मसूद अजहर: राष्ट्रसङ्घको आतङ्कवादी सूचीमा, प्रतिबन्धहरू लाग्ने

मसूद अजहर

तस्बिर स्रोत, Getty Images

भारत र पाकिस्तानलाई हालै युद्धको सङ्घारमा पुर्‍याइदिनेगरी भारत प्रशासित कश्मीरमा आत्मघाती आक्रमण गराउने समूहका नेतालाई संयुक्त राष्ट्रसङ्घले आतङ्कवादी घोषणा गरेको छ।

मसूद अजहर जैश-‍ए-मोहम्मद समूहका प्रमुख हुन्, जुन समूहले गत फेब्रुअरीमा कश्मीरको पुलवामामा ४० जना भारतीय अर्धसैनिक बलका सदस्यको ज्यान जानेगरी ठूलो विस्फोटन गराएको थियो।

चीनले उक्त समूह बारेको आफ्नो अडान छाडेपछि संयुक्त राष्ट्रसङ्घले त्यस्तो निर्णय गरेको हो।

यसअघि चीनले उक्त प्रस्तावबारे अध्ययन गर्न थप समय चाहिने भन्दै त्यस्तो प्रस्ताव स्थगित गराउन अनुरोध गरेको थियो।

भारतले यसलाई आफ्नो कूटनीतिक जितको रूपमा हेरेको छ। यस निर्णयसँगै मसूदको सम्पत्ति रोक्का र यात्रा प्रतिबन्धहरू लाग्नेछन्।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

"ठूला, साना सबै (देश) ले साथ दिएका छन। संयुक्त राष्ट्रसङ्घको प्रतिबन्ध सूचीमा मसूद अजहर आतङ्कवादी घोषित भएका छन्। सबैको सहयोगका लागि हामी कृतज्ञ छौँ," राष्ट्रसङ्घका लागि भारतीय राजदूत सैयद अकबरुद्दिनले ट्वीट गरेका छन्।

के हो मसूदको जैश-ए-मोहम्मद?

जैश-ए-मोहम्मदको शाब्दिक अर्थ मोहम्मदको सेना हुन्छ।

सन् १९९९ मा इन्डियन एअरलाइन्सको विमान अपहरणकर्ताहरूको मागबमोजिम यात्रुहरूलाई सकुशल छाडिदिने शर्तमा भारतले रिहा गरिदिएको मसूद अजहरले नै उक्त समूहको गठन गरेका हुन्।

त्यतिखेर सो विमानलाई काठमाण्डूबाट अपहरण गरेर तालिबानशासित अफगानिस्तान पुर्‍याइएको थियो।

सो देशमा रहँदा अजहरले भूतपूर्व तालिबान नेता मुल्लाह ओमार तथा अल कायदाका नेता ओसामा बिन लादेनसँग भेटेको बताइन्छ।

दिल्लीस्थित भारतको केन्द्रीय संसद्‌मा सन् २००१ को डिसेम्बरमा आक्रमण गरेको दोष भारतले जैश-ए-मोहम्मदमाथि लगाएको छ।

उक्त घटनालगत्तै पाकिस्तानले औपचारिक रूपमा उक्त समूहमाथि प्रतिबन्ध लगायो। तर सो समूह अझै सक्रिय रहेको ठानिन्छ र बेलाबखत त्यसले अफजल गुरु गुट, अल-मुराबितुन तथा तहरिक-ए-फुर्कानजस्ता विभिन्न नाममा आफ्ना गतिविधि सञ्चालन गर्ने गर्छ।

भारत-पाकिस्तान

तस्बिर स्रोत, Getty Images

पछिल्लो समयमा भारतले सन् २०१६ को जेनुअरीमा पाकिस्तानी सीमानजिकै रहेको पठानकोटस्थित हवाई सैन्य अखाडामा भएको आक्रमणका निम्ति जैश-ए-मोहम्मदलाई जिम्मेवार ठहर्‍याएको छ। सो घटनामा तीन जना सुरक्षाकर्मी मारिएका थिए।

सन् २०१७ को डिसेम्बरमा भारतीय फौजले जैश-ए-मोहम्मदका कमान्डर नुर मोहम्मद तान्त्रेलाई मारिदिएपछि उक्त समूहलाई ठूलै धक्का लागेको ठानिएको थियो।

तर हिंसा रोकिएन। द प्रिन्ट नामक एक भारतीय सञ्चारमाध्यमका अनुसार गोप्य रूपमा प्राप्त पाकिस्तानी समर्थन नै सम्भवत: सो सङ्गठनको लगातार विस्तार भइरहनु पछाडिको कारण हो।

तर जैश-ए-मोहम्मदले पाकिस्तानी सेनालाई पनि आक्रमण गरेको छ।

पाकिस्तानले सो समूहको रक्षा गर्ने गरेको भारतले आरोप लगाइरहे पनि सन् २००३ मा सो समूहले पाकिस्तानका तत्कालीन नेता परवेज मुशर्रफमाथि घातक आक्रमणको प्रयास गरेको थियो।