पाकिस्तानमा हिन्दू किशोरीको धर्म परिवर्तन रोक्न प्रधानमन्त्री इमरान खानको पार्टीका नेता अघि सरे

तस्बिर स्रोत, Getty Images
- Author, फरान रफी
- Role, बीबीसी सम्वाददाता, इस्लामावाद
प्रधानमन्त्री इमरान खानको तहरीक-ए-इन्साफ पार्टीका सांसद डा. रमेशकुमार वांकवानीले पाकिस्तानमा बलपूर्वक गराइने धर्म परिवर्तन रोक्ने प्रयासस्वरूप दुईवटा विधेयक अघि सारेका छन्।
उनले देशको संसद् न्याश्नल असेम्बलीमा त्यससम्बन्धी दुईवटा विधेयक पेस गरेको बताएका हुन्।
बीबीसीसँगको एउटा अन्तर्वार्तामा उनले भने, "पहिलो विधेयक किशोरीहरूको बिहेको उमेर न्यूनतम १८ वर्ष कायम गर्नुपर्ने विषयमा छ भने दोस्रो बलजफ्ती धर्म परिवर्तन रोक्नुपर्ने विषयमा केन्द्रित छ।"
पाकिस्तानको विद्यमान कानुनअनुसार १६ वर्षमा किशोरीको विवाहलाई वैध मानिन्छ।
सिन्ध प्रान्तमा चाहिँ किशोरीहरूले बिहे गर्न मिल्ने न्यूनतम उमेर १८ वर्ष कायम गरिएको छ।
यसअघि बिहे गर्न पाउने किशोरीहरूको न्यूनतम उमेर बढाउने प्रयत्न नभएको होइन, तर कतिपय राजनीतिज्ञ र काउन्सिल अफ इस्लामिक आइडियोलोजीले त्यो प्रयासलाई सफल हुन दिएनन्।
अब अर्को प्रयास
हालै पाकिस्तानमा रीना र रवीना नाम गरेका दुई हिन्दू किशोरीको अपहरण गरिएको र बलजफ्ती उनीहरूको धर्म परिवर्तन भएको भन्दै समाचार सार्वजनिक भएको थियो।
त्यसपछि पाकिस्तानको काउन्सिल अफ इस्लामिक आइडियोलोजीका अध्यक्ष डा. किबला अयाजले बालविवाहलाई निरुत्साहित गरिनुपर्नेमा जोड दिएका छन्।
बलजफ्ती धर्म परिवर्तन रोक्नुपर्ने विषयमा प्रस्तुत विधेयकबारे डा. वांकवानीले भने, "दुई-तीनवटा मदरसा बलजफ्ती धर्म परिवर्तन गराउने कार्यमा संलग्न रहेको बताइन्छ। तिनीहरूले वयस्क महिलाको नभई किशोरीको धर्म परिवर्तन गराउँछन्।"

"तिनीहरूले एक वर्षमा हजारजना किशोरीको धर्म परिवर्तन गराएको कतिपयको भनाइ छ भने कतिपयका अनुसार त्यो सङ्ख्या दुई सयको हाराहारीमा छ। यो एक प्रकारको प्रवृत्तिजस्तै भएको छ।"
धर्म परिवर्तनपछि त्यस्ता किशोरीको विवाह पहिल्यैदेखि विवाहित रहेका पुरुषसँग गराउने गरेको पाइएको डा. वांकवानीको आरोप छ।
उनले थपे, "यो विधेयकले धर्म परिवर्तन गराउने कार्यमा संलग्न मदरसामाथि प्रतिबन्ध लगाउन प्रस्ताव गरेको छ।"
के स्वेच्छाले धर्म परिवर्तन भइरहेको छ?
केही दिनअघि बीबीसीसँग कुरा गर्दै मियाँ मिट्ठू नामले प्रसिद्ध पीर अब्दुल हकका छोरा मियाँ मोहम्मद असलम कादरीले धर्म परिवर्तन गरेका महिलाहरू सर्वोच्च अदालत गएर स्वेच्छाले आफूहरूले इस्लाम अङ्गीकार गरेको जानकारी गराएको बताए।
कादरीका अनुसार ती महिलाले आफूहरूको कसैले अपहरण नगरेको समेत अदालतलाई जानकारी गराए।
कादरीले 'इस्लाममा बलजफ्ती धर्म परिवर्तनको अनुमति नभएको' उल्लेख गरे।
पछिल्लो प्रकरणमा मुछिएका रीना र रवीनाले पनि स्वेच्छाले इस्लाम अङ्गीकार गरेको र आफूहरूमाथि कसैले कुनै प्रकारको दबाव नदिएको बताएका थिए।
सो प्रकरणबारे पाकिस्तानका सूचनामन्त्री चौधरी फव्वाद हुसैन र भारतकी विदेशमन्त्री सुषमा स्वराजबीच सामाजिक सञ्जालमा सवालजवाफ समेत भएको थियो।
हुन त रीना र रवीनाको उमेरबारे पनि विवाद छ।
दुई किशोरीका वकिल राव अब्दुर रहीमले बीबीसीलाई बताएअनुसार "उनीहरूले स्वेच्छाले नै इस्लाम अङ्गीकार गरेका हुन्"।
रहीमले थपे, "ती दुई किशोरीले मियाँ मिट्ठू मदरसामा नै इस्लाम अङ्गीकार गरेका हुन्। तर उनीहरूलाई असुरक्षा भएको आशङ्कापछि कानुनी संरक्षण आवश्यक पर्न गएको हो। उनीहरू आफ्नो घर जान सक्दैनथे।"
"त्यसपछि उनीहरूले ती दुई पुरुषसँग सम्पर्क गरे अनि उनीहरूसँग विवाह गरे।"

