ब्रेक्जिट भोट: संसदमा ब्रिटिश प्रधानमन्त्री टरिजा मेको हार होला कि जित?

मे

तस्बिर स्रोत, AFP

मंगलबार, यूकेको संसदमा ब्रिटेन युरोपेली संघ ईयूबाट बाहिरिने र त्यसपछि उक्त गठबन्धनसँग हुने सम्बन्धका बारे प्रधानमन्त्री टरिजा मेले प्रस्तुत गरेको योजनामाथि महत्त्वपूर्ण मतदान हुँदैछ।

ब्रेक्जिटका विषयमा ब्रिटेनका सांसदहरूले मतदान गर्नुअघि प्रधानमन्त्री टरिजा मेले ब्रेक्जिटबारे आफूले ईयूसँग गरेको सहमति समर्थन गर्न आग्रह गरेकी छन्।

त्यो सहमतिमाथि ब्रिटेनका सांसदहरूले मतदान गर्ने तयारी गर्दै गर्दा मेले आफ्नो प्रस्तावलाई समर्थन नगरे "ब्रिटेनका जनता निराश हुने" बताएकी छन्।

गत वर्षको ११ डिसेम्बरबाट पछाडि सारिएको उक्त मतदान आगामी मार्च २९ तारिखमा ब्रिटेन ईयूबाट बाहिरने मिति नज‌िकिंदै गर्दा हुन लागेको छ।

ब्रेक्जिटबारे बीबीसीका रब वाट्सनको विश्लेषण पढ्नुहोस्।

सावधान: ब्रेक्जिटको अन्त्य कसरी हुनेछ भन्ने बारेमा कसैसँग पनि पक्का जानकारी हुनसक्छ जस्तो मलाई लाग्दैन। आगामी हप्ताको अन्त्यसम्ममा पनि स्थित‌ि स्पष्ट नहुनपनि सक्छ।

तर हामीले के के थाहा पाउन सक्छौं त्यसबारे विचार गरौं: पहिलो, टरिजा मे ले संसदमा बेहोर्नुपर्ने प्रतिरोधको पूर्ण स्वरुपका बारेमा र दोस्रो, उनीसंग प्लान बी अर्थात वैकल्पिक योजना छ कि छैन भन्ने संकेत।

तर त्यो कुरा पक्का छैन किनभने यद‌ि , पहिले अनुमान गरिएजस्तै, मंगलबारको संसदीय मतदानमा उनको पराजय भयो भने प्राविधिक रुपमा उनले आगामी सोमबारसम्ममा सांसदहरूलाई आफ्नो भावी योजनाका बारेमा अवगत गराउनु पर्दछ।

उनको विकल्प भनेको आफ्नो योजनामा पुन: सहमति हासिल गर्न प्रयास गर्ने, कुनै सम्झौता विना ईयूबाट बाहिरिने, यो विषयमा दोस्रो जनमत संग्रह गराउने र ब्रेक्जिटमा अझ ढिलाई गर्ने।

सांसदहरूले के विषयमा मतदान गर्दैछन् त?

टरिजा मे को प्रस्तावित योजनाका दुई भाग छन्, ईयूबाट ब्रिटेन बाहिरिने सन्दर्भमा कानुनी रूपमा बाध्यकारी एक 'बहिर्गमन सन्धि', र ब्रेक्जिटपछि ईयूसँगको भावि सम्बन्धका बारे आशावादी देखिने गरी कानुनी रूपमा बाध्यकारी नहुने एक 'राजनीतिक घोषणापत्र'।

विपरित दिशातर्फ फैलिएको इयु र युकेको झण्डा

तस्बिर स्रोत, Getty Images

प्रधानमन्त्री मेको कन्जरभेटिभमा रहेका थुप्रै ब्रेक्जिट समर्थक सांसदहरूको धारणामा त्यस्तो सन्धीले यूकेलाई ईयूको एकदमै नजिक राख्‍नेछ। तर ब्रिटेन ईयूमा नै रहनुपर्छ भन्ने धारणा राख्‍नेहरू मध्ये धेरैजसो कन्जरभेटिभहरू र सबै विपक्षी पार्टीहरू राजनीतिक घोषणापत्रको विषय एकदमै अस्पष्ट हुने ठान्दछन्।

सम्भावित परिणाम के होला?

बीबीसीको अनुमानमा प्रधानमन्त्री मे ले गत १०० वर्षमा कुनै पनि सरकारले बेहोरोको भन्दा सबैभन्दा ठूलो पराजय भोग्न पर्ने हुनसक्छ। पराजयको आकार सकेसम्म कम होस् भन्नाका लागि प्रधानमन्त्री मे र उनका मन्त्रीहरूले अन्तिम समयसम्म पनि ठूलो दबाब सिर्जना गरिरहनेछन्।

पराजित भएमा प्रधानमन्त्री मे सँग बैकल्पिक योजना के छ?

उनका सबैभन्दा निकटस्थ सहयोगीहरूलाई समेत उनीसँग त्यस्तो कुनै बैकल्पिक योजना छ की छैन भन्ने थाहा छैन।

सार्वजनिक रूपमा र सम्भवत: निजी तवरमा पनि उनले आफ्नो प्रस्तावित योजना नै उत्तम रहेको र त्यो नै अर्थतन्त्रमा कुनै क्षति पुग्न नदिइ जनमत संग्रहको नतिजालाई कार्यान्वयन गर्ने एकमात्र उपाय रहेकोमा जोड दिने गर्दछिन्।

ब्रेक्जिटको अन्त्य कसरी होला त?

यस्को जवाफ कसैलाई पनि थाहा छैन।

सर्सर्ती भन्ने हो भने, साढे दुई वर्षभन्दा बढी समयपछि पनि जनमत संग्रहको परिणामका सम्बन्धमा के गर्ने हो भन्ने विषयमा सांसदहरूबीच सहमति हुन सकेको छैन।

यो आधारभूत कुराले नै सन् १९४५ पछि ब्रिटेनले सामना गरिरहेको जटिल राजनीतिक सकंट जारी रहनुको कारणलाई स्पष्ट पार्दछ।

तर अन्य केही कुरा भएनन् भने, एउटा सम्भावित घटना भनेको ईयूसँग कुनै सम्झौता नगरिकनै ब्रिटेन उक्त गठबन्धनबाट बाहिरिनु पर्छ भन्ने कुरा सम्झनु पर्छ।

white line