प्रधानन्यायाधीश बनेपछि चोलेन्द्र शमशेर जबराले न्यायाधीश जोशीलाई 'पाखा लगाए'

चोलेन्द्र शमशेर जबरा

तस्बिर स्रोत, RSS

नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्चका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई इजलास नतोक्ने बताएका छन्।

पदभार सम्हालेपछि पत्रकार सम्मेलनमा बोल्दै उनले त्यस्तो निर्णय सुनाएका हुन्।

"संसदीय सुनुवाइ समितिको सम्मान गर्दै एउटा निकास दिन म उहाँलाई अनुरोध गर्न चाहन्छु। त्यसो गर्दा न्यायालयका लागि राम्रो हुन्छ भने त्यसो गर्नुपर्छ," उनले भने, "म अबदेखि उहाँलाई इजलास तोक्दिनँ।"

जोशीलाई प्रधानन्यायाधीशका रूपमा संसदीय सुनुवाइ समितिले उनका विभिन्न विवादास्पद विषयह उठाएर अस्वीकृत गरेको थियो।

फरक दृश्य

तर त्यसपछि प्रधानन्यायाधीश बनेका ओमप्रकाश मिश्रले भने उनलाई वरिष्ठतम न्यायाधीशकै रूपमा कार्यभार तोकेका थिए।

मिश्र प्रधानन्यायाधीशका रूपमा सर्वोच्च प्रवेश गर्दा पनि जोशीले अङ्गालो मारेर उनलाई स्वागत गरेका थिए।

राष्ट्रपतिबाट शपथ लिएपछि न्यायपालिकामा प्रधानन्यायाधीशलाई स्वागत गर्ने चलन पुरानो समयदेखि रहँदै आएको छ।

र, त्यसरी गरिने स्वागतमा धेरैजसो अग्रपङ्कतिमा वरिष्ठतम न्यायाधीश नै रहन्छन्।

दीपकराज जोशी

मुलुकको २८ औँ प्रधानन्यायाधीशका रुपमा शपथ लिएर चोलेन्द्र शमशेर जबरा सर्वोच्च प्रवेश गर्दैगर्दा आज भने अलि फरक दृश्य देखियो।

चार वर्षका लागि प्रधानन्यायाधीश हुन लागेका जबरालाई स्वागत गर्न सर्वोच्चका वरिष्ठतम न्यायाधीश नभइ सर्वोच्चका मुख्य रजिष्ट्रार राजन भट्टराई अगाडि देखिएका थिए।

नियुक्तिपछि कार्यभार सम्हालेपछि पनि न्यायाधीशहरूले चेम्बरमै गरेको स्वागतमा दीपकराज जोशी देखिएनन्।

उनलाई आज सर्वोच्च अदालतमा मुद्दा पनि तोकिएको छैन।

'न्यायपालिकाको अटेर'

कतिपयले यसलाई संसदीय सुनुवाइबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएका जोशीप्रति प्रधानन्यायाधीश जबराको पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको जस्तो 'सफ्ट कर्नर' नभएको रूपमा बुझेका छन्।

संसदीय सुनुवाइका क्रममा सांसदहरूबाट पटकपटक न्यायपालिकाले अटेर गरेको भनेर प्रश्न उठेपछि नाम उल्लेख नगरे पनि जबराले जोशीलाई आफ्नो कार्यकालमा इजलास नतोक्ने सङ्केत गरेका थिए।

आइतवार भएको संसदीय सुनुवाइमा नेकपाका नेता योगेश भट्टराईले प्रश्न सोध्ने क्रममा चोलेन्द्र शमशेर जबरालाई भनेका थिए, "यदि म प्रधानन्यायाधीशमा अनुमोदन भएँ भने प्रधानन्यायाधीशका रूपमा गर्नुपर्ने समितिको सम्मानमा अलिकति पनि आँच आउन दिने छैन। म समितिसमक्ष प्रतिबद्धता जाहेर गर्छु।"

दीपकराज जोशीले यसअघि मुद्दा हेर्न नहेर्ने विषयमा सोध्दा उनले सुनुवाइ समितिले आफूलाई प्रधानन्यायाधीशका रूपमा मात्रै अस्वीकृत गरेको तर न्यायाधीशका रूमा नगरेको भनेर प्रतिक्रिया दिएका थिए।

आज प्रधानन्यायाधीश जबराले उनलाई निकास दिन भनेपछि उनको प्रतिक्रिया लिन बीबीसीले पटकपटक प्रयास गर्दा पनि जोशीसँग सम्पर्क हुनसकेन।

मिश्रले मुद्दामा खटाएअनुसार जोशीले गरेका कतिपय अन्तरिम आदेशलाई विवादित रूपमा पनि हेरियो।

प्रधानन्यायाधीशले न्यायाधीशलाई मुद्दा नतोक्ने घटना भने यो पहिलो होइन।

पूर्वप्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले तत्कालीन न्यायाधीश रणबहादुर बमलाई उनको विगतको फैसला विवादित भएको भनी सार्वजनिक भएपछि उनलाई इजलास तोकेका थिएनन्।

बमले इजलास बस्न नपाउँदै दिनदहाडै ललितपुरमा भएको एउटा घटनामा गोली लागेर घाइते भएका उनको मृत्यु भएको थियो।