मानव भ्रूण तस्करी: मलेशियाली नागरिक भारतको विमानस्थलमा पक्राउ

तस्बिर स्रोत, SPL
भारतको मुम्बई विमानस्थलमा एउटा जीवित मानव भ्रूण फेला परेपछि भारतले सम्भावित तस्करी सञ्जालबारे अनुसन्धान थालेको छ।
मार्च १६ मा एक मलेशियाली नागरिकले सुटकेसमा राखेर एउटा बट्टामा लुकाएर ल्याएको मानव भ्रूण फेला परेको बताइएको छ।
पक्राउ परेका ती हवाईयात्रीले भारतमा पहिलो पटक मानव भ्रूण तस्करी गरेको बताउँदै मुम्बईस्थित एउटा महँगो टेस्टट्युब क्लिनिकका लागि ल्याइदिएको बताएका थिए।
तर उक्त क्लिनिकले उनको दाबीको खण्डन गर्दै आफूलाई फसाउने प्रयास भनेको छ। उसले सो तस्करीमा आफ्नो संलग्नता नरहेको बताएको छ।
सोमवार ती सन्दिग्ध व्यक्तिलाई मुम्बई उच्च अदालतमा पेस गर्दा डाइरेक्टरेट अफ रिभेन्यु इन्टिलिजेन्सका रेबेका गोन्सालेसले पक्राउ परेको व्यक्तिले सोही क्लिनिकका भ्रूण ल्याइदिएको दाबी गरेकी छन्।
टाइम्स अफ इन्डियाका अनुसार पक्राउ परेका मलेशियाली नागरिकको मोबाइलमा रहेका सन्देशहरू उनको दाबीलाई प्रमाणित गर्ने खालका छन्।
'षड्यन्त्र'
ती मलेशियाली नागरिकले इङ्गित गरेको क्लिनिककी सञ्चालक डा. गोराल गान्धीले सो कुरालाई गलत भनेकी छन्।
गान्धीका वकिल सुजोय काँटावालाले अदालतलाई भने, "क्लिनिकले आफ्नो व्यवसायका लागि मानव भ्रूण आयात गर्दैन।"
इन्डियन एक्सप्रेस समाचारपत्रका अनुसार क्लिनिकले आफ्ना प्रतिस्पर्धीले षडयन्त्र गरेको दाबी गरेको छ।
अदालतले गान्धीलाई शुक्रवार आफैँ उपस्थित हुन निर्देशन दिएको छ।
टेस्टट्युब विधि
भारतमा टेस्टट्युब विधि लोक प्रिय भएको छ।
यसमा पुरुषको शुक्रकीट र महिलाको डिम्बलाई प्रयोगशालामा कृत्रिम परिस्थितिमा निषेचन गराइन्छ।
त्यसबाट बनेको भ्रूणलाई महिलाको पाठेघरमा प्रत्यारोपण गरी गर्भाधान गराइन्छ।
अन्य व्यक्तिको शुक्रकीट वा डिम्बको प्रयोग गरेर पनि निर्माण गर्न सकिने मानव भ्रूणलाई वर्षौँसम्म सुरक्षित राख्न सकिन्छ।
तर भारतमा मानव भ्रूण आयात गर्नु गैरकानुनी कार्य हो।








