रामबहादुर बमजनको सिन्धुली आश्रमनजिकैको गाउँमा त्रास, अनुयायीहरू अन्योलमा: स्थलगत विशेष रिपोर्ट

रामबहादुर बमजन

तस्बिर स्रोत, Maitriya.info

    • Author, कमल परियार
    • Role, सिन्धुली, बीबीसी नेपाली सेवा

बिहिवार बिहानै 'लिटल बुद्ध'का नामले चिनिएका रामबहादुर बमजनको सिन्धुलीस्थित आश्रममा पुग्दा उनका अनुयायी तथा अन्य केही सहयोगीहरू प्रहरीको बाटो हेरेर बसिरहेका थिए।

उनीहरू प्रहरीले माग गरेअनुसार आश्रममा बस्दै आएका स्वदेशी र विदेशी अनुयायीको परिचय खुल्ने कागजपत्र जुटाउँदै थिए। बुधवार अपराह्न प्रहरीको टोलीले आश्रमको निरीक्षण गरेर कागपत्र देखाउन भनेको थियो।

बमजन यही आश्रममा डेढ वर्षदेखि 'गहिरो ध्यान'मा बसेको उनका अनुयायीहरू बताउँछन्। बुधवार बीबीसी नेपाली सेवालाई आश्रमभित्र जान अनुमति नभएको भनि निषेध गरिएको थियो। तर बिहीवार भने प्रवेश दिइयो।

बीबीसी नेपाली सेवासँग कुराकानी गर्दै केही स्थानीय बासिन्दाले आफूहरूलाई आश्रमनजिकै हिँडडुल गर्दा पनि ज्यान मार्ने धम्की दिइएको बताए। तर धेरैले बमजन र आश्रमबारे कुरा खुलेर कुरा गर्न गाह्रो माने।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक श्यामकृष्ण केसीको टोली आश्रम पुग्नेबित्तिकै बिभिन्न व्यक्तिहरूलाई सोधपुछ गर्न थाल्यो। न्यून सङ्ख्यामा रहेका विदेशीहरू पनि प्रहरी आउने भनेपछि सतर्क देखिन्थे।

बमजनको आश्रम सिन्धुली

दुई अनुयायी प्रहरी नियन्त्रणमा

बोधी धर्म श्रवण सङ्घका स्थानीय प्रतिनिधि तथा बमजनका अनुयायीको अनुमान‍विपरीत आश्रममा बस्ने दुई जनालाई प्रहरीले थप अनुसन्धानका लागि भन्दै जिल्ला प्रहरी कार्यालय लग्यो।

उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएपछि आश्रममा खैलाबैला मच्चियो।

प्रहरी अनुसन्धानमा सघाउन तत्पर रहेको बेला पनि प्रहरीले एकाबिहानै ध्यानमा बसेका दुई जनालाई नियन्त्रणमा लिएको भन्दै अन्य अनुयायीले प्रहरीकै नियतप्रति आशङ्का व्यक्त गरे। प्रहरीको कदमबाट रिसाएका उनीहरूले प्रहरीले ज्यादती गरेको बताए।

नाम नबताउने शर्तमा बमजनका एक अनुयायीले भने, "विभिन्न स्थानमा बेपत्ता बनाइएको भनिएका व्यक्तिलाई चिनेको वा सम्बन्ध रहेको भनेको भएर प्रहरीले उनीहरूलाई सोधपुछका लागि लगेको हुनसक्छ।"

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र सिन्धुपाल्चोकबाट समेत खटिएको टोलीलाई अनुसन्धानमा सघाउन आश्रमका दुईजनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताए।

बमजनको आश्रम सिन्धुली

कहाँ छ बमजनको आश्रम?

सिन्धुली बजारबाट झन्डै पाँच किलोमिटर पश्चिमपट्टि रहेको जङ्गल क्षेत्रको पैरेमा बमजन रहेको भनिएको आश्रममा पुग्न सर्वसाधारणलाई सहज छैन।

आश्रममा ध्यान र अध्ययन गर्नका नयाँ संरचनाहरू धमाधम बन्ने क्रममा छन्। महिला अनुयायी र पुरुष अनुयायी बस्नका लागि छुट्टाछुट्टै प्लास्टिकले बारेर टहराहरू बनाइएका छन्। एउटा संरचनादेखि अर्कोमा पुग्न १० मिनेट लाग्छ।

हालैमात्र बमजन सरेको भनिएको निर्माणाधीन भवनको केही दूरीमा उनले उपहार पाएको सेतो घोडाका लागि तबेला र खोलाछेउ माछा पाल्नका लागि पोखरी निर्माण गरिएको छ।

माछामासु नखाएपनि सोखका लागि माछा पालिएको उनीहरूको भनाइ छ।

करिब २८ बिगाहा जग्गा आश्रमको स्वामित्वमा रहेको भनिएपनि त्यसको दोब्बर जमिन बमजनले भोगचलन गर्दै आएको स्थानीय बासिन्दाको भनाइ छ।

