले के तपाईँलाई सरकारी सेवाबाट भ्रष्टाचार वा देशद्रोहको आरोपमा कहिल्यै बर्खास्त गरिएको छ? भन्ने लिखित प्रश्नमा पहिलो पटक उम्मेदवारी दिँदा उनले 'छ' भन्ने जबाफ दिएका छन्।

तेजबहादुर यादव

तस्बिर स्रोत, TEJ BAHADUR YADAV

तस्बिरको क्याप्शन, मोदीविरूद्ध उम्मेदवारी दिएपछि बनारसमा तेजबहादुरले चुनाव प्रचार सुरु गरिसकेका थिए

तर एप्रिल २९ तारिखमा दोस्रो पल्ट उम्मेदवारी दिँदा उनले गल्तीले त्यसो लेखिएको उल्लेख गरेका छन्।

निर्वाचन अधिकृतका अनुसार सरकारी सेवाबाट बर्खास्त कर्मचारी पाँच वर्षसम्म उम्मेदवार बन्न नपाउने नियम छ।

बनारसको लोकसभा क्षेत्रमा दर्ता भएका १०१ उम्मेदवारीमध्ये ७१ जनाको खारेज गरिएको छ।

प्रधानमन्त्री मोदीले उम्मेदवारी दिँदा सपा-बसपाको तर्फबाट शालिनी यादवलाई उम्मेदवार बनाइएको थियो।

मोदीविरुद्धको चासो

तर तेजबहादुर यादवले स्वतन्त्र उम्मेदवारी दिएपछि सपाले सोमवार अचानक उनैलाई आफ्नो उम्मेदवार बनाउने निर्णय गरेको थियो।

गठबन्धनबाट उक्त क्षेत्र सपाको भागमा परेको थियो। तर सपाले त्यस्तो निर्णय गरेपछि बलियो देखिएका मोदीविरुद्ध उनको उम्मेदवारीप्रति चासो बढेको थियो।

दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले उक्त निर्णय गरेकोमा सपालाई बधाई दिएका थिए।

सन् २०१४ को निर्वाचनमा मोदीविरुद्ध उठेका केजरीवाल पराजित भएका थिए।

तेजबहादुर यादवले बनारसमा चुनावी प्रचार पनि सुरु गरिसकेका थिए जहाँ वितरण गरिएका पोस्टरमा 'देशको असली चौकीदार म हुँ' लेखिएको थियो।

भिडिओले चम्काएको नाम

खाना

तस्बिर स्रोत, TEJ BAHADUR YADAV

तस्बिरको क्याप्शन, भाइरल हुन पुगेको भिडिओमा तेजबहादुर यादवले जवानलाई दिइने खानाको गुणस्तरप्रति गुनासो गरेका थिए

दुई वर्षअघि बीएसएफका जवान तेजबादुरको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो।

त्यसमा उनले फौजमा दिइने खानाको गुणस्तरप्रति गुनासो गरेका थिए।

उनले अधिकृतहरूसँग त्यसबारे गुनासो गर्दा पनि सनुवाइ नभएको र गृह मन्त्रालयलाई चिट्ठी लेख्दा पनि सुधार नभएको बताएका थिए।

त्यस भिडिओले राजनीतिक वृत्तमा हलचल मच्चाइदिएको थियो। बीएसएफले त्यसबारे छानबिन गर्न आदेश दियो तर पछि सङ्गठनले उनैलाई बर्खास्त गर्‍यो।

निर्वाचनमा के हुँदैछ?

झन्डै ९० करोड मतदाता भएको भारतमा सात चरणमा मतदान सम्पन्न हुनेगरी एप्रिल ११ मा निर्वाचन सुरु भएको हो।

यो निर्वाचनबाट संसद्को तल्लो सदन लोकसभाका लागि प्रत्यक्ष रूपमा नयाँ सांसद चुनिनेछन्।

भारत निर्वाचन

तस्बिर स्रोत, Getty Images

लोकसभामा ५४३ स्थान छन्। बहुमत ल्याउन २७२ सांसद हुनुपर्छ।

अहिलेसम्म मतदानको चौथो चरण सकिएको छ।

मोदीको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी सन् २०१४ को निर्वाचनमा विजयी भएको थियो।

प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि निर्वाचित हुन खोजिरहेका छन्। यो निर्वाचनलाई उनका लागि जनमतसङ्ग्रहका रूपमा हेरिएको छ।

तर बलिया क्षेत्रीय पार्टीहरू र राहुल गान्धीले नेतृत्व गरेको प्रमुख प्रतिपक्षी कंग्रेस पार्टीबाट उसले चुनौती खेप्नुपरेको छ।