किम जङ-अन: अमेरिकाले 'गलत मनसाय' राखेको उत्तर कोरियाको आरोप

तस्बिर स्रोत, Reuters
उत्तर कोरियाली नेता किम जङ-अनले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले भियतनामको हानोइमा भएको शिखरवार्ताका बेलामा 'गलत मनसाय' राखेको आरोप लगाएको कोरियाली समाचार संस्थाले जनाएको छ।
उनले कोरियाली प्राय:द्वीपको शान्ति पूर्णरूपमा वाशिङ्गटनमा भर पर्ने पनि बताएका छन्।
किमले बिहीवार रुसको सुदूरपूर्वी भ्लादिभोस्तोक नगरनजिकै रहेको रुस्की टापुमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शिखरवार्ताको बेला सो कुरा बताएका हुन्।
कोरियाली समाचार संस्थाका अनुसार पुटिनले उत्तर कोरिया भ्रमणको निमन्त्रणालाई स्वीकार गरेका छन्।
सो भ्रमण 'उपयुक्त समयमा' हुने बताइएको छ।
कोरियाली शान्ति खतरामा
किमले पुटिनलाई 'कोरियाली प्राय:द्वीप र क्षेत्रको अवस्था अहिले यथास्थितिमा रहेको तर खतराको अवस्थामा पुग्नसक्ने' बताएको समाचारहरूमा जनाइएको छ।

तस्बिर स्रोत, AFP
उनले अहिलेको अवस्था 'अमेरिकाले हालैको वार्ताहरूमा खराब मनसायको एकपक्षीय अडान लिएकोले पुरानै स्थितिमा पुग्न सक्ने' बताएका थिए।
गएको हप्ता उत्तर कोरियाले अमेरिकालाई शान्तिवार्तालाई दिशाहीन बनाएको आरोप लगाएको थियो।
फेब्रुअरीमा दुई देशबीचको वार्ता अमेरिकाले आफूविरुद्ध लगाएका आर्थिक प्रतिबन्धहरू हटाउने उत्तर कोरियाको मागमा सहमति हुन नसक्दा विनासहमति टुङ्गिएको थियो।
ट्रम्प र किम भियतनामको हानोइमा परमाणुनिरस्त्रीकरणबारे छलफल गर्न दोस्रो शिखर वार्ताका लागि भेला भएका थिए।
किमको रुस भ्रमण

तस्बिर स्रोत, AFP
पुटिनसँग पहिलो पटक भेट्न किम बुधवार रेल चढेर भ्लादिभोस्तोक पुगेका थिए।
त्यहाँ पुग्नेबित्तिकै उनले रुसी अधिकारीहरूलाई न्यानो अभिवादन गरेका थिए।
त्यहाँ किम कारमा चढ्दै गर्दा एक साङ्गीतिक टोलीले मनोरञ्जन दिएको थियो।
उनको कारसँगसँगै उनका अङ्गरक्षकहरू मन्द गतिमा कुदिरहेको देखिएको थियो।