बमजनका अनुयायीहरूले निजी जग्गाबाहेक चनदेवी र दक्षिणकाली सामुदायिक वनका जग्गा समेत नियन्त्रणमा लिई त्यहाँ स्थानीय बासिन्दालाई प्रवेश निषेध गरेको उनीहरू बताउँछन्।

बमजनको आश्रम सिन्धुली

नियन्त्रित आवागमन

बुधवार आश्रम पुग्दा मलाई भित्र पस्न अनुमति नभएको भन्दै प्रवेशद्वारबाटै फर्काइएको थियो।

दिन बित्दै जाँदा प्याजी रङ्गको लुगा लगाएका अनुयायीहरूको उपस्थिति बाक्लिँदै थियो। साधारणतया कम बोल्ने उनीहरूमध्ये कोही मसँग मुसुक्क हाँस्दै अघि बढ्थे त कोही शङ्कालु देखिन्थे।

जङ्गलमा खनिएको धुलाम्मे बाटोमा म प्रवेशद्वारतर्फ बढ्दै गर्दा एक अनुयायी बालकले मलाई टाढैबाट कता भनि सङ्केत गरे। मैले त्यहीँ आउँदै छु भनेर टाढैबाट चिच्याएपछि उनले प्रतिक्रिया दिएनन्।

र म प्रवेशद्वारसम्म पुगेँ जहाँबाट मलाई भित्र छिर्न दिइएन्।

विभिन्न जिल्लामा आश्रम भएका विवादित बमजन गएको डेढ वर्षदेखि सिन्धुली आश्रममा बस्दै आएको बताइन्छ।

बमजनको आश्रम सिन्धुली

भय र कौतूहलमा स्थानीय बासिन्दा

बमजनमाथि पाँच जना अनुयायीहरूको आश्रममा हत्या गरी बेपत्ता बनाएको र महिला अनुयायीहरूमाथि यौनजन्य हिंसा गरेको आरोप छ ।

आरोपमाथि प्रहरी अनुसन्धान भइरहँदा स्थानीयबासीमा भने भयमिश्रित कौतूहल देखिन्छ।

बमजनको आश्रम बन्ने प्रक्रिया सुरु हुँदा भौतिक पूर्वाधारको विकासका साथै पर्यटन प्रवर्धनले यस क्षेत्रको समृद्धिको अपेक्षा गरेका स्थानीय बासिन्दा निराश छन्।

सो आश्रमको झन्डै एक डेढ किलोमिटर आसपासका बस्तीहरूमा म पुग्दा स्थानीय बासिन्दाहरू बमजनसम्बन्धी हत्या, बेपत्ता र यौन हिंसाका समाचारबाट त्रसित र अन्योलको अवस्थामा देखिन्थे।

विभिन्न खाले डरका कारणले आसपासका गाउँलेहरूले आश्रममा पुग्न त परै जाओस् बमजनका बारेमा कुराकानी गर्न समेत सङ्कोच माने।

बमजनको आश्रम सिन्धुली

रोकतोक र 'ज्यान मार्ने' धम्की

दैनिकजसो आश्रमआसपास घाँसदाउरा गर्नुपर्ने केही स्थानीय बासिन्दाहरूले भने आफ्ना समस्या सुनाए।

कमलामाई नगरपालिका-५, सिलामेका २६ वर्षीय प्रेमबहादुर गुरुङ वर्षौँदेखि आफूले माछा मार्दै र खेल्दै आएको खोलामा समेत बमजनका अनुयायीहरूको डरका कारण खोलानजिक जान समेत समस्या भएको बताउँछन् ।

एक महिना अघिको घटना सुनाउँदै उनले भने, "उनीहरूले तारबार गरेको क्षेत्रमा हामी जाने कुरै आउँदैन्। आफ्नै जङ्गल क्षेत्रमा रहेको खोलामा माछा मार्न जाँदा बमजनका सहयोगीहरूले ज्यान मार्नेसम्मको धम्की दिएपछि आजकाल त्यसतर्फ जान छाडेका छौँ।"

अर्का स्थानीय भक्तनारायण श्रेष्ठ भन्छन्, "सरकारले हाम्रो यस क्षेत्रमा सहज आवगमन तथा भरपर्दो सुरक्षा व्यवस्था गरिदिनुपर्छ। अन्यथा हाम्रा चेलीबेटी पनि सुरक्षित रहन गाह्रो भएको छ।"

बमजनको आश्रम सिन्धुली

शङ्कास्पद गतिविधि

बमजनको गतिविधिबारे आफूलाई कुनै चासो नभएको बताए पनि केही मानिसहरूले आश्रमका गतिविधि शङ्कास्पद रहेको दाबी गरे।

उनीहरूले धार्मिक स्थलमा समेत स्थानीयलाई रोकतोक गरिनु आश्चर्यजनक भएको प्रतिक्रिया दिएका छन्।

सोही क्षेत्रकी कमला श्रेष्ठले भनिन्, "हामीले आफ्नै घर आसपासको जङ्गलमा घाँसदाउरा गर्न जान डराउनु पर्ने अवस्था आएको छ । यो हामीमाथि अन्याय हो । आश्रम नजिकको निजी जङ्गलमा जान समेत रोकटोत गरिन्छ । धर्मको अनुयायीहरूले जङ्गलमा जान आउन पनि किन रोक लगाउँछन्?"

