न्यायाधीश सिफारिस: भविष्यमा को-को बन्न सक्छन् प्रधानन्यायाधीश

सर्वोच्च

तस्बिर स्रोत, Supreme Court of Nepal

    • Author, शरद केसी
    • Role, बीबीसी नेपाली सेवा

सर्वोच्च अदालतमा पाँचजना न्यायाधीश नियुक्तिको निम्ति न्यायपरिषद्‍ले सिफारिस गरेको छ।

प्रधानन्यायाधीश नेतृत्वको न्यायपरिषद् बैठकले उच्च अदालतका दुईजना मुख्य न्यायाधीश र तीनजना कानुन व्यवसायीलाई न्यायाधीशमा सिफारिस गरेको हो।

संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेमा उनीहरूको नियुक्ति हुनेछ।

तीमध्ये दुईजनाको निम्ति त अहिलेको कानुनी प्रावधान फेरबदल नभएमा र अप्रत्यासित निर्णय नलिइएमा एक दशकपछि प्रधानन्यायाधीश बन्ने बाटो पनि खुला हुनेछ।

को-को भए सिफारिस

सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका उच्च अदालतका दुईजना मुख्य न्यायाधीशहरूमा प्रकाश ढुङ्गाना र सुष्मालता माथेमा छन्।

धेरै चर्चा भने न्यायाधीशमा सिफारिस भएका अन्य तीन जनाबारे छ।

वरिष्ठ अधिवक्ता कुमार रेग्मी र पूर्व महान्यायाधिवक्ता हरिप्रसाद फुँयाललाई अहिलेको संवैधानिक व्यवस्थामा परिवर्तन नभई स्वाभाविक प्रक्रियाअनुसार नियुक्ति अघि बढेमा प्रधानन्यायाधीश बन्न सक्ने गरी न्यायाधीशमा सिफारिस गरिएको छ।

रेग्मी २०८५ सालको कार्तिकदेखि २०८८ सालको भदौ २१ गतेसम्म झण्डै तीन वर्ष र फुँयाल त्यसपछि २०९२ साल असोज १९ गतेसम्म ४ वर्षभन्दा बढी प्रधानन्यायाधीश बन्न सक्ने उनीहरूको उमेर छ।

प्रधानन्यायाधीशको पदावधि, उमेर हद वा नियुक्तिमा वरिष्ठताक्रम बारे हेरफेर नभएमा मात्र यो आँकलन मिल्न सक्छ।

प्रतिपक्ष निकटको सिफारिस

रेग्मी प्रतिपक्षी कांग्रेस र फुँयाल सत्ताधारी नेकपा निकट वकिल मानिन्छन्।

नेकपा निकट नै मानिने अर्का कानुन व्यवसायी मनोजकुमार शर्मा पनि सिफारिस गरिएका छन्।

शर्मा तत्कालीन पुनरावेदन अदालतका पूर्व अतिरिक्त न्यायाधीश हुन्।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पूर्ववर्ती सुशीला कार्की प्रधानन्यायाधीश हुँदा उच्च अदालतमा पुनर्नियुक्त नभएका शर्माको निम्ति सिधै सर्वोच्चको ढोका खोलिदिएका छन्। जसलाई धेरैले अनौठो मानेका छन्।

न्यायाधीश बन्न मापदण्ड पुगे पनि फुँयाल र शर्मा त वरिष्ठ अधिवक्ता समेत भइसकेका छैनन्।

सर्वोच्च

तस्बिर स्रोत, Supreme Court of Nepal

तस्बिरको क्याप्शन, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको न्यायपरिषद् बैठकले मंगलबार न्यायाधीशहरूो सिफारिस गरेको हो।

जानकारहरूका अनुसार मंगलवार न्यायाधीशमा सिफारिस तीनै जनाभन्दा लामो अनुभव बोकेकाहरू अझै उच्च अदालतको न्यायाधीश छन्।

प्रभाव

विगतको तुलनामा निकै कम अनुभव र उमेरका वकिललाई सर्वोच्चको न्यायाधीश बनाउने निर्णय पछिल्ला वर्षमा हुन थालेको देखिन्छ।

प्रधानन्यायाधीश जबरापछि भविष्यमा प्रधानन्यायाधीश बन्ने अवस्थामा रहेका सर्वोच्चका अहिलेका न्यायाधीशमध्ये विश्वम्भरप्रसाद श्रेष्ठ बाहेक हरिकृष्ण कार्की, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्लले सिधै सर्वोच्चमा प्रवेश पाएका हुन्।

मल्लपछि मंगलवार सिफारिस गरिएका कुमार रेग्मी र त्यसपछि हरिप्रसाद फुँयालको पालो आउने देखिन्छ।

त्यसैले केही वर्षयता प्रधानन्यायाधीश बन्ने/बनाउने पक्का गरेर मात्र न्यायाधीश छनौट गर्ने चलनलाई प्रोत्साहित गरिएको टिप्पणी हुन थालेको छ।

जबकी सर्वोच्च अदालतमा आवश्यक रहेको विषय र क्षेत्रको विज्ञ कानुन व्यवसायीलाई सिधै त्यहाँको न्यायाधीश बनाउन सकिने व्यवस्था गरिएको जानकारहरू बताउँछन्।

तर धेरैको अनुभवमा राष्ट्रिय मुद्दामा दलगत धारणाभन्दा टाढा रहेर दृष्टिकोण दिने न्याय र कानुनको क्षेत्रमा स्वतन्त्र छवि बनाएका विज्ञहरू न्यायाधीश छनौटको प्राथमिकतामा पर्न छाडेका छन्।

अडिओ क्याप्शन सुरु हुँदैछ, 'न्यायाधीश नियुक्त गर्ने संरचनामै समस्या'

टिप्पणी

मंगलवारै उच्च अदालतमा नियुक्त न्यायाधीशहरुबारे पनि राजनीतिक सम्बन्ध र नाता सम्बन्धले काम गरेको टिप्पणी भएका छन्।

ती मध्ये कतिपय न्यायाधीश र वकिलको पेसागत मर्यादामाथि नै प्रश्न उठाइएको छ।

विगतमा आफ्नो शुरु नियुक्तिदेखि आफूले गरेको न्याय सम्पादनलाई लिएर ठूलो विवाद र आलोचना झेलेका प्रधानन्यायाधीश जबराको काँधमा आफ्ना अधिकांश पूर्ववर्तिले पाएकोभन्दा निकै लामो समय न्यायपालिकाको जिम्मेवारी रहने छ।

तर आफूलाई सधैँ लखेटिरहने आफ्नै विगत बिर्साउने गरी उनी अघि बढ्ने कतिपयको आशा मंगलवारका केही निर्णयले तुहाइ दिएको टिप्पणी भएका छन्।