इमरान खानः पाकिस्तानी प्रधानमन्त्री भन्छन्, 'भारतमा नरेन्द्र मोदीले जिते कश्मीर विवाद समाधान निस्कन सक्छ'

जन सिम्सनका तस्बिर

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कश्मीर विवादबारे भारतसँग शान्ति हुन सके यो क्षेत्रकै लागि 'महत्त्वपूर्ण' उपलब्धि हुने बीबीसीलाई बताएका छन्।

आठ महिनाअघि प्रधानमन्त्री बनेका क्रिकेटका पूर्वखेलाडी खानले परमाणुशक्तिसम्पन्न दुई छिमेकी मुलुकले संवादमार्फत्‌ मात्रै आपसी मतभेदहरू सुल्झाउन सक्ने बताए।

कश्मीरमा हिंसा चर्केको केही हप्तापछि भारतमा निर्वाचनको तयारी भइरहेको बेला पाकिस्तानी प्रधानमन्त्रीको यो टिप्पणी आएको हो।

भारत-प्रशासित कश्मीरमा भारतीय सुरक्षाकर्मीहरूमाथि आत्मघाती आक्रमण भएपछि भारतले पाकिस्तानी भूमिमा हवाई आक्रमण गरेको थियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको देशलाई के सन्देश दिन चाहनुहुन्छ भन्ने प्रश्नमा बीबीसीका विश्वमामिला सम्पादक जन सिम्सनलाई खानले कश्मीर मुद्दा "सुल्झाइनुपर्ने" र "अहिलेजस्तै त्यो सधैँ रहिरहन नसक्ने" भने।

"दुवै देशका सरकारको पहिलो काम हामीले गरिबी कसरी घटाउँछौँ... त्यो भनेको हामीले संवादमार्फत् आपसी मतभेदहरू सुल्झाएर गर्ने हो र हामीबीच एउटै मतभेद छ- कश्मीर।"

भारत-पाकिस्तान

तस्बिर स्रोत, Getty Images

निर्वाचन अभियानका क्रममा भारतीय प्रधानमन्त्री मोदीले पाकिस्तानविरोधी अभिव्यक्ति दिने गरेका छन् र राष्ट्रिय सुरक्षासम्बन्धी मुद्दामाथि जोड दिएका छन्।

भारतको निर्वाचनलाई धेरैले मोदीको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टीबारे हुन लागेको 'जनमतसङ्ग्रह' का रूपमा हेरेका छन्।

बिहीवार मतदान आरम्भ हुनेछ र मे महिनासम्म चल्नेछ।

'गैरजिम्मेवार'

पाकिस्तानी प्रधानमन्त्री खानले दुई छिमेकी मुलुकबीच रहेको मुठभेडको खतराबारे पनि बोले।

"तपाईँले जबाफी कदम चालेपछि त्यसको नतिजाबारे कसैले पनि अनुमान गर्न सक्दैन।"

"यदि फेरि आएर भारतले पाकिस्तानमाथि आक्रमण गरेको भए त्यसको जबाफ दिनुबाहेक अरू विकल्प पाकिस्तानसँग हुने थिएन," उनले थपे।

"अतः त्यस्तो परिस्थितिमा दुई परमाणुशक्तिसम्पन्न थिए... मलाई लाग्यो त्यो धेरै गैरजिम्मेवार थियो।"

Presentational grey line

निर्वाचनको पूर्वसन्ध्यामा 'मित्रताको हात'

बीबीसीका विश्व मामिला सम्पादक जन सिम्सनको विश्लेषण

सत्तामा आएको आठ महिनाको अवधिमा इमरान खानले सञ्चारमाध्यमलाई एकदमै कम अन्तर्वार्ता दिएका छन्।

बीबीसी र केही ब्रिटिश तथा अमेरिकी समाचार संस्थालाई भेटघाटका लागि निम्त्याइनुको कारण उनले भारतको निर्वाचनको पूर्वसन्ध्यामा उसलाई एउटा सन्देश दिन चाहनु हो।

उनले मित्रताका लागि प्रस्ताव गरिरहेका थिए - हाम्रा साझा समस्याको हल गर्न मिलेर काम गरौँ।

वास्तवमा इमरान खान अहिलेको माहोललाई सहज बनाउन चाहन्छन्।

पाकिस्तानको अर्थतन्त्र ठिक अवस्थामा छैन। भारतसँगको तिक्ततापूर्ण सम्बन्धका कारण विदेशी लगानी रोकिएको छ।

पाकिस्तान सरकारले इस्लामवादी लडाकु समूहहरूलाई आफ्नो भूमिबाट सञ्चालित हुन दिएको आरोपलाई खानले जोडदार रूपमा अस्वीकार गरे।

उनले यसअघिका कुनै पनि पाकिस्तानी सरकारले आफ्नो सरकारले जस्तो आतङ्कवादी समूहमाथि कारबाही नगरेको कुरामा जोड दिए।

खानका लागि सबै कुरा कश्मीर समस्याको समाधानमा निर्भर गर्नेछ।

उनका अनुसार पाकिस्तान र भारतले त्यो समस्याको समाधान खोजे भने बाँकी सबै कुरा सजिलै तरिकाले सुल्झिन सक्छन्।

Presentational grey line

कश्मीरबारे तनाव हुनुको कारण के हो?