तस्बिर स्रोत, EPA
संसद्मा पेस गरेको विधेयकबारे डा. वांकवानीले भने, "विधेयकअनुसार १८ वर्षभन्दा कम उमेरका कसैले पनि धर्म परिवर्तन गर्न पाउनेछैन। यदि कसैले त्यसो गर्न चाहेमा उसले कुन कुराले आफूलाई आकर्षित गरेको हो र के शिक्षा पाइयो भन्नेबारे अदालतसमक्ष आवेदन दिनुपर्ने हुन्छ।"
त्यसबाहेक त्यस्ता व्यक्तिले अदालतसमक्ष आफ्ना इच्छाका बारेमा बयान दिनुपर्ने डा. वांकवानीले बताए।
उनी थप्छन्, "कुनै किशोर अथवा किशोरीको अपहरण गरेर मदरसामा लग्ने, धर्म परिवर्तन गराउने र त्यसपछि बिहे गराइदिने कुरा स्वेच्छाले हुँदै होइन।"
सन् २०१६ मा सिन्ध प्रान्तको सरकारले गैरमुस्लिम पाकिस्तानीहरूको बलजफ्ती धर्म परिवर्तनलाई रोक्ने प्रयासस्वरूप एउटा विधेयक अघि सारेको थियो।

यो पनि पढ्नुहोस्

यद्यपि धार्मिक दलहरूले सो विधेयकका केही बुँदालाई लिएर आपत्ति जनाए र ठूलो स्तरमा प्रदर्शन गरे।
जसका कारण प्रान्तीय गभर्नरले त्यसमा हस्ताक्षर गरेनन् र उक्त विधेयक रद्द भयो।
रीना र रवीनाको घटना
पाकिस्तानको द एक्सप्रेस ट्रिब्यून पत्रिकाले सो घटनाबारे प्रहरीलाई गरिएको उजुरीमा उल्लिखित कुरा विस्तारमा लेखेको थियो।
जसअनुसार होलीभन्दा केही दिनअघि बरकत मलिक र हुजुर अली कोहबरसँग दुई किशोरीको भनाभन भएको थियो।
उनीहरू ती किशोरीहरूको घरअगाडि उभिइरहन्थे। उनीहरूलाई त्यहाँबाट जान किशोरीहरूले भनेपछि दुवैजना आक्रोशित भए।
घटनाबारे उजुरी गरेका किशोरीका दाइ सलमान दासका अनुसार उनी आफ्नो गाउँ हाफिज सुलेमानस्थित घरमा भएको बेला हतियारसहित छ व्यक्ति उनको घरभित्र पसे।
तिनीहरूमध्ये तीन जनालाई दासले चिनिहाले। उनीहरू सफदर अली, बरकत अली र अहमद शाह थिए।
उजुरीमा भनिए अनुसार ती छ जनाले बन्दुक देखाएर रीना र रवीनालाई घरबाट तानेर बाहिर लगे।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 1

त्यसबीच अहमद शाह र उनका तीनजना साथीले दासको घरमा भएको दराजको खानतलासी गरे।
सो क्रममा उनीहरूले चार तोला सुन र ७५ हजार रुपैयाँ चोरेर लगेको उजुरीमा भनिएको छ।
पीडित परिवारले घटनाबारे छिमेकमा हल्ला गरेपछि दासका काकाका छोरा रमेश मेघवार आइपुगे।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 2

त्यहाँ पुगेपछि उनले चार जनालाई चिने। रमेशले तिनीहरूलाई पिछा गर्ने भनेपछि गोली हानी मारिदिने उनीहरूले चेतावनी दिए।
दासका अनुसार अली, बरकत अली र अहमद शाहले सेतो रङ्गको टोयोटा कोरोलामा उनका बहिनीलाई लिएर गए, बाँकी तीनजना मोटरसाइकलमा भागे।








