एउटा सामान्य अण्डामा त्यस्तो के छ जसले मानिसहरू सामाजिक सञ्जालमा झुम्मिएका छन्

तस्बिर स्रोत, Getty Images
सामाजिक सञ्जालमा धेरैले ख्याति कमाएका छन् तर सर्वाधिक प्रसिद्ध हुने व्यक्ति वा सामग्री कस्ता छन्?
अमेरिकी टेलिभिजनकर्मी काइली जेनरले इन्स्टाग्राममा हालेको तस्बिर भर्खरै सबैभन्दा बढी मनपराइएको तस्बिरको सूचीमा पहिलोबाट दोस्रो स्थानमा झरेको छ।
सामाजिक सञ्जालमा सबैभन्दा धेरै मन पराइएका तस्बिर वा व्यक्ति वा भिडिओ वा अन्य सामग्री कुन कुन हुन् त?
इन्स्टाग्राममा सबैभन्दा धेरै मन पराइएको तस्बिर
सबैभन्दा बढी मन पराइएको इन्स्टाग्राम तस्बिर एउटा अण्डाको सामान्य तस्बिर हो। अहिले यसलाई मन पराउनेको सङ्ख्या दुई करोड ८० लाख नाघेको छ।
एउटा अण्डाको तस्बिर किन त्यति चर्चित भयो होला?
साँच्चिकै भन्नुपर्दा हामीलाई थाहा छैन तर मानिसहरूको त्यो अण्डाले मोहनी लगाएको भान हुन्छ।

तस्बिर स्रोत, @world_record_egg / Instagram
यो तस्बिर जेनुअरी ४ मा दिन @world_record_egg नामको अकाउन्टबाट प्रेषित भएको थियो।
विवरणमा लेखिएको थियो, "हामी सबै मिलेर विश्व रेकर्ड तोडौँ र यसलाई इन्स्टाग्राममा सबैभन्दा रुचाइएको तस्बिर बनाऊँ। अहिले काइली जेनरको नाममा रहेको एक करोड ८० लाखको रेकर्ड तोडौँ...।'
जेनुअरी १३ सम्ममा त्यो तस्बिरले पुरानो कीर्तिमान भङ्ग गरिसकेको थियो। तर मानिसहरूले अझ त्यसलाई मन पराउने क्रम जारी छ।
इन्स्टाग्राममा सबैभन्दा बढी मनपराइएको अकाउन्ट

तस्बिर स्रोत, @instagram / Instagram
इन्स्टाग्राममा सबैभन्दा बढी प्रयोगकर्ताले फलो गरेको अकाउन्ट कसको होला?
उत्तर सजिलो छ: इन्स्टाग्रामको!
इन्स्टाग्रामको आफ्नै अकाउन्टलाई २७ करोड ५० लाख जनाले फलो गरेका छन्।
यति सुनेपछि अब सूचीमा दोस्रो को त भन्ने पो थाहा पाउनुपर्ने हुन्छ।
दोस्रोमा चाहिँ फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो रहेका छन् र उनलाई पछ्याउनेको सङ्ख्या १५ करोड १० लाख रहेको छ।
रोनाल्डोलाई पछ्याउनेहरूको सङ्ख्या यूकेको जनसङ्ख्या भन्दा दुईगुणा र नेपालको जनसङ्ख्याभन्दा पाँचगुणा बढी हो।
गायिका सेलेना गोमेजलाई १४ करोड ४० लाखले पछ्याउँछन् भने अर्की गायिका अरियाना ग्रान्डेलाई १४ करोड २० लाखले पछ्याउँछन्।
युट्युबमा सबैभन्दा बढी हेरिएको भिडिओ

तस्बिर स्रोत, Getty Images
'डेस्पासिटो' भन्ने गीत धेरैले सुनेका छन्। त्यो गीतको भिडिओ युट्युबको सूचीमा सबैभन्दा माथि छ।
यो भिडिओ अपत्यारितो लाग्नेगरी पाँच अर्ब ८८ करोड पटक हेरिएको छ।
पृथ्वीको जनसङ्ख्या सात अर्ब ८० करोड छ। यसर्थ ८० प्रतिशत मानिसले एक पटक हेरेजति पटक यो भिडिओ हेरिएको छ। तर यो भिडिओलाई धेरै पटक थुप्रैले हेरेका कारण त्यति नै मानिसले हेरेको मान्न सकिन्न।
यो युट्युबमा सबैभन्दा बढी हेरिएको मात्रै होइन, सबैभन्दा बढी मन पराइएको भिडिओ पनि हो। यसलाई तीन करोड १५ लाख जनाले 'लाइक' गरेका छन्।
एड शीरनको 'शेप अफ यू' भन्ने गीत चाहिँ तीन अर्ब ९९ करोड चोटि हेरिएको छ।
सबैभन्दा बढी रिट्वीट

तस्बिर स्रोत, @yousuck2020 / Twitter
जापानी अर्बपति युसाकु मिजावाले सन् २०१९ मै सबैभन्दा बढी रिट्वीट गरिएको ट्वीटको रेकर्ड तोडे।
जेनुअरी ५ मा उनले आफ्नो ट्वीट रिट्वीट गर्नेमध्ये एक सय जनालाई दश करोड जापानी येन दिने घोषणा गरे।
दश करोड जापानी येन भनेको दश करोड ३८ लाख नेपाली रुपैयाँ हो।
धन देखेपछि महादेवका तीन नेत्र भन्ने त उखानै छ तर उनको एउटा ट्वीटले यत्रो महत्त्व पाउनु अनपेक्षित थियो।
मिजावाको सो ट्वीटलाई रिट्वीट गर्नेहरूको सङ्ख्या ५० लाख नाघिसकेको छ।
उनीभन्दा पहिले शीर्ष स्थानमा १८ वर्षीय कार्टर विल्किन्सन थिए।
विल्किन्सनले २०१७ मा विन्डिज नामक भोजनालयसँग एक वर्षसम्म नि:शुल्क कुखुराको परिकार खान दिन अनुरोध गरेका थिए।
विन्डिजले उनले करोड ८० लाख रिट्वीट पाउन सके उनको अनुरोध स्वीकार्ने बतायो।
उनले त्यति त पुर्याउन सकेनन् तर ३५ लाख रिट्वीट भने पाए।
सबैभन्दा बढी मन पराइएको ट्वीट

तस्बिर स्रोत, @BarackObama / Twitter
सबैभन्दा बढी मन पराइएको ट्वीट भने अमेरिकाका निवर्तमान राष्ट्रपति बाराक ओबामाले राखेको तस्बिर हो।
त्यसमा ओबामालाई केही बालबालिकाहरूले झ्यालबाट हेरिरहेका छन्।
त्यो ट्वीट ४५ लाख जनाले मन पराएका छन् र त्यसमा ७० हजार जनाले प्रतिक्रिया दिएका छन्।
सामाजिक सञ्जालका शीर्ष स्थानमा रहेका सामग्रीमध्ये तपाईँलाई सबैभन्दा रमाइलो कुन लाग्यो?









