भारत निर्वाचन: नौ राज्यमा चौथो चरणको मतदान सम्पन्न

भारत निर्वाचन

तस्बिर स्रोत, FACEBOOK/INSTAGRAM

भारतमा संसदीय निर्वाचनको चौथो चरण अन्तर्गत सोमवार नौ राज्यका ७२ वटा संसदीय क्षेत्रमा मतदान सम्पन्न भएका छन्।

झन्डै ९० करोड मतदाता भएको भारतमा सात चरणमा मतदान सम्पन्न हुनेगरी एप्रिल ११ मा निर्वाचन सुरु भएको हो।

सोमवार महाराष्ट्रका १७, उत्तर प्रदेश र राजस्थानका १३-१३ पश्चिम बङ्गालका आठ, मध्य प्रदेश तथा ओडिशाका छ-छ, बिहारका पाँच, झारखण्डका तीन र जम्मू-कश्मीरका एक संसदीय क्षेत्रमा मतदान भएका हुन्।

भारतको आर्थिक राजधानी मानिने मुम्बईमा पनि मतदान सम्पन्न भएको हो।

यसअघि तीन चरणमा गरेर कुल ३०२ क्षेत्रमा मतदान भइसकेको छ। अन्तिम चरणको मतदान मे १९ मा भएपछि मे २३ देखि मतगणना हुनेछ।

यो चरणको मतदान सत्तारूढ भारतीय जनता पार्टीका लागि महत्त्वपूर्ण मानिएको छ।

मुम्बईमा मतदान गर्न पङ्कतिबद्ध

तस्बिर स्रोत, AFP

प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि निर्वाचित हुन खोजिरहेका छन्। यो निर्वाचनलाई उनका लागि जनमतसङ्ग्रहका रूपमा हेरिएको छ।

चौथो चरणमा भाजपाले पहिला जितेका स्थान जोगाउन सके फेरि सरकार बनाउने उसको लक्ष्य पूरा गर्न सहयोग पुग्ने बताइन्छ।

भारत निर्वाचन

तस्बिर स्रोत, Reuters

ओडिशा निर्वाचन

तस्बिर स्रोत, Subrat Kumar Pati

Presentational white space

को हुन् उम्मेदवार?

यो चरणमा कुल ९४३ उम्मेदवारहरूले प्रतिस्पर्धा गरिरहेका छन्।

मोदी नेतृत्वको सरकारका केही मन्त्रीहरू गिरिराज सिंह, सुभाष भाम्रे, एसएस अहलूवालिया र गजेन्द्र सिंह शेखावत पनि आजको निर्वाचनमा उम्मेदवार छन्।

मुम्बईका क्षेत्रमा पनि चर्चित व्यक्तित्वहरू प्रतिस्पर्धा गर्दैछन्।

भाजपाका दिवङ्गत नेता प्रमोद महाजनकी छोरी पूनम महाजन दिवङ्गत अभिनेता तथा कंग्रेस नेता सुनित दत्तकी छोरी प्रिया दत्तसँग प्रतिस्पर्धा गर्दैछिन्।

बलिउड अभेनेत्री उर्मिला मातोन्डकर भाजपाका गोपाल शेट्टीविरुद्ध उठेकी छन्।

चर्चित विद्यार्थी नेता कन्हैया कुमारले बिहारको बेगुसरायमा भाजपाका गिरिराज सिंहलाई चुनौती दिएका छन्।

कहाँ के हुँदैछ?

लखनउमा बेरोजगारहरूको एक लाइन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, बेरोजगारी एक प्रमुख चुनावी मुद्दा बनेको छ

यो निर्वाचनबाट भारतीय संसद्को तल्लो सदन लोकसभाका लागि प्रत्यक्ष रूपमा नयाँ सांसद चुन्नेछ।

लोकसभामा ५४३ स्थान छन्। बहुमत ल्याउन २७२ सांसद हुनुपर्छ।

गत एप्रिल ११ मा पहिलो चरणमा उत्तरप्रदेश, बिहार, पश्चिम बङ्गालसमेत १८ राज्य र दुई केन्द्रशासित क्षेत्रमा मतदान भएको थियो।