"आश्रममा सहज पहुँच नहुनु र स्थानीयलाई समेत आवतजावतमा रोकतोक लगाइनुले आश्रमप्रतिको आशङ्कालाई थप बल पुर्‍याएको छ।"

आश्रमका प्रतिनिधि भने ती आशङ्का र बाहिर सार्वजनिक भएका बमजनमाथिका आरोपको खण्डन गर्छन्।

बमजन

तस्बिर स्रोत, Maitriya.info

बमजनको आश्रम सिन्धुली

के भन्छ बमजनको आश्रम?

गुरुमार्ग गुरु झ्याम्पा लोप्चेनले बीबीसी नेपाली सेवासँग भने, "जुनसुकै धर्मका प्रभावशाली गुरुहरूमाथि यस्ता आरोप प्रत्यारोप हुनु स्वाभाविक हो । गुरु (बमजन) माथि पनि जुन किसिमको गम्भीर आरोपहरू लगाइएको छ त्यो वास्तविकता भन्दा टाढा र भ्रामक छ। त्यसैले मैत्रेय धर्ममा आस्थावान् अनुयायीहरूले संयम र धैर्य अपनाउनुपर्छ। सत्य छर्लङ्ग हुँदै जानेछ।"

उनले प्रहरीको अनुसन्धानलाई सघाउन आफूहरू तयार रहेको बताए। "केही तत्त्वहरुले गुरुको मार्गमा अवरोध खडा गर्न लागेका छन् तर हामी विचलितछैनौँ।"

एक अनुयायीको सहयोगमा मैले बमजनका लागि निर्माणाधीन भवन समेत घुम्न पाएँ। आश्रममै पुगेपनि बमजनको दर्शन मौकाले मात्र पाइने रहेछ।

अर्का अनुयायीले भने, "हामी यहीँ बस्छौँ तर पनि उहाँको दर्शन पाउन भाग्य जुरेको छैन। भाग्य भए कुनै दिन साक्षात्कार होला।"

बमजनको आश्रम सिन्धुली

कार्यक्रमको तयारी

बुधवार म प्रवेशद्वारमा पुग्दा त्यहाँ दुईजना अनुयायीहरू माघ ४ गतेदेखि आयोजना हुने कार्यक्रमका लागि झन्डा बनाउन लट्ठी काट्दै थिए।

मोबाइल प्रयोग गर्न पनि अनुमति लिनुपर्ने उनीहरूको भनाइ थियो।

आश्रममा हुने कार्यक्रममा पालो अनुसार स्वयंसेवा गर्नुपर्ने नियमानुसार लमजुङ जिल्लाका अनुयायी तथा सहयोगीहरू तयारी गरिरहेका थिए।

आश्रमको सुरक्षा चेकजाँच तथा खानपान लगायतका सबैखाले व्यवस्थापनमा लमजुङ जिल्लाका अनुयायी खटाइएका छन्। उनीहरुले १२ दिनसम्मको कार्यक्रमको सम्पूर्ण जिम्मा लिएका छन्।

सो कार्यक्रममा हाल ध्यानमा बसेका १७८ जना अनुयायीलाई मैत्री ज्ञान प्राप्त भएको घोषणा गरिने छ।

बमजनको आश्रम

बमजनलाई 'सुरक्षा खतरा'

कार्यक्रममा बमजनले सम्बोधन गर्ने कार्यतालिकामा भने सुरक्षाका कारण परिवर्तन हुनसक्ने बोधी धर्म श्रवण सङ्घका प्रतिनिधि छत्र घिसिङले बताए।

उनले भने, "कसैको विश्वास गर्नसक्ने अवस्था छैन, त्यसैले उहाँलाई हामी सार्वजनिक गर्न सक्दैनौँ।"

तपस्वी बमजनमाथि लागेका आरोपमाथि प्रहरीले अनुसन्धान थालेको एक साताभन्दा बढी हुँदा पनि प्रहरीले बमजन कहाँ र कुन अवस्थामा छन् यकिन गर्न सकेको छैन।

सिन्धुलीको आश्रममा रहेको भनिएपनि प्रहरी अन्योलमा छ।