बारा पर्सा हावाहुरीः पीडित भन्छन्, 'भाग्न लाग्दा ढोका खोल्नासाथ छाना खस्यो'

बीरगञ्ज

नेपालको पूर्वी तराईका बारा र पर्सा जिल्लामा आइतवार साँझ आएको हावाहुरीले पुर्‍याएको क्षतिको विवरण आउने क्रम जारी छ।

प्रदेश नं. २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले अहिलेसम्म बारामा २९ जना र पर्सामा एक जना गरी ३० जनाको ज्यान गएको बताएका छन्।

कच्ची एवम्‌ पक्की गरी धेरै घर भत्किएका र त्यसमा मानिसहरू पुरिएको हुन सक्ने भन्दै मृतकको सङ्ख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।

पीडितहरूले आफ्नो जीवनकालकै भयावह हावाहुरी देखेको बताएका छन्।

उर्मिला सिंह, फेटा, बारा

मैले भीषण हावाहुरी अन्यत्र आउने गरेको सुनेकी थिएँ, तर बाल्यकालदेखि अहिलेसम्म आफैँले यस्तो देखेकी थिइनँ।

हावाहुरीसँग असिना पर्न थालेपछि मानिसहरू घरभित्र पसे। हावाहुरीले घर नै भत्काएपछि र छानाहरू उडाएपछि कहाँ जान्थे र?

हावाहुरी

फसेकाहरूलाई निकाल्ने मानिस थिएनन्। वर्षा र पानी रोकिएपछि बल्ल मानिसहरू उद्धारमा जुट्न थाले। धेरै मात्रामा चामल लगायतका खानेकुरा नष्ट भएको छ।

ठूला मान्छेले त भोक सहन गर्न सक्लान् तर बच्चाहरूलाई गाह्रो छ। सबैतिरबाट सहयोगको खाँचो छ।

कुसुम कलु, ७०, भरवलिया, बारा

मैले पुनर्जन्म नै पाएकी हुँ। घरभित्रबाट भाग्नलाई ढोका खोल्नासाथ छाना खस्यो। सुतिसकेको भए अथवा अलिकति ढिलो भएको भए बाँच्ने थिइनँ।

आफ्नो त खेतीबारी केही छैन। चिउरा लगायत खानेकुरा बाँडिरहेका छन्, त्यही खाएर बसेका छौँ।

हावाहुरी

इन्दु देवी, फेटा, बारा

मेरो छोरा, देवर र सासुलाई चोटपटक लागेको छ। हाम्रो दुईवटा घर भत्केको छ। रुन थाल्यौँ, राति पकाइसकेको खाना पनि कसैले खान सकेनौँ।

रामसरुफ राउत, भरवलिया, बारा

कतिपयका बच्चा फेला परिरहेका छन्। आ-आफ्नो ज्यान बचाउन हम्मेहम्मे परिरहेको थियो।

हावाहुरी

अरूलाई बचाउने त परको कुरा भयो।

अचानक भुमरी परेर घरहरू भत्किन थाले। डोजर आएर बाटो खोलेको छ।

द्रौपदी देवी, भरवलिया, बारा

हाम्रो गाउँमा कच्चीपक्की कुनै पनि घर बाँकी छैन्, सबैमा क्षति पुगेको छ। हामी घरमा पाँचजना थियौँ। घरको भित्ता खसेर हामी नै फसेका थियौँ, बल्लतल्ल निस्किन सक्यौँ।