बारा पर्सा हावाहुरी: ‘धनजनको ठूलो क्षति, सयौँ घाइते’

आइतवार साँझ आएको ठूलो हावाहुरीले बारा र पर्सा जिल्लामा धनजनको क्षति भएको गृह मन्त्रायलका अधिकारीहरूले बताएका छन्।
सोमवार बिहान प्राप्त पछिल्लो विवरणअनुसार बारामा २७ जनाको र पर्सामा एक जनाको गरी कुल २८ जनाको मृत्यु भएको पुष्टि स्थानीय अधिकारीहरूले गरेका छन्।
उद्धार तथा राहतका लागि सरकारले सुरक्षाकर्मीहरू खटाएको छ।
गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुबेदीका अनुसार सशस्त्र प्रहरीका चार वटा ट्रक खाद्यसामग्री र त्रिपाल लगायतका अन्य आवश्यक सामग्री लिएर काठमाण्डूबाट आइतवार राति नै हिँडिसकेका छन्।
घाइतेहरूको सम्बन्धित जिल्लाकै स्वास्थ्य केन्द्रमा उपचार भइरहेको सुबेदीले जानकारी दिए।
"घाइते भएकाहरूलाई काठमाण्डू ल्याउनुपर्ने अवस्थामा सेनाका हेलिकप्टर तयारी अवस्थामा छन्," उनले बीबीसी नेपालीलाई बताए।
प्रधानमन्त्रीको ट्वीट
यसअघि आइतवार राति १०:३७ मा ट्वीट गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले २५ जनाको ज्यान गएको र झन्डै चार सय जना घाइते भएको जानकारी प्राप्त भएको भन्दै शोक व्यक्त गरेका थिए।
प्रदेश नं २ को सरकारका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाका अनुसार बाराका भलुही, भरवलिया र फेटा सबैभन्दा बढी प्रभावित भएका छन्।
प्रभावित स्थानमा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी तथा स्वयंसेवकहरू परिचालित भएको बीबीसी संवाददाता माधुरी महतोले वीरगन्जबाट बताएकी छन्।

ठूलो घटना
बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले भने, "गम्भीर प्रकृतिका घाइतेको सङ्ख्या धेरै पाइएकाले क्षतिको विवरण बढ्न सक्ने देखिन्छ।"
दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले घाइतेहरूको निःशुल्क उपचार गर्न अस्पतालहरूलाई निर्देशन दिएका छन्।
हावाहुरीले धेरै ठाउँमा यात्रुवाहक सवारीसाधन पल्टाउनुका साथै माटोबाट बनेका कच्ची घरहरूमा क्षति पुगेको बताइएको छ।
बिजुली र टेलिफोनका पोलहरू लडेर, टिनका छाना उडाएर र पर्खाल लडेर समेत मानिसहरू हताहत भएको बताइएको छ।

बीबीसी संवाददाता माधुरी महतो भन्छिन्, "झन्डै आधा घण्टा चलेको हुरीलगत्तै उद्धारका लागि थुप्रै दमकल र प्रहरीका गाडीको आवाज सुनिएको थियो।"
उनका अनुसार स्थानीय अस्पतालहरूले घाइतेको सङ्ख्या निकै बढेपछि भुइँमै राखेर उपचार गरिएको बताएका छन्।
रगत अभाव
प्रभावित जिल्लाहरूका रगतको अभाव देखिएको छ।
पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार अस्पतालमा बढेको चापको कारण साँझदेखि नै रक्तदानको आह्वान गरिएको छ।
अस्पतालहरूमा सुरक्षाकर्मी एवम् सर्वसाधारणहरूले आकस्मिक रक्तदान गरिरहेको विवरण प्राप्त भएको छ।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 1

भट्टराई भन्छन्, "अस्पतालहरूको क्षमताभन्दा निकै धेरै घाइतेहरू भएकाले त्यसो गर्नुपरेको हो। सम्पूर्ण घाइतेको नि:शुल्क उपचारको व्यवस्था गरिएको छ।"
'सेना परिचालित'
प्रधानमन्त्री ओलीको निजी खाताबाट लेखिएको एउटा ट्वीटमा उद्धारका लागि नाइट भिजन हेलिकप्टर तयारी अवस्थामा राखिएको उल्लेख छ।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 2

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालका अनुसार नेपाली सेनाका दुईवटा बटालियन उद्धारका लागि परिचालित भएका छन्।
सुरक्षाकर्मीहरू अनुकूल मौसमको पर्खाइमा रहेका रिजालले जनाएका छन्।
मौसम पूर्वानुमान
आइतवार बिहान मौसम पूर्वानुमान महाशाखाले नेपालका मध्य तथा पूर्वी क्षेत्रका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा गराउने बादल विकसित भएको र त्यो पूर्वतिर सरिरहेको जनाएको थियो।
राति पनि महाशाखाले त्यस्तै पूर्वानुमान गर्यो।








