साफ च्याम्पियनशिप: श्रीलङ्कालाई हराउँदै नेपाली महिला फुटबल टोली फाइनलमा

श्रीलङ्कालाई शून्यका विरुद्ध चार गोलले पराजित गर्दै नेपाल दक्षिण एशियाली महिला फुटबल च्याम्पियनशिपको फाइनलमा प्रवेश गरेको छ।
विराटनगरको शहीद मैदानमा खेलाडी पुनम जर्घामगर, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडलले गोल गरेका हुन्।
विराटनगरको गर्मीमा घरेलु दर्शकका माझ सहज ठानिएको खेल जित्न भने निकै सङ्घर्ष गर्नुपर्यो।
अपेक्षित रूपमा बलियो मानिएको नेपालविरुद्ध श्रीलङ्काले बलियो रक्षा रणनीति बुनेको थियो।
विपक्षीविरुद्ध हावी
श्रीलङ्काको रणनीति भङ्ग गर्न नेपाली खेलाडीलाई ४२ मिनेट समय लागेको थियो।

तर खेल सकिने बेलामा भने नेपाल विपक्षीविरुद्ध हावी भएको देखियो।
नेपालले एकपछि अर्को गोल थपिरह्यो।
मध्यान्तर हुन तीन मिनेट बाँकी हुँदा विपक्षी पोस्टभित्र कप्तान निरू थापाले दिएको पासमा गोल लाइननजिक रहेकी पुनमले 'फाइनल टच' दिएर नेपालको अग्रताको सुरुआत गरेकी थिइन्।
सतहत्तरौँ मिनेटमा अनिताले गरेको गोल दर्शनीय थियो।

डी-बक्समा बल खोसाखोसको स्थिति चलिरहेको बेला डी-बक्सबाहिर फर्केको बललाई उनले 'सेकेन्ड बार' च्यापेर पोस्टमा प्रहार गरेकी थिइन्।
खेल सकिन सात मिनेट बाँकी रहेको बेला सावित्रा भण्डारीले टाउकोले बल प्रहार गरेर गोल गरेकी हुन्।
योसँगै उनको गोल सङ्ख्या २५ पुगेको छ।
उनले यसअघि जमुना गुरुङले बनाएको दोस्रो उच्च गोल सङ्ख्याको बराबरी गरेकी छिन्।

नेपाल र श्रीलङ्का आमुन्नेसामुन्ने भएको यो छैटौँ पटक हो।
नेपालले सबै खेलमा श्रीलङ्कालाई हराएको छ।
सन् २०१० मा ढाकामा भएको सागमा ८-० तथा २०१२ र २०१४ को साफमा नेपालले श्रीलङ्कालाई ३-० ले हराएको थियो।
त्यस्तै सन् २०१६ को चौथो भेटमा ४-० तथा सोही वर्ष भएको साफ च्याम्पियनशिपमा नेपालले १-० ले हराएको थियो।

नेपालले अब बुधवार नै हुने भारत र बाङ्ग्लादेशका विजेतासँग उपाधिका लागि खेल्नेछ।








