अमेरिकाका कैयौँ भागमा 'पुस्ताले एक पटक मात्रै भोग्ने' चिसो, शिकागोमा लुटपाट

भिडिओ क्याप्शन सुरु हुँदैछ, अमेरिकाका केही भाग अन्टार्टिकाभन्दा चिसो

ध्रुवीय क्षेत्रबाट आएको चिसो हावाका कारण अमेरिकाको मध्यपश्चिमी भागमा चिसो अत्यधिक बढेको छ जसका कारण तीन राज्यमा आपत्‌काल घोषणा गरिएको छ।

ध्रुवीय क्षेत्रबाट दक्षिणतिर आएको चिसोको असरका कारण अमेरिकाका केही सहरहरूको तापक्रम अत्यधिक कम भएपछि त्यहाँको जनजीवन पूरै ठप्प हुन पुगेको छ।

अत्यधिक चिसोका कारण चारैतिर हिमपात भएको छ र हिउँ जम्न थालेपछि अमेरिकाका चार राज्य र वरपरको जनजीवन अस्तव्यस्त हुन पुगेको छ।

चिसोका कारण कम्तीमा सात जनाको ज्यान गएका विवरण सार्वजनिक भएका छन्।

शिकागो नगरमा रातिको समयमा तापक्रम माइनस ४० डिग्री सेल्सियसमा झरेपछि मानिसहरूलाई घरबाहिर नजान भनिएको छ।

शिकागो इलिनोई राज्य र नजिकैका मिशिगन र विस्कन्सिन राज्यमा आपत्‌काल घोषणा गरिएको छ।

शिकागो नगरमा जमेको मिशिगन ताल

तस्बिर स्रोत, UGC

'पुस्ताले एक पटक भोग्ने' चिसो कहाँबाट आयो?

मौसमविद्हरूका अनुसार ध्रुवीय क्षेत्रबाट दक्षिणतिर आएको हिउँयुक्त वायुको प्रभावका कारण अत्यधिक चिसो भएको हो। उनीहरूले त्यो असरलाई 'पोलार भोर्टेक्स' भनेका छन्।

त्यसको प्रभावका कारण अमेरिकाका केही भागमा 'पुस्ताले एक पटक मात्रै भोग्ने' प्रकृतिको घातक चिसोको असर सुरु भएको हो।

ध्रुवीय चिसो हावाले अमेरिकी मध्यपश्चिमी र पूर्वी राज्यका थुप्रै स्थानको जनजीवन ठप्प बनाइदिएको छ।

केही स्थानमा तापक्रम माइनस ४० डिग्रीमा झरेको छ। चिसोको प्रभावका कारण दक्षिणी राज्य एलाबामा र जोर्जियामा पनि हिमपात हुने भविष्यवाणी गरिएको छ।

मिशिगन ताल

तस्बिर स्रोत, DYLAN BUELL

प्रभावित राज्यहरूमा सयौँ विद्यालय र कार्यालयहरू बन्द छन्। हवाई उडानहरू पनि रोकिएका छन्।

लुटपाट किन?

शिकागोका मेयरले महानगरवासीलाई घरबाहिर नजान आग्रह गरेका छन्।

त्यहाँका प्रहरीका अनुसार मानिसका महँगा ज्याकेटहरू बन्दुक देखाएर तर्साउँदै लुटिएका छन्।

शिकागोमा अहिले दक्षिणी ध्रुवको अन्टार्टिका महादेशका केही स्थानमा जस्तो चिसो भइरहेको छ। उत्तरी डाकोटामा तापक्रम माइनस ३७ डिग्री सेल्सियसमा झरेको छ।

पच्चीस करोड अमेरिकीहरूले चिसो सहिरहेका छन् भने नौ करोडले माइनस १७ डिग्री वा त्यो भन्दा कम तापक्रम भोग्न बाध्य हुँदैछन्। मानिसहरू घरबाहिर निस्कन सकिरहेका छैनन्।

विचार नपुर्‍याई बाहिर निस्किए चिसो भएर शरीरको तापक्रम घट्ने अवस्था हाइपोथर्मिया हुन सक्ने चेतावनी दिइएको छ।

भविष्यवाणी कस्तो छ?

शिकागो र वरपरका तालहरूमा हिउँ जमेको छ। न्यू योर्क र क्यानडाको सीमामा पर्ने प्रसिद्ध नायग्र फल्स् पनि जमेको छ।

मौसमविद्हरूका अनुसार ग्रेट लेक्स भनिने ठूला ताल रहेको क्षेत्रदेखि न्यू इङ्ग्ल्यान्ड वरपरका क्षेत्रमा चिसो मौसम अझै जारी रहन सक्छ। विस्कन्सिन र इलिनोईमा अत्यधिक हिमपात हुने अनुमान छ।

"यो सायद इतिहास नै हुन गइरहेको छ," इलिनोईस्थित राष्ट्रिय मौसम सेवाका मौसमविद् रिकी क्यास्ट्रोले भने।

मौसमविद्ले १० मिनेटसम्म कोही बाहिर चिसोमा बसे शरीरका अङ्गमा फ्रस्टबाइट अर्थात् हिउँले खाने जोखिम बढ्ने चेतावनी दिएका छन्।