भारत र पाकिस्तान दुवै देशले मुस्लिमबहुल कश्मीरमाथि आ-आफ्नो दाबी गर्छन्। तर दुवैको निश्चित भूभागमाथि मात्रै नियन्त्रण छ।

कश्मीर

कश्मीरको विवादका कारण भारत र पाकिस्तानबीच दुई पटक युद्ध भइसकेको छ।

सन् २००३ मा दुवै पक्ष नियन्त्रणरेखामा युद्धविरामका सहमत भए, तर आन्तरिक तनाव जारी छ।

भारत-प्रशासित कश्मीरमा बस्ने धेरैले भारतीय शासनप्रति असन्तुष्टि जनाउँछन्।

र, त्यहाँका पृथक्तावादी लडाकुहरूलाई पाकिस्तानले समर्थन गरेको दिल्लीको लामो समयदेखि आरोप रहिआएको छ।

उच्च दरमा रहेको बेरोजगारी र सुरक्षाफौजबाट हुने भनिएको मानवाधिकारको उल्लङ्घन बारेका गुनासोले पनि आन्तरिक तनाव र विद्रोहलाई बढाएको छ।

यो वर्ष केले सम्बन्धमा तनाव थप्यो?

गत फेब्रुअरीमा पाकिस्तानस्थित लडाकु समूहको एउटा आत्मघाती बम आक्रमणमा पुलवामामा ४० जना भारतीय सुरक्षाकर्मी मारिएका थिए।

केही दशकयता गरिएको त्यो ठूलो आक्रमण थियो र भारतले त्यसपछाडि पाकिस्तानको हात रहेको बताएको थियो।

भारतले हवाई आक्रमण गरी त्यसको जवाफ दियो र पाकिस्तानी भूमिमा रहेको एउटा लडाकु समूहको प्रशिक्षण शिविरमा हमला गरेको बतायो।

त्यसपछि पाकिस्तानले आफ्नो नियन्त्रणमा रहेको कश्मीरमा एउटा भारतीय लडाकु विमान खसालिदियो।

भारतीय लडाकु विमानका चालकलाई जीवित पक्राउ गरिएको थियो, तर पाकिस्तानले उनलाई सुरक्षित रूपमा भारत फर्काएको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, भारत र पाकिस्तानका मिडियामा पनि द्वन्द्व

त्यसलाई पाकिस्तानी प्रधानमन्त्री खानले "शान्तिको कदम" का रूपमा अर्थ्याएका थिए।

त्यसयता दुई देशबीचको तनाव कम भएको देखिन्छ। तर केही दिनअघि पाकिस्तानी विदेशमन्त्रीले भारतले फेरि आक्रमण गर्ने योजना बनाइरहेको आरोप लगाए।

भारतले त्यसको खण्डन गर्दै "नाटक"को सङ्ज्ञा दिएको छ र यो क्षेत्रमा "युद्ध उन्मादलाई प्रोत्साहन दिन चाहेको" आरोप लगाएको छ।

इमरान खानले अरू के भने?

इमरान खानले मङ्गलवार रोएटर्स समाचारसंस्थासँग पनि कुरा गरे।

नरेन्द्र मोदी

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, भारतमा यही महिना निर्वाचन हुँदैछ

त्यो अन्तर्वार्तामा उनले मोदी पुनः निर्वाचित भए शान्ति स्थापनाका लागि राम्रो अवसर हुन सक्ने बताए।

वार्ताहरूबारे अरू पार्टीले आलोचना गर्न सक्ने सम्भावना औँल्याउँदै उनले भने, "यदि भाजपाले जित्यो भने कश्मीर मुद्दामा केही समाधान निस्किन सक्छ।"

बीबीसीसँगको अन्तर्वार्ताका क्रममा खानले इसाई महिला आसिया बीबी संलग्न ईशनिन्दासम्बन्धी मुद्दाबारे पनि कुरा गरे।

गत जेनुअरीमा पाकिस्तानको सर्वोच्च अदालतले आसिया बीबीसीलाई दोषी ठहर्‍याउने र मृत्युदण्ड दिने एउटा निर्णयलाई उल्ट्याइदिएको थियो।

खानले आसिया बीबी "छिट्टै" देशबाट बाहिर जाने बताए।

उनले भने, "सानो जटिलता छ र त्यसबारे म सञ्चारमाध्यमसँग कुरा गर्न सक्दिनँ।"

"तर म तपाईँलाई के कुरामा आश्वस्त पार्न सक्छु भने उनी सुरक्षित छिन् र आगामी हप्ताहरूभित्र उनले देश छाड्नेछिन्।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, भारत-पाकिस्तान द्वन्द्व: कस्तो छ सीमाका यी बस्तीहरूको हालत