पहिलो चरणमा मतदान भएका स्थानमा ९१ सांसद निर्वाचित हुनेछन् भने दोस्रो चरणको मतदानबाट ९५ सांसद छानिनेछन्।

दोस्रो चरणमा असम, बिहार, छत्तीसगढ, जम्मू-कश्मीर, कर्नाटक, महाराष्ट्र, मणिपुर, ओडिशा, पुद्दुचेरी, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश तथा पश्चिम बङ्गालका निर्वाचन क्षेत्रमा मतदान भएको थियो।

तेस्रो चरणमा १४ राज्य तथा केन्द्रशासित स्थानमा गरेर कुल ११५ संसदीय क्षेत्रमा मतदान भएको थियो। तीमध्ये केरलाको वायनाडबाट कंग्रेस पार्टीका अध्यक्ष राहुल गान्धी पनि उठेका थिए।

निर्वाचनमा को बलियो?

मोदीको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी सन् २०१४ को निर्वाचनमा विजयी भएको थियो।

भाजपाले यसपालि पनि बहुमत ल्याउने उद्देश्य राखेको छ।

भारत निर्वाचन

तस्बिर स्रोत, Getty Images

तर बलिया क्षेत्रीय पार्टीहरू र राहुल गान्धीले नेतृत्व गरेको प्रमुख प्रतिपक्षी कंग्रेस पार्टीबाट उसले चुनौती खेप्नुपरेको छ।

राहुल गान्धीका बुवा राजिव गान्धी, हजुरआमा इन्दिरा गान्धी र जिजुबुवा जवाहरलाल नेहरू सबै नै भारतको प्रधानमन्त्री बनेका थिए। उनकी बहिनी प्रियङ्का गान्धी गत जेनुअरीमा राजनीतिमा प्रवेश गरेकी थिइन्।

प्रचारप्रसार निकै उग्र देखिएकोले केही पर्यवेक्षकहरूले यो मतदानलाई दशकौँको सबैभन्दा महत्त्वपूर्ण निर्वाचनका रूपमा हेरेका छन्।

आलोचना किन?

मोदी सत्तारूढ दलका लागि मत तान्ने प्रमुख व्यक्तिमा रूपमा रहेका छन्। तर आलोचकहरूले आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्ने उनको वाचा पूरा हुन नसकेको बताएका छन्।

मोदीको नेतृत्वमा धार्मिक ध्रुवीकरण भएको भन्दै उनीहरूले आलोचना गरेका छन्।

भारत निर्वाचन

यो निर्वाचनमा झन्डै ९० करोड योग्य मतदाताले देशभरिका एक लाख मतदान केन्द्रमा मतदान गर्नेछन्।

सन् २०१४ मा भएको निर्वाचनमा झन्डै ६६ प्रतिशत मतदाता सहभागी भएका थिए।

सन् २०१४ मा भएको निर्वाचनमा भाजपाले दुई सय ८२ स्थानमा जितेको थियो भने कंग्रेस पार्टी ४४ स्थानमा खुम्चिएको थियो।

कोही पनि मतदाताले मतदान केन्द्र पुग्नका लागि दुई किलोमिटरभन्दा पर पुग्नुपर्नेछैन।

भारतमा निर्वाचनको इतिहास

संयुक्त अधिराज्यबाट सन् १९४७ मा स्वतन्त्र भएको भारतमा पहिलो चोटि सन् १९५१/५२ मा निर्वाचन भएको थियो।

भारत निर्वाचन

पहिलो निर्वाचन सकिन तीन महिना लागेको थियो।

सन् १९६२ देखि १९८९ सम्म निर्वाचन सकिन चारदेखि १० दिन लागेको थियो। सन् १९८० मा चार दिनमा सकिएको निर्वाचन देशकै सबैभन्दा सानो समयावधिमा सकिएको थियो।

यसपालि सन् २०१४ को निर्वाचनपछि थपिएका आठ करोड ३० लाख मतदाता छन्।

नयाँ मतदातामा १८ देखि १९ वर्ष पुगेकाको सङ्ख्या डेढ करोड छ।