एचआईभी एड्स: बोनम्यारो प्रत्यारोपणपछि एचआईभी सङ्क्रमण मु्क्त हुन सफल दोस्रो बिरामी

एचआईभी भाइरस

तस्बिर स्रोत, Getty Images

एड्स महामारीले विश्वव्यापी रूप लिएयताको दोस्रो घटनामा एकजना रोगीलाई स्टेम सेल प्रत्यारोपण विधिबाट उपचार गरेर पूर्ण रूपमा एचआईभी सङ्क्रमण मुक्त गर्न सकिएको छ।

लन्डनका बिरामी मात्र भनेर चिनाइएका ती ब्रिटिश पुरुषले झन्डै तीन वर्षअघि एचआइभी सङ्क्रमणविरुद्ध लड्न सक्ने दुर्लभ वंशाणु भएका एकजना दाताको बोन म्यारोको स्टेम सेल ग्रहण गरेका थिए।

चिकित्सकहरूका अनुसार एन्टी-रेट्रोभाइरल औषधिको सेवन बन्द गरेको भए पनि १८ महिनादेखि ती बिरामीमा एचआईभी भाइरसको कुनै सङ्केत देखिएको छैन।

यो उपचार प्रक्रियामा संलग्न एकजना अग्रणी चिकित्सकका अनुसार ती बिरामी व्यावहारिक रूपमा त निको भएका जस्तो देखिएका छन्। तर उनी पूर्ण रूपमा नै निको भएको हो वा होइन भनेर भनिहाल्ने बेला भएको छैन।

ती चिकित्सकका अनुसार बोन म्यारो अर्थात् हड्डीको मासी प्रत्यारोपण गर्ने प्रक्रिया खतरनाक र निकै पीडादायी त हुन्छ नै। तर एचआईभीको उपचारमा त्यसलाई नियमित प्रक्रियाका रूपमा अवलम्बन गर्न सम्भव हुँदैन।

बल

तर यो घटनापछि कुनै दिन एचआईभीको पूर्ण उपचार गर्न सकिनेछ भन्ने कुरामा थप बल मिलेको अनुसन्धानकर्ताहरूले बताएका छन्।

लन्डनका ती पुरुष बिरामीलाई सन् २००३ मा एचआईभी सङ्क्रमण भएको थियो र सन् २०१२ मा उनमा हज्किन्स लिम्फोमा नामको क्यान्सर देखापरेको थियो।

Presentational grey line
Presentational grey line

हज्किन्स क्यान्सरको उपचारका लागि उनले किमोथेरापी गराएका थिए, सँगसँगै उनमा एचआईभी भाइरसलाई प्रतिरोध गर्ने क्षमता भएको एकजना दाताको स्टेम सेल पनि प्रत्यारोपण गरिएको थियो।

त्यसपछि उनको दुवै रोग क्यान्सर र एचआईभी निको हुने चरणमा पुगेको देखिएको छ।

निगरानी

यो प्रक्रियामा युनिभर्सिटी कलेज लन्डन, इम्पीरिएल कलेज लन्डन, क्याम्ब्रिज र अक्स्फर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरू संलग्न रहेका छन्।

कार्डिफ विश्वविद्यालयका एकजना सङ्क्रामक रोग विज्ञ डा. एन्ड्र्यू फ्रिडमन भन्छन्, "यो एउटा चाखलाग्दो र निकै उल्लेखनीय प्रतिवेदन हो।"

तर उनी भन्छन् बिरामीमा पछिल्लो चरणमा एचआईभी भाइरस फेरि सक्रिय हुन नसकोस् भनेर यकिन गर्न अझै केही लामो समय निगरानी गर्नु आवश्यक हुनसक्छ।

झन्डै १० वर्षअघि जर्मनीको बर्लिनमा एकजना एचआईभी पोजिटिभ पुरुषले रक्त क्यान्सरका उपचारका लागि बोनम्यारो प्रत्यारोपण गराएका थिए र त्यसयता उनी एचआईभी सङ्क्रमणबाट मुक्त रहँदै आएका छन्।

टिमोथी ब्राउन नामका ती व्यक्ति एचआईभी एड्सलाई जित्ने पहिलो बिरामी हुन